मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
२o८२ असोज ३ शुक्रबार १९:१४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बान्नीगढीजयगढ गाउँपालिकाद्वारा प्रोत्साहन भत्ता खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार १९:१४:oo

अछामको बान्नीगढीजयगढ गाउँपालिकाले सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले अबदेखि कुनै पनि कर्मचारीले प्रोत्साहन भत्ता लिन नपाउने गरी यससम्बन्धी कार्यविधि नै खारेज गरेको हो।

यसअघि गाउँपालिकाका सबै तहका कर्मचारीले प्रोत्साहन भत्तास्वरूप मासिक दुई हजार रुपैयाँ बुझ्दै आएका थिए। देशको पछिल्लो अवस्थालाई विश्लेषण गर्दै स्रोतमा परेको चापलाई मध्यनजर गरी प्रोत्साहन भत्ता खारेज गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले बताए। 

उनका अनुसार बैठकले आर्थिक वर्ष ०८२/८३ का लागि स्वीकृत कार्यक्रम तथा साना योजनाहरू कार्तिक दोस्रो हप्ताभित्र उपभोक्ता समिति गठन गरेर कार्यान्वयन प्रारम्भ गर्ने निर्णय पनि गरेको छ। 

त्यस्तै, असोज २५ गते गाउँपालिकाको सार्वजनिक सुनुवाइ गर्ने र २७ गतेदेखि अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु गर्ने निर्णय पनि स्वीकृत गरिएको अध्यक्ष साउदले जानकारी दिए। 

गाउँपालिकाले दसैँ–तिहारजस्ता ठुला चाडपर्वलाई ध्यानमा राखी पालिकाभित्रका सबै ग्रामीण सडकहरू स्तरोन्नति गर्ने भएको छ। वर्षाको वेला बिग्रेका सडकहरू सुधार गर्ने क्रममा सबैभन्दा पहिले जयगढ–नन्देगडा सडक सुधार गरिने र त्यसपछि क्रमशः वडा नम्बर ६ देखि १ सम्मका सडकहरू मर्मत गर्ने निर्णय शुक्रबारको बैठकले गरेको हो।