
केवल तीन हप्ताको अन्तरालमा सिनावात्रा परिवारले एकपछि अर्को राजनीतिक प्रहार भोग्यो । दुई दशकसम्म थाई राजनीतिको शीर्ष स्थानमा रहेको परिवारको विरासतमै धक्का लाग्ने अवस्था आएको छ । पहिलो प्रहार अगस्टको अन्त्यमा भयो । संवैधानिक अदालतले नैतिक दुराचारका लागि पेटोङटार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटायो । त्यसको एक हप्तापछि पेटोङटार्नका पिता पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको वास्तविक नेतृत्वमा रहेको ‘फेउ थाई पार्टी’ले सरकार बनाउने प्रयास असफल भयो । त्यसपछि, सेप्टेम्बर ९ मा देशको सर्वोच्च अदालतले भ्रष्टाचार र शक्तिको दुरुपयोगको अभियोगमा थाक्सिनलाई एक वर्षको जेल सजाय सुनाएको थियो ।
यी सबै ‘फेउ थाई’ले थाइल्यान्डको रुढिवादी राजतन्त्रवादी–सैन्य प्रतिष्ठानसँग सम्झौता गरेको दुई वर्षपछि भएका विकासक्रम हुन् । सोही सम्झौताले थाक्सिनलाई १५ वर्षभन्दा लामो निर्वासनपछि थाइल्यान्ड फर्कने बाटो खोलेको थियो । सुधारवादी ‘मुभ फरवार्ड पार्टी’ले त्यस वर्ष (सन् २०२३ ) सम्पन्न आमचुनावमा सबैभन्दा धेरै सिट जितेको थियो । तर, पुरातनपन्थी प्रतिष्ठानले तिनलाई पद ग्रहण गर्नबाट रोके । पछि, रुढिवादी संस्थापनकै एक हिस्सा संवैधानिक अदालतले सो दल नै विघटन गरिदियो ।
सिनावात्रा र रुढिवादी प्रतिष्ठानबिचको सम्झौताले सन् २००६ मा सैन्य विद्रोहद्वारा सत्ताबाट हटाइएका र पछि देशबाट भागेका थाक्सिनलाई राजनीतिमा फर्किने अवसर प्रदान गर्यो । सम्झौतामै टेकेर फेउ थाईका नेता श्रेथा थाभिसिनको नेतृत्वमा राजावादी र सेना समर्थक दलको गठबन्धन सरकार बन्यो । विगत दुई दशकमा दुईवटा सैन्य र अनगिन्ती न्यायिक विद्रोह सहेको सिनावात्रा परिवारका लागि पछिल्लो प्रहारको तीव्रता र परिणाम उल्लेखनीय छ ।
के अब थाई राजनीतिमा सिनावात्रा परिवारको प्रभावको अन्त्य होला ? तर, अहिले नै त्यस्तो निष्कर्षमा पुग्नु हतार हुन सक्छ । थाई राजनीतिको शीर्ष स्थानमा सिनावात्रा परिवारको स्थान सधैँ अनिश्चित रहेको छ । सन् २००६ को सैन्य कुपछि पनि थाक्सिननजिकको दलले चुनाव जितिरह्यो । तर, हरेकपटक न्यायिक हस्तक्षेपले दलको कार्यकाल छिटै टुंग्याइदिन्थ्यो । सन् २०११ मा प्रधानमन्त्री बनेकी थाक्सिनकी बहिनी यिंगलकलाई सन् २०१४ मा अर्को सैन्य कुबाट सत्ताबाट हटाइयो । सेनाले पाँच वर्ष शासन गरेर सन् २०१९ मा गराएको चुनाव फेरि फेउ थाई नै विजयी बन्यो । तर, सेनाले फेरि पनि पार्टीका तत्कालीन नेता सुदारत केयुराफनलाई शासन गर्नबाट रोक्यो ।
रुढिवादी प्रतिष्ठानसँग सन् २०२३ मा भएको सम्झौताले सिनावात्रा परिवारको राजनीतिक भाग्य लामो समय सुधार्न सकेन । एक वर्ष नपुग्दै उनीहरूविरुद्ध कारबाही सुरु भइसकेको थियो । पहिले अगस्ट २०२४ मा संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदबाट हटायो । कुनै समय जेल परेका मन्त्रीलाई नियुक्त गरेको सामान्य आरोपमा नैतिकताको ह्रास भन्दै श्रेथालाई अपदस्थ गरिएको थियो । त्यसपछि पेटोङटार्नले पदभार ग्रहण गरिन् । र, फेरि एक वर्षभित्रै पेटोङ्टार्न पनि अपदस्थ भइन् ।
छिमेकी कम्बोडियासँग भएको सीमाविवाद समाधान गर्न पूर्वकम्बोडियाली प्रधानमन्त्री हुन सेनसँग गरेको फोनसंवाद बाहिरिनु पेटोङटार्नको पतनको कारण बन्यो । सो फोनमा उनले सीमा क्षेत्रको निरीक्षण गर्ने थाई सैन्य जनरलको आलोचना गरेको सुनिन्छ । बढ्दो राष्ट्रवाद र सेनाको बढ्दो लोकप्रियताको समयमा पेटोङटार्न देशलाई कमजोर बनाउने नेताको रूपमा चित्रित भइन् । पेटोङटार्नविरुद्ध आमआक्रोश देखिँदा कानुनी चुनौती पनि बढ्न थाले । जुलाई १ मा नैतिक दुव्र्यवहारको अनुसन्धानका लागि उनलाई प्रधानमन्त्री पदबाट निलम्बन गरियो । सँगसँगै राजतन्त्रको अपमान गरेको आरोपमा थाक्सिनविरुद्ध लागेको एक वर्षको जेल सजायमाथि पुन: सर्वोच्च अदालतमा मुद्दा सुरु गरियो । अगस्ट २०२३ मा थाइल्यान्ड फर्किएपछि जेल सजाय भोग्नबाट बच्न थाक्सिनले सो अवधि अस्पतालमा बिरामी भएर बिताएका थिए । त्यसलाई जेलमा बसेको मानिने या नमानिने भन्ने मुद्दा परेको थियो ।
