मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025
ढाकामा पहिलो दिनको अभ्यास सत्रपछि शनिबार ब्रदर्स युनियनमा आबद्ध भएका एरिक विष्ट, सनिश श्रेष्ठ, अञ्जन विष्ट र योगेश गुरुङ सामूहिक तस्बिर खिचाउँदै (बायाँबाट) ।
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २९ आइतबार १o:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लिग नभएपछि बंगलादेश आयौँ : अञ्जन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २९ आइतबार १o:५६:oo

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टले देशमा सहिद स्मारक ‘ए’ डिभिजन लिग नहुँदा बंगलादेशको प्रिमियर लिग खेल्न पुगेको बताएका छन् । ढाका पुगेका अञ्जन ब्रदर्स युनियनसँग शुक्रबार नयाँ सिजनको लिग खेल्न सम्झौता गरेका छन् । उनीसहित ब्रदर्स युनियनमा आबद्ध भएका थप तीन नेपाली खेलाडी सनिश श्रेष्ठ, एरिक विष्ट र योगेश गुरुङले अभ्यास सत्रमा समावेश भएका छन् ।

अभ्यास सत्रपछि सामाजिक सञ्जालमा अञ्जनले लेखेका छन्, ‘म नेपालको राष्ट्रिय फुटबल खेलाडी भएको नाताले, देशमा धेरै वर्षदेखि फुटबलको लिग नहुँदा बाध्यतावश छिमेकी देश बंगलादेश लिग खेल्न आउनुपरेको छ ।’ उनले बंगलादेश बाध्यतावश जानुपरेको जनाए । ‘दुई छाक टार्न र बाबा–आमाको सपना, इच्छा पूरा गर्न अरूको देशमा आइपुगेको छु । सम्पूर्ण खेलाडी अहिले बेरोजगार भएको अवस्थामा छन्,’ उनले भनेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आन्तरिक कलह र राजनीतिक कारण देशभित्रको फुटबल गतिविधि नियमित छैन । घरेलु फुटबलका कार्यक्रम राम्रोसँग चलेको छैन । प्रशासनिक झगडा उस्तै छ । पंकजविक्रम नेम्वाङ नेतृत्वमा आएको चौथो वर्ष चलिरहँदा सहिद स्मारक डिभिजन लिगको साइकल एकपटक मात्रै पूरा भएको छ । हरेक वर्ष हुनुपर्ने डिभिजन लिग गर्न यो नेतृत्वले सकेको छैन ।

यी चार खेलाडीसहित यो सिजन राष्ट्रिय टोलीका आठ खेलाडीले बंगलादेशको लिग खेल्दै छन् । कप्तान किरण चेम्जोङ र फरवार्ड आयुष घलानले बंगलादेश पुलिसबाट खेल्दै छन् । यो क्लब पछिल्लो सिजन सातौँ स्थानमा थियो । रक्षक योगेश, सनिश, मिडफिल्डर एरिक र फरवार्ड अञ्जन खेलेको टिम पछिल्लो सिजन पाँचौँ स्थानमा रहेको थियो । रक्षक अनन्त तामाङ जोडिएको फोर्टिस एफसीले गत सिजन छैटौँ स्थानमा लिग टुंग्याएको थियो । पछिल्लोपटक चौथो स्थानमा रहेको रहमतगन्जले नेपालका रक्षक अभिषेक लिम्बूलाई भित्र्याएको छ । सबै खेलाडी बंगलादेश पुगिसकेका छन् । 

लिग गराउन आग्रह
अञ्जनले एन्फालाई चाँडै लिग गराउन पनि अनुरोध गरेका छन् । नेम्वाङ नेतृत्वमा आएको तीन वर्षमा मात्र एकपटक डिभिजन लिगको साइकल पूरा भएको छ । लिग सकिएको आठ सय दिन पुग्दा पनि एन्फाले डिभिजन लिग सुरु गर्ने तरखर देखाएको छैन । ढाकाबाट अञ्जनले भने, ‘मेरो बिन्ती छ, एन्फालाई, अबचाहिँ फुटबलको लिग ब्याक गराउने वातावरण चाँडोभन्दा चाँडो गरियोस् ।’ उनले देशमा फर्किएर डिभिजन लिग खेल्न तयार भएको पनि प्रस्ट पारेका छन् ।