मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:४६:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

खुल्यो सार्वजनिक यातायात

दसैँका लागि अघोषित रूपमा अग्रिम टिकट बुकिङ पनि खुला

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४६:oo

अन्तरिम सरकार गठन भई कफ्र्यु र निषेधाज्ञा हटेसँगै लामा तथा छोटा दूरीका सार्वजनिक यातायात सेवा खुला भएको छ । यातायात सेवा सञ्चालकले शनिबारदेखि देशभरका लागि यातायात सेवा सञ्चालनमा ल्याएका हुन् । 

गत २३ र २४ भदौमा काठमाडौंसहित देशका अधिकांश ठाउँमा भएको जेन–जी नेतृत्वको आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकार ढालेर मुलुकको मूल राजनीतिलाई शून्य अवस्थामा पुर्‍याएको थियो । आन्दोलनले उग्र रूपमा लिएपछि सुरक्षामा समेत चुनौती भएपछि २४ भदौदेखि नै यातायात व्यवसायीले अनिश्चित रूपमा सेवा बन्द गरेका थिए । 

२४ भदौमा तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिएपछि मुलुक राजनीतिक रूपमा शून्य अवस्थामा पुगेको थियो । त्यसपछि सुरक्षामा थप जोखिम आउन नदिन नेपाली सेनाले देशभर निषेधाज्ञा तथा कफ्र्यु लगाएको थियो । फलस्वरूप यातायात सेवा पनि बन्द भएपछि कैयौँ यात्रु काठमाडौंलगायतका सहरमा अलपत्र परेका थिए । शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री रहने गरी अन्तरिम सरकार गठन भएसँगै शनिबारदेखि निषेधाज्ञा र कफ्र्यु पनि हटाइएको छ । त्यसपछि शनिबारदेखि नै लामा तथा छोटा दूरीका सार्वजनिक सेवा पनि सुरु गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।

‘सेवा बन्द हुँदा धेरै यात्रुहरू अलपत्र परेका थिए । कफ्र्यु र निषेधाज्ञा हटेसँगै शनिबारदेखि नै लामा तथा छोटो दूरीका सार्वजनिक यातायात सेवा सुरु गरेका छौँ,’ उनले भने, ‘योसँगै यसबिचमा अलपत्र परेका यात्रुलाई पनि सहजता प्रदान भएको छ ।’

अघोषित रूपमा दसैँको अग्रिम टिकट बुकिङ पनि खुला
विद्यार्थीलाई लक्षित गरेर व्यवसायीले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छन् । मुलुकको पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै त्रिभुवन विश्वविद्यालय, विभिन्न कलेज तथा विद्यालयले तिहारपछि मात्रै अध्ययन गर्ने निर्णय गरेका छन् । त्यसअनुसार अब विद्यार्थी दसैँ मान्न तत्काल नै घर जाने देखिएको छ । त्यो अवस्थालाई लक्षित गर्दै अघोषित रूपमा टिकट बुकिङ भइरहेको अध्यक्ष स्वाँरले बताए । 

‘विश्वविद्यालयहरूले अध्ययन स्थगन गरेका छन् । त्यसअनुसार अब विद्यार्थी काठमाडौंलगायतका सहरबाट तत्काल घर जान सक्छन् । उनीहरूलाई लक्षित गरेर व्यवसायी साथीहरूलाई टिकट बुकिङ गर्न भनेका छौँ,’ उनले भने, ‘उहाँहरूले टिकट बुकिङ गरिदिनुभएको पनि छ । सबै यात्रुका लागि कहिले टिकट बुकिङ खुला गर्ने भनेर निर्णय भएको छैन ।’ विद्यार्थी तत्काल घर लागेमा दसैँ समयमा यातायात व्यवस्थापन गर्न सहज हुने उनले बताए । 

औपचारिक रूपमा टिकट बुकिङ खुलाउन आइतबार सर्वपक्षीय बैठक
दसैँका लागि औपचारिक रूपमा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउन आइतबार सर्वपक्षीय बैठक बसिने भएको छ । नेपाल प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग, यातायात सेवा सञ्चालकलगायतका सरोकारवालाको संयुक्त बैठक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बस्ने कार्यक्रम तय भएको छ । त्यो बैठकले यसबारे ठोस निर्णय गर्नेछ ।

नेपालमा हिन्दु धर्म मान्ने नागरिक धेरै भएकाले दसैँजस्ता पर्व महत्वका साथ मनाउने गरिन्छ । यसपालि ६ असोज घटस्थापना र १६ असोजमा दसैँ छ । अध्ययन तथा रोजगारीका लागि विदेश र देशका विभिन्न ठाउँमा गएका व्यक्ति दसैँ मान्न घटस्थापना आसपासको समयदेखि घर जान थाल्छन् । त्यसले गर्दा अघिपछि भन्दा यो समयमा यात्रुको चाप धेरै हुन्छ । त्यसलाई सही ढंगले व्यवस्थापन गर्न अग्रिम रूपमा टिकट बुकिङ खुला गर्ने अभ्यास छ । 

टिकट बुकिङका लागि यसअघि नै निर्णय गरिसक्नुपर्ने थियो । गत २४ भदौमै यसबारे निर्णय गर्ने भनिएको थियो । तर, आन्दोलनका कारण त्यो दिन बैठक हुन पाएन । अहिले अवस्था सामान्य बनेपछि यसबारे निर्णय गर्न लागिएको हो । 

अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने 
अनलाइनमार्फत पनि टिकट बुकिङ गर्न सकिने व्यवसायीले बताएका छन् । अहिले बस सेवाजस्ता अनलाइन टिकट बुकिङ सेवाप्रदायक सञ्चालन छन् । त्यसमार्फत अनलाइन टिकट बुकिङको सुविधा दिने अध्यक्ष स्वाँरले बताए । 

‘यो कम्पनीकै क्षेत्राधिकारको विषय हो । अधिकांश कम्पनी बससेवालगायतका अनलाइन प्लाटफर्ममा आबद्ध भइसकेका छन् । त्यो अवस्थामा दसैँका लागि अनलाइनबाट पनि अग्रिम टिकट बुकिङ गर्न सकिनेछ,’ उनले बताए ।