मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
अदिती भादुरी
Invalid date format १o:५५:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी साझेदारमाथि प्रहार गर्दा इजरायलले भोगेको परिणाम

Read Time : > 3 मिनेट
अदिती भादुरी
नयाँ पत्रिका
Invalid date format १o:५५:oo

सेप्टेम्बर ९ मा इजरायलले दोहाको एक जिल्लामा हमासको राजनीतिक ब्युरोले प्रयोग गर्ने एउटा परिसरमा आक्रमण गर्‍यो । मध्यपूर्वी मापदण्डअनुसार पनि यो एक अभूतपूर्व कदम थियो, वर्षौंदेखि इजरायलसँग अनौपचारिक सम्बन्ध रहेको नजिकको अमेरिकी सहयोगीमाथि आक्रमण । यसबाहेक यो आक्रमण त्यस्तो समयमा भएको थियो, जतिवेला हमासका वरिष्ठ व्यक्तिले अमेरिकासमर्थित युद्धविराम र बन्धक प्रस्तावबारे सोचिरहेका थिए ।

हमासका नेतालाई लक्षित उक्त आक्रमणमा कतारी सुरक्षा अधिकारीसहित छजनाको मृत्यु भयो । अन्यमा हमासका वरिष्ठ नेता खलिल अल–हया र तीन अंगरक्षक थिए । इजरायली मिडियाका अनुसार आक्रमणमा १५ लडाकु विमान प्रयोग भएका थिए । आक्रमणमा १० बम खसालिएको थियो । यद्यपि, अब यो पुष्टि भएको छ कि इजरायलले हमास नेतृत्वलाई निमिट्यान्न पार्ने आफ्नो मूल उद्देश्य पूरा गर्न असफल भयो । नेतृत्वमा अल–हयाबाहेक खालेद मसाल र जहेर जबरिन पनि थिए ।

आगामी शिखर सम्मेलन
कतारका प्रधानमन्त्री सेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले उक्त आक्रमणलाई ‘कायरतापूर्ण’ भनेका छन् र यो आफ्नो देशको सार्वभौमसत्तामाथिको आक्रमण भएको बताएका छन् । उनको सरकारले इजरायली वार्ताकारसँगको सम्पर्क स्थगित गरेको छ र आउँदो सप्ताहन्तमा अरब–इस्लामिक शिखर सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको छ । कतारले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र पनि पठाएको छ, जसमा इजरायली आक्रमणको निन्दा गरिएको छ ।

अमेरिकाले पनि आक्रमणलाई लिएर इजरायलको आलोचना गरेको छ । आखिर, कतार अमेरिकाको नजिकको सहयोगी हो । उसको अल उदेइद एयरबेसमा अमेरिकी आधार रहेको छ । राष्ट्रपति ट्रम्पले कतारमा बम विस्फोट गर्ने निर्णय ‘प्रधानमन्त्री नेतन्याहुले’ गरेको बताए । ‘एक सार्वभौम राष्ट्र र संयुक्त राज्य अमेरिकाको नजिकको सहयोगी कतारभित्र एकतर्फी बम विस्फोटले जोखिम मोलेको छ, यसले इजरायल वा अमेरिकाको लक्ष्यलाई अगाडि बढाउँदैन,’ आक्रमणपछि उनले भने । इजरायली जेटहरूले अमेरिकासँग समन्वय नगरी आक्रमण गरेको र क्षेप्यास्त्रहरू हावामा उडेपछि मात्र अमेरिकी अधिकारीले के भइरहेको छ भन्ने महसुस गरेको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले राजदूत स्टिव विटकफलाई कतारीलाई चेतावनी दिन आदेश दिए, तर उनले सम्पर्क गर्दासम्म बम विस्फोट भइसकेको थियो । यद्यपि, कतारीहरूले यो भनाइलाई अस्वीकार गर्छन् ।

