मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २७ शुक्रबार
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २७ शुक्रबार १२:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘निजी क्षेत्रका गतिविधि निर्वाध रूपमा सञ्चालन हुन नसके अर्थतन्त्रमा थप समस्या हुन्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २७ शुक्रबार १२:१७:oo

देशभर भएको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले दुःख व्यक्त गरेको छ। नवनिर्माण एवं पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसाय निर्वाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि महासंघले आग्रह गरेको छ ।

निजी क्षेत्रका गतिविधि निर्वाध रूपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्न जाने महासंघको ठहर छ। आमसर्वसाधारण तथा उद्यमी व्यवसायले निर्वाध रूपमा पेसा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन पनि महासंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ । 

पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएको र  यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघले  भर्त्सना गरेको छ । साथै महासंघले व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताका लागि ध्यानाकर्षण गराएको छ । उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौँ रुपैयाबराबरको क्षति भएको भन्दै यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भए तापनि क्षतिका कारण राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आकलन गरिएको जनाएको छ । 

आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा महासंघले समवेदना व्यक्त गरेको छ । सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोगलगायतका विषयमा युवा पुस्ताले चासो देखाएको र यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भई युवा पुस्ताको चाहनाबमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने  महासंघले अपेक्षा गरेको जनाएको छ। 

महासंघले देशको समुन्नतिका लागि अन्याेल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवं सहकार्य गर्न तयार रहेको जनाएको छ।