मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
शुरोजंग पाण्डे काठमाडाैं
Invalid date format o७:५३:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जेन–जी आन्दोलनपछि प्रमुख दलहरूमा बढ्दै पुस्तान्तरण बहस 

कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष नेपालको अवकाशको माग

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:५३:oo

सत्ता ढाल्ने गरी भएको जेन–जी आन्दोलनपछि प्रमुख दलहरूमा पुस्तान्तरणको बहस अघि बढेको छ । कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीका दोस्रो र तेस्रो तहका नेताहरूले नेतृत्व हस्तान्तरणको माग गर्न थालेका छन् । तर, शीर्ष नेताहरू भने अझै मौन छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा अस्पतालमा उपचाररत छन् । एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अझै सेनाको सुरक्षामा छन् । ठूला दलका शीर्ष नेतृत्वप्रति जेन–जी पुस्ताले आक्रोश पोखे पनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणबारे मौन रहेपछि दोस्रो र तेस्रो तहका नेताहरू खुलेर बोल्न थालेका हुन् ।

जेन–जी पुस्ताको माग सम्बोधनको सट्टा नृशंस दमनको बाटो अख्तियार गरेको र देश चलाउन सत्तापक्ष कांग्रेस–एमाले शीर्ष नेतृत्व असफल भएको भन्दै ती पार्टीहरूमा पुनर्गठनको आवाज मुखरित बन्न थालेको हो । संसद् विघटनप्रति असहमति जनाउँदै प्रमुख पार्टीभित्र दोस्रो तह र तलतलका नेता–कार्यकर्ताले पुनर्गठनको मुद्दालाई मुखर बनाउँदै गएका छन् । दोस्रो तहका नेताहरूले मिलेर वक्तव्य जारी गर्दै असफल पूर्वप्रधानमन्त्रीहरू सबैले नेतृत्व हस्तान्तरण गरेर राजनीतिबाट अवकाश लिन माग गरेका थिए । कांग्रेस र एमालेले पछिल्लो घटनाक्रमको गम्भीर समीक्षा गरेर अगाडि बढ्ने बताएर पुनर्गठनमार्फत अगाडि बढ्ने संकेत गरेका छन् । 

कांग्रेस नेता शेखर कोइरालाले देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको भन्दै कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । त्यस्तै, माग महामन्त्री गगन थापाले बिहीबारै सार्वजनिक गरेका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि शनिबार भिडियो वक्तव्यमार्फत नेतृत्व फेर्नुपर्ने सन्देश सम्प्रेषण गरेका छन् ।

‘जसरी देशमा नयाँ सम्भावना प्रकट भइरहेका छन् । नयाँ घटना अगाडि आएका छन् । यी सबैको संवाहक भएर नेपाली कांग्रेस अगाडि आउनुपरेको छ । कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाईं–हामी सबैको हो । यसका लागि देशव्यापी बहस, छलफल र विवेकपूर्ण कदम कसरी अगाडि बढाउने भनी म तपाईंहरूबिच दसैँलगत्तै देशव्यापी रूपमा आउनेछु,’ कोइरालाले भनेका छन् । 

जेन–जी आन्दोलनले पार्टी सत्ताबाट बाहिरिनुपरेको घटनाको समीक्षामा उनले जोड दिएका छन् । ‘समयको पदचापअनुरूप हामी हिँड्न नजान्दा जेन–जीको आन्दोलनले दुई ठुला राष्ट्रिय दललाई सत्ताबाट बाहिरिन बाध्य पार्‍यो । नेपाली समाज र यहाँका ऊर्जावान् युवाहरू एकातिर छन्, कांग्रेसको सोच र दृष्टिकोण अर्कोतिर बग्यो, केही रणनीतिक भुल भए, हामी चुक्यौँ,’ कोइरालाले भनेका छन्, ‘समाज र युवाको भावनालाई राष्ट्रिय भावधारामा समाहित गर्दै एउटा शक्तिशाली राष्ट्रनिर्माणमा हामी समर्पित हुनेछौँ भन्ने प्रण गर्छौँ ।’