सुरक्षा परिषद्को निन्दा
एउटा दुर्लभ कदममा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि दोहामा भएको हमलाको निन्दा गर्दै संयुक्त विज्ञप्ति जारी गर्‍यो, यद्यपि त्यसमा इजरायलको नाम उल्लेख गरिएको थिएन । अर्को अभूतपूर्व कदममा सबै खाडी देशले कतारको समर्थनमा एकताबद्ध भएर इजरायलको निन्दा गरे । खाडी देशले कतार र यसको सार्वभौमिकताका लागि समर्थन व्यक्त गरे । युएईका शासक सेख मोहम्मद बिन जायद अल नाह्यान (एमबिजेड) ले कतारी अमिर अल थानीलाई भेट्न दोहाको यात्रा पनि गरे । कुवेतसँगै बहराइन र साउदी अरेबियाले पनि इजरायलको हवाई आक्रमणको कडा निन्दा गरेका छन् । यी तीनैजना खाडी सेखले २०१७ मा कतारसँग सम्बन्ध तोडेका थिए । कतारले आतंकवादलाई प्रोत्साहन गरिरहेको आरोपमा उनीहरूले नाकाबन्दी लगाएका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु गाजामा भइरहेको अनिकाल र त्यहाँ व्यापक मृत्यु र विनाशका लागि पहिले नै छानबिनको दायरमा थिए । तर, उनले कतारले आतंकवादलाई प्रश्रय दिएको तर्क गर्दै उसमाथि हमला गर्ने तर्क गरे । ‘भोलि सेप्टेम्बर ११ हो । हामी सेप्टेम्बर ११ सम्झन्छौँ । त्यस दिन इस्लामी आतंककारीले संयुक्त राज्य अमेरिकाको स्थापनापछि अमेरिकी भूमिमा बर्बर हमला गरे । यता हामी अक्टोबर ७ सम्झन्छौँ । सो दिन इस्लामी आतंककारीले यहुदी जनताविरुद्ध पाशविक हमला गरे,’ नेतन्याहुले सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एक भिडियो सन्देशमा भने ।

इजरायलको मुद्दा

जेरुसेलम इन्स्टिच्युट फर स्ट्राटेजी एन्ड सेक्युरिटीका सेवानिवृत्त प्रमुख जनरल योसी कुपरवासरले मिडियालाई भने, ‘कतारले आफ्नो माटोमा आतंकवादी समूहलाई आश्रय दिएको छ । त्यसको परिणाम भोग्नुपरेको छ ।’ दोहाको रणनीतिको निन्दा गर्दै उनले भने, ‘उनीहरूलाई बारम्बार चेतावनी दिइएको थियो कि हमासलाई आश्रय दिनु गल्ती थियो । तर, हाम्रो चेतावनीलाई बेवास्ता गरे ।’ वास्तवमा कतारलाई ‘आगजनी’ र ‘आगो निभाउने’ दुवै माध्यमको रूपमा धेरैले आरोप लगाएका थिए । यसले पहिले हमासलाई समर्थन गर्‍यो, जसका कारण हमास अक्टोबर ७, २०२३ मा अतिवादी कार्य गर्र्न सक्षम भयो । अहिले भने कतार वार्ताकार र शान्ति निर्माताको एक महत्वपूर्ण माध्यम बनेको छ ।

अतिवादी इतिहास
वास्तवमा कतारले सक्रिय समर्थन जनाएको अतिवादी समूहमा हमास मात्र होइन । संयुक्त राष्ट्रसंघले तालिबानलाई आतंकवादी समूहको रूपमा प्रतिबन्ध लगाएको समयमा र अफगानिस्तानको वैध सरकारविरुद्ध विद्रोह भइरहेका वेला यसले तालिबानलाई समर्थन र वैधता दिएको थियो । अन्तत: २०२० मा पहिलो ट्रम्प प्रशासनको अधीनमा तालिबान र अमेरिकाबिचको वार्तामा मध्यस्थकर्ताको भूमिका कतारले निर्वाह गर्‍यो ।