शक्तिहीन
पेटोङटार्नविरुद्ध मुद्दा परेदेखि नै उनी अपदस्थ हुने व्यापक रूपमा अपेक्षा थियो । तर, त्यसपछि पनि फेउ थाई सरकारमै रहने अनुमान थियो । फेउ थाई पार्टीले चाइकासेम नितिसिरीलाई प्रधानमन्त्री उम्मेदवारका रूपमा अघि सारेको थियो । पेटोङटार्नको बर्खास्तीपछि उनी नै प्रधानमन्त्री बन्ने पर्यवेक्षक बताइरहेका थिए । तर, अन्तिम समयमा फेउ थाईसँग गठबन्धन गरेको रुढिवादी भुमजैथाई पार्टीले द्रुत गतिमा वैकल्पिक गठबन्धन बनायो । उसलाई सरकार गठन गर्न कुनै समय विघटन गरिएको मुभ फर्वार्डको उत्तराधिकारी पार्टी पिपुल्स पार्टीले सम्झौता गर्यो ।
फेउ थाईलाई लागेको यो झट्काको असर लामो हुन सक्छ । पछिल्ला घटनाक्रमले रुढिवादी संस्थापन थाक्सिन र सिनावात्राबाट टाढिएको संकेत गर्छ । थाक्सिनको सन् २०२३ को सम्झौता दुई कुरामा आधारित थियो, सिनावात्राको चुनाव जित्ने र थाइल्यान्डको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने निरन्तर क्षमता । पछिल्लो समय फेउ थाई दुवै कुरामा कमजोर भएको छ । पार्टीको घट्दो लोकप्रियतालाई ध्यानमा राख्दै देशको रुढिवादी संस्थापनले युवा जमातबाट आइरहेको थप सुधारको मागको चुनौतीविरुद्धको लडाइँमा पार्टीलाई उपयोगी र सहयोगी नदेखेको हुन सक्छ ।
सन् २०१४ को सैन्य कुपछि थाइल्यान्डका युवा पुस्ता राजनीतिक रूपमा बढी सक्रिय हुन थालेका थिए । संस्थापनविरुद्ध पटक–पटक हारेका सिनावात्राको ढाँचाबाट निराश भएर तिनले नयाँ सुधारवादी दललाई समर्थन गर्न थाले । यही शक्तिले सन् २०२० र २०२२ को बिचमा बलियो विरोध प्रदर्शन आयोजना गर्ने स्थितिमा पुगिसकेको थियो । शक्ति यति बलियो बनिसकेको थियो, यसले कुनै समयमा आलोचनाभन्दा माथि ठानिएको राजतन्त्रलाई समेत चुनौती दियो । त्यो मुभ फर्वार्ड पार्टी हुँदै अहिले पुपिल पार्टीको रूपमा गोलबन्ध भएको छ ।
अस्पतालमा बसेको एक वर्षको अवधिलाई नमान्ने र थाक्सिनलाई जेल पठाउने सर्वोच्च अदालतको निर्णयले सिनावात्राहरूलाई अर्को झट्का दिएको छ । यद्यपि, यसले उनको पूर्ण राजनीतिक विनाशको प्रतिनिधित्व गर्दैन । शाही माफीका लागि आवेदन दिएर थाक्सिनको जेलको समय घटाउन सकिने विकल्प अझै विद्यमान छ । सर्वोच्च अदालतले फैसला गर्नुभन्दा केही दिनअघि थाक्सिनले अचानक देश छाडे । सुरुमा सिंगापुरमा मेडिकल चेकअपमा गएको ठानिएकोमा पछि उनी दुबईमा देखिए । विगतमा उनी लामो समय निर्वासनमा रहँदा बसेको ठाउँ हो, दुबई । आफूविरुद्ध प्रतिकूल फैसला आउने आशंकामा उनी भागेको शंका उत्पन्न भयो । तर, धेरैलाई आश्चर्यचकित पार्दै फैसलाको समयमा उनी अदालतमा हाजिर भए । उनले फैसलालाई विनाअवज्ञा वा प्रतिशोध स्वीकार गरेका छन् । फैसलापछि उनले आफ्नो बाँकी जीवन राजतन्त्र, राष्ट्र र थाई जनताको सेवामा समर्पित गर्ने प्रतिक्रिया दिए ।
थाक्सिनको देशफिर्तीले सबै चुनौतीका बाबजुद थाई राजनीतिमा उनी र उनको परिवारका लागि अझै केही ठाउँ रहेको आकलन गरेको संकेत गर्छ । एक अनुभवी राजनीतिज्ञको रूपमा उनले भावी पुनरागमनका लागि जे पनि गर्न सक्छन् । हाल अल्पसंख्यक सरकारको नेतृत्व गरिरहेको भुमजैथाईले आफूलाई रुढिवादी संस्थापनप्रति बढी भरपर्दो साझेदार साबित गर्यो भने सिनावात्राहरू स्थायी रूपमा किनारामा पारिन सक्छन् । सिनावात्रा परिवारको साथसहित वा साथविना थाइल्यान्डको वास्तविक लोकतन्त्रको सम्भावना सीमित रहन्छ ।
एल्डरम्यान ‘लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स’अन्तर्गतको ‘स वी हक साउथइस्ट एसिया सेन्टर’की प्रबन्धक हुन् ।
–द कन्भर्सेसनबाट