महामन्त्री शर्माले सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् । ‘मैले पार्टीमा पनि कुरा राखेको हुँ, तर निर्णय गराउन सकिनँ, चुनाव हुन्छ । नयाँ सरकार बन्छ प्रधानमन्त्री उनीहरू नै । उहाँले अहिले छोड्नुहुन्छ भनेर पर्खिनुपर्ने, छाडिदिनुस् भनेर अनुरोध गर्नुपर्ने, त्यसैले अब यसलाई सिस्टममा ल्याऔँ । विधिमा ल्याऔँ । ताकि भोलि गगन–विश्वको पुस्ताले नेतृत्व गर्दैगर्दा पछि कसैले छाडिदिनुस् भन्न नपरोस्,’ शर्माले भिडियो सन्देशमा भनेका छन् ।

एमालेमा बढ्दै छ ओलीले नेतृत्व छोड्नुपर्ने मत 
जेन–जी आन्दोलनले सरकार र पार्टी दुवैतिर प्रधानमन्त्री केपी ओलीको नेतृत्वमाथि प्रश्न उठाएपछि एमालेभित्र उनले असफलताप्रति आत्मालोचित हुँदै जिम्मेवारी छाड्नुपर्ने मत मुखर बन्दै गएको छ । उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, कर्ण थापा, गोकुल बाँस्कोटा, उषाकिरण तिम्सेना हुँदै थुप्रै केन्द्रीय सदस्य, प्रदेश र जिल्ला तहका नेताहरूले मात्र होइन, जनवर्गीय संगठनहरूले पनि पार्टी पुनर्गठनका लागि ओली नेतृत्वबाट बाहिरिनुपर्ने मत उठाउन थालेका छन् । कतिपय ओलीका अलावा महासचिव शंकर पोखरेल र सल्लाहकारको समेत भूमिकामा रहेका उपमहासचिव विष्णु रिमालले पनि जिम्मेवारी छाडेर पार्टीलाई जेन–जीको भावनाअनुरूप देशव्यापी रूपमा पुनर्गठित गर्नुपर्ने माग गरिरहेका छन् । नेतृ तिम्सेनाले सबैभन्दा पहिले अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने आवाज उठाएकी हुन् ।

२६ भदौमा केन्द्रीय सचिवालयको निर्णय सार्वजनिक गर्दै महासचिव पोखरेलले परिस्थिति सामान्य हुनेबित्तिकै आत्मसमीक्षा हुने भन्दै पुनर्गठनतर्फ अघि बढ्न सकिने संकेतसम्म गरेका छन् । तर, अध्यक्ष ओलीनिकट नेताहरू कसैले पनि उनको विकल्प खोजेर अघि बढ्नुपर्ने मत राखेका छैनन् । ‘स्थिति सामान्य हुनासाथ पार्टीको बैठक बसेर समग्र स्थितिको समीक्षा गरिनेछ । हाम्रो भूमिकाको पनि आवश्यक आत्मसमीक्षा हुनेछ र आगामी कामबारे औपचारिक निर्णय गरिने नै छ,’ पोखरेलको पछिल्लो वक्तव्यमा भनिएको छ । 

एमाले सचिव भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने भन्दै शनिबार भिडियो सन्देशमार्फत पार्टीको नेतृत्व पुनर्गठन हुने बताएका छन् । ‘पार्टीलाई गतिशील बनाउन युवाहरूको आवश्यकता छ । एमाले युवाहरूले बनाएको पार्टी हो र विगतमा युवाहरूले नै नेतृत्व गर्दै आएको पार्टी हो । अहिले पार्टीभित्र पुरानो पुस्ता छ, बिचको पुस्ता छ, नयाँ पुस्ता छ । तर, नयाँ पुस्ता अलि कम छ । जेन–जी पुस्ता किन आइरहेको छैन । कडी किन टुटिरहेको छ ? यसको हामीले गम्भीर समीक्षा गर्नेछौँ,’ भट्टराईले भने, ‘यतिवेला पार्टी पुनर्गठन हाम्रो महŒवपूर्ण मुद्दा हो । नेतृत्व कार्यशैली थुप्रै कुरामा पुनर्गठन गर्नुपर्छ । त्यो पुनर्गठन हामी गर्छाैँ । यो युवामुखी, जनमुखी देशभक्त, प्रगतिशील हुन्छ । हामी पार्टीमा संरचनागत सुधार गर्छौँ, तपाईंहरूले एमालेप्रति भरोसा गर्नुस् । एमाले अन्यथा जाँदैन ।’