कतारको दृष्टिकोणमा यो द्विविधा बुझ्न यो बुझ्नु महत्वपूर्ण छ कि सानो तर ग्यासले भरिपूर्ण सेखडोम (सेखको राजधानी सहर) ले अस्ट्रिया र नर्वेजस्ता देशहरूले अन्तर्राष्ट्रिय मामिलामा खेलेको भूमिकाजस्तै विश्वव्यापी शक्तिको रूपमा आफूलाई स्थापित गरेको थियो । कतारको संविधानको धारा ७ ले मध्यस्थतालाई ‘अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानलाई प्रोत्साहन गर्ने सिद्धान्तमा आधारित’ प्रमुख विदेश नीति प्राथमिकताको रूपमा तोकेको छ । सन् २०२३ मा कतारको विदेश मन्त्रालयले मध्यस्थता फाइलहरूलाई बढी कूटनीतिक महत्व दिँदै र विशेष दूतहरू र उच्चस्तरीय अधिकारीको टोलीलाई बढाउँदै नयाँ मन्त्रीस्तरीय भूमिका स्थापना गर्‍यो ।

मध्यस्थकर्ता हुनुको लागत 
कतारको विदेश मन्त्रालयले भनेको छ कि ‘कतारको मध्यस्थताको लक्ष्य द्वन्द्व व्यवस्थापन र द्वन्द्व र विवादको शान्तिपूर्ण समाधानलाई प्रवद्र्धन र प्राप्त गर्नु हो । कतारको मध्यस्थता अन्तर–राज्यस्तरका साथै राज्य र विभिन्न गैरराज्य पक्षबिच हुन्छ । कतारले ट्र्याक १ र ट्र्याक २ शान्ति स्थापना र द्वन्द्व समाधान दुवैको मध्यस्थतालाई बढावा दिन्छ । यही कारण कतार समावेशी संवाद प्रक्रियाहरूको समर्थन गर्छ ।’

यस मूल मर्ममा कतारले सिरियाली गृहयुद्धको समयमा तालिबान, हमासजस्ता समूह, विभिन्न सिरियाली विपक्षी समूहलाई आतिथ्य दिएको छ र सिरियाको वर्तमान शासक बनेका व्यक्तिको नेतृत्वमा रहेको अल नुस्रा फ्रन्टसहित विभिन्न कट्टरपन्थी समूह र व्यक्तिलाई समर्थन गरेको छ । यसको नरम शक्ति प्रतिनिधि अल जजिरालाई प्राय: सार्वभौम राज्यको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, विचारलाई भड्काउने आरोप लगाइएको छ भने कतारबारेका रिपोर्टहरू अत्यधिक सेन्सर गरिएको छ । 

अचम्मलाग्दो हमला
कतारमाथिका आक्रमण अचम्मलाग्दा छन् । अक्टोबर २०२३ को आक्रमणअघि इजरायलसँगको समन्वयमा गाजामा हमास सरकारलाई समर्थन गरेका कारण होइन । तर, आक्रमणपछि इजरायलीले कतारमाथि औँला तेस्र्याइरहेका वेला नेतन्याहु सरकारले इजरायलमा कतारलाई सकारात्मक प्रकाशमा चित्रण गर्न कतारद्वारा वित्त पोषित पिआर अभियान चलाएको आरोप लागेको थियो, जुन कतार–गेट काण्डको रूपमा परिचित भयो । हमलाको तत्काल कारण सोमबार जेरुसेलममा भएको हमास आतंकवादी आक्रमण हुन सक्छ, जसमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । नेतन्याहुले कतारलाई हमास प्रमुखलाई निष्कासन गर्न आग्रह गरेका छन् । गाजामा अझै पनि ४८ इजरायली बन्धक बनाइएका छन् । विगत दुई वर्षदेखि गाजामा भइरहेको विनाशकारी युद्धका बाबजुद सबै बन्धकलाई फिर्ता ल्याउन असफल भएकोमा इजरायलभित्र सरकारविरुद्ध ठुलो आक्रोश छ । 

एनडिटिभीबाट