Skip This
नेपाली टोली घोषणा : अन्सारी र जोराको पुनरागमन 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
Invalid date format o८:५४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाली टोली घोषणा : अन्सारी र जोराको पुनरागमन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५४:oo
  • दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिजका लागि घोषित नेपाली टोलीमा मोहमद आदिल अन्सारी र सन्दीप जोराले स्थान बनाएका छन् । अन्सारी सन् २०२२ र जोरा एक वर्षपछि टोलीमा फर्किएका हुन् ।

अलराउन्डर मोहमद आदिल अन्सारी तथा सन्दीप जोराले वेस्ट इन्डिजविरुद्धको तीन वटा टी–२० आई (युनिटी कप) सिरिजमा पुनरागमन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार ऐतिहासिक सिरिजका लागि घोषणा गरेको नेपाली टोलीमा अन्सारी र जोराले स्थान बनाएका हुन् । नेपालले युएईमा आधिकारिक रूपमा टेस्ट मान्यता राष्ट्र वेस्ट इन्डिजविरुद्ध २७, २९ र ३० सेप्टेम्बरमा प्रतिस्पर्धा गर्दै छ । अन्सारी र जोराले भारतको आसामविरुद्ध पाँचवटा टी–२० सिरिज खेलेका थिए । अन्सारीले नेपाली राष्ट्रिय टोलीबाट अन्तिमपटक नैरोबीमा केन्याविरुद्ध टी–२० आई खेलेका थिए । उनले सोही वर्षको ३१ मार्चमा पपुवा न्युगिनीविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । क्यानको आयोजनामा भएको नेपाल टी–२० लिगमा फिक्सिङ आरोपमा मुछिएपछि अन्सारी निलम्बनमा परेका थिए । अख्तियार, सिविआई र राष्ट्रिय खेलकुद परिषद्को अनुसन्धानमा अन्सारी दोषी ठहरिएका थिए । 

त्यसपछि उनी प्रतिबन्धमा परे । यसै वर्ष क्यानले निलम्बन फुकुवा गरेसँगै अन्सारीलाई राष्ट्रिय टोलीमा फर्किने बाटो खुला भएको हो । अन्सारीले सन् २०२२ को ११ जुनमा अमेरिकाविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरे । १६ जुलाई २०२२ मा नामिबियाविरुद्ध उनले अन्तिमपटक एकदिवसीय खेल खेले । उनले ६ एकदिवसीय खेलमा ७० रन तथा आठ टी–२०आईमा एक सय १० रन जोडेका छन् । यसैगरी, एकदिवसीयमा ६ तथा टी–२० आईमा उनले पाँच विकेट लिएका छन् । 

एक वर्षपछि जोरा टोलीमा 
हिटर ब्याट्सम्यानका रूपमा चिनिने जोराले एक वर्षपछि राष्ट्रिय टोलीमा स्थान पक्का गरेका हुन् । उनले भारतमा दुई साताअघि भएको नेपालको ‘ए’ टोलीबाट प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही प्रदर्शनका आधारमा उनलाई मुख्यप्रशिक्षक स्टुवाट लले वेस्ट इन्डिजविरुद्धको सिरिजमा समावेश गरेका हुन् । नेपालले भारतको आसामविरुद्ध टी–२० सिरिज खेलेको थियो । 

जोराले सन् २०१९ को ३१ जनवरीमा युएईविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । उनले अन्तिमपटक किंगटाउनमा बंगलादेशसँग प्रतिस्पर्धा गरेका थिए । गत वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको आइसिसी टी–२० विश्वकप पछि उनी राष्ट्रिय टोलीमा परेका हुन् । जोराले सन् २०१९ मा युएईविरुद्ध एकदिवसीय खेल खेलेका थिए । उनको अन्तिम एकदिवसीय खेल सन् २०२३ को २१ फेब्रुअरीमा स्कटल्यान्डविरुद्ध रह्यो । घरेलु टोलीमा नेपाल एपिएफसँग आबद्ध जोराले पाँच एकदिवसीय खेलमा ५६ रन जोडेका छन् । उनले ३१ टी–२० आईमा तीन सय ८८ रन जोडेका छन् । यसक्रममा उनी पाँचपटक नटआउट रहे । टी–२० आई करिअरमा उनले तीन अर्धशतकीय इनिङ खेलेका छन् । यस फम्र्याटमा उनले २३ चौका र १५ छक्का प्रहार गरका छन् । 

रोहितको कप्तानीमा टोली
नेपाली राष्ट्रिय टोलीको कप्तानी रोहितकुमार पौडेलले गर्नेछन् । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उपकप्तान पाएका छन् । वेस्ट इन्डिजसँगको टी–२० आई सिरिजपछि ऐरीको आइसिसी पुरुष टी–२० आई अलराउन्डर वरीयतामा सहयोग पुग्नेछ । उनी अहिले समग्रमा आइसिसीको अलराउन्ड वरीयताको तेस्रो स्थानमा छन् । टी–२० फम्र्याटमा आक्रामक रूपमा ब्याटिङ गर्ने कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख (विकेटकिपर) र आरिफ सेखले निरन्तरता पाएका छन् । 

यसैगरी, बलिङ क्रममा सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, गुल्सन कुमारझा र साहब आलम रहेका छन् । राजवंशीले गत महिना अस्ट्रेलियामा भएको टी–२० सिरिज गुमाएका थिए । अस्ट्रेलिया प्रस्थान गर्नुअघि उनको बुबाको निधन भएको थियो । 

दुईपटकको टी–२० विश्वकप विजेता
नेपालले प्रतिस्पर्धा गर्न लागेको वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप प्रतियोगिताको उपाधि दुईपटक जितेको छ । सन् २०१२ र सन् २०१६ मा वेस्ट इन्डिजले एकपक्षीय रूपमा टी–२० विश्वकप हात पारेको थियो । 

यस्तो सफलता प्राप्त गर्ने वेस्ट इन्डिज पहिलो राष्ट्र हो । यसैगरी, एकदिवसीय फम्र्याटमा वेस्ट इन्डिजले सुरुवाती दुई संस्करण जितेको थियो । तेस्रो संस्करणको एकदिवसीय विश्वकपको फाइनलमा वेस्ट इन्डिज भारतसँग लड्र्समा पराजित भएको थियो । पछिल्लो समयमा सिनियर खेलाडीले सन्न्यास लिँदा वेस्ट इन्डिजले युवा खेलाडीलाई प्राथमिकतामा राखेको छ ।