अहिलेको संविधान खारेज गर्न नदिइने उनको भनाइ छ । ‘यो संविधान खारेज भयो भने अर्को संविधान बनाउन सजिलो छैन । संविधानलाई लिकमा फर्काउन, लोकतान्त्रिक प्रक्रियालाई लिकमा फर्काउन सजिलो छैन,’ भट्टराईले भने, ‘आगामी दिनमा संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूर्वक अघि बढ्नुको विकल्प छैन । प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौँ तपाईंहरूका हरेक कदम संवैधानिक होऊन् । हामी समर्थन गर्छौँ ।’

स्थायी समिति सदस्य बिन्दा पाण्डेले पनि पार्टी नेतृत्व र कार्यशैलीमा पुनर्गठन गरिनुपर्ने धारणा सार्वजनिक गरेकी छिन् । ‘नागरिक बलियो भएमा लोकतन्त्र सुदृढ हुन्छ र सदस्यको सक्रिय सहभागिताले दलहरू बलियो बनाउँछ भन्ने मान्यताका आधारमा पार्टी नेतृत्व पुनर्गठन र कार्यशैली परिवर्तन गरी अगाडि बढ्नु अबको आवश्यकता हो,’ उनले भनिन्, ‘विगतको समीक्षा गरौँ । विगतमा भएका गल्ती र कमजोरीलाई स्वीकार गरी सिंगो पार्टीपंक्ति र आमनागरिकसमक्ष आत्मालोचना गर्दै कमजोरीलाई सच्याएर अगाडि बढ्नुको विकल्प छैन ।’ पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नीति र विधिको रक्षा भएपछि स्वत: नेतृत्वको रक्षा हुने भन्दै पार्टीलाई त्यसरी पुनर्गठनमा लैजानुपर्ने धारणा राखेका छन् ।  

माओवादीमा शर्मा र एकीकृत समाजवादीमा भुसालले दबाब बढाउँदै
माओवादीमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व पुस्तान्तरणको विषय अघि सार्दै आएका छन् । जेन–जी आन्दोलपछि अन्य नेताहरू पनि पुस्तान्तरणको बहसमा उत्रिएका छन् । ‘संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेका छन् । अब आन्दोलनको म्यान्डेट र जनअपेक्षाअनुसार गम्भीर आत्मसमीक्षासहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गरौँ,’ शर्माले भनेका छन् । संसद् विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार रहेको शर्माको दाबी छ । ‘पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूका लागि यो ठुलो विषय नहुन सक्छ । तर, इतिहासले यसको मूल्यांकन गर्नेछ,’ उनले भनेका छन् । उनले पछिल्लो समय पार्टी पुनर्गठनको माग गर्दै आएका थिए ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले १०औँ महाधिवेशनमा नेतृत्व पुस्तान्तरणको विषय अघि सारेका थिए । अध्यक्षमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रतिस्पर्धाको तयारी गरे पनि अन्तिममा ब्याक भएका थिए । जेन–जीको आन्दोलनपछि भुसालले नेतृत्व पुस्तान्तरण र समग्र वाम एकतामा जोड दिएका छन् । ‘यो त गणतन्त्रलाई बिर्ता ठान्ने केवल केही नेताहरूको असफलता हो, ती नेताका स्वार्थको लक्ष्मणरेखा नाघेर अगाडि बढ्न नसक्ने हाम्रो नादानीको असफलता हो । यस वास्तविकतालाई आत्मसात् गर्न सक्यौँ भने हामीले हतास, पलायन र आत्मसमर्पणलाई सजिलै जित्न सक्छौँ । अझ बढी धैर्यता, दूरदृष्टि र हिम्मतका साथ परिस्थितिको मूल्यांकन गर्दै हाम्रा अभिभारा निर्धारण गरौँ । अब हामीलाई बाटो देखाउन कुनै महापुरुष बाँकी छैन । परिस्थिति नयाँ छ, त्यसैले नयाँ परिस्थितिको विचार, राजनीति र संगठनका साथै नयाँ नेतृत्व निर्माण गर्दै अघि बढौँ,’ उनले भनेका छन् ।