
नेपाली चलचित्र ‘बलिदान’को ट्रेलर सार्वजनिक गरिएको छ। दसैँको फूलपातीको दिन असोज १३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।
ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकाे दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत छिन्। त्यसपछि अभिनेता समीर भट्टको दमदार संवादसहित एक्सनका दृश्यहरू ट्रेलरमा देखाइएको छ।
ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्। मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका छन् भने समीर र सौगातबिचको द्वन्द्व दृश्य विशेष रूपमा उभिएको देखिन्छ।
ट्रेलरसम्म आइपुग्दा चलचित्र ‘बलिदान’लाई नेपालको मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै प्रतीक्षित नेपाली चलचित्रका रूपमा हेरिएको निर्माण पक्षको दाबी छ। निर्देशक सेनले यसअघि नै ‘बलिदान’ केवल चलचित्र नभई हरेक नेपाली मनको विद्रोहको प्रतीक भएको बताएका थिए।
‘आसुसेन फिल्म्स प्रालि’को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ। चलचित्रको निर्माता पवन ब्राडफोर्ड विष्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।