
जिल्ला प्रशासन कार्यालय सिराहाले जिल्लाभर निषेधाज्ञा तथा कर्फ्यु आदेश अद्यावधिक गर्दै शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। सिराहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले शुक्रबार बिहान सूचना जारी गर्दै जिल्लाको पछिल्लो सुरक्षाको विश्लेषणको आधारमा नागरिकहरूको जिउधनको सुरक्षा तथा जनजीवनलाई सामान्यीकरण गर्दै जाने सन्दर्भमा जिल्ला सुरक्षा समितिको निर्णयको आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आदेश गरिएको बताए ।
सूचनामा अर्को आदेश नभएसम्मका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा र बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको उल्लेख छ । सूचनाबमोजिम शुक्रबार बिहान ६ देखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने उल्लेख छ । निषेधाज्ञा तथा कर्फ्युको समयमा एकै ठाउँमा पाँचजनाभन्दा बढी मानिस भेला नहुने, अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै औषधि, खाद्यान्न (पशुपक्षीका दानासमेत), इन्धन, दुग्ध, तरकारी र पानी ढुवानी तथा ओसारपोसार गर्ने सवारीसाधनहरू सञ्चालन गर्न सकिनेछ ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाई सुरक्षाकर्मीसँग समन्वय गरी विमानस्थलसम्म आवतजावत गर्न सकिने सूचनामा उल्लेख छ ।
निषेधाज्ञा तथा कर्फ्यु आदेशको पालना गरी जिल्लाको समग्र शान्ति सुव्यवस्थालाई सामान्यीकरण गर्न सबैको सहयोगको अपेक्षा गर्दै सूचनामा निषेधाज्ञा तथा कर्फ्युको बर्खिलाप हुने गरी कुनै गतिविधि भए–गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।
राहदानी र परिचयपत्रबाहेकका सेवा सञ्चालन
जिल्ला प्रशासन कार्यालयले २९ भदौदेखि राहदानी र राष्ट्रिय परिचय पत्रबाहेकका सेवाहरू २९ भदौदेखि सञ्चालन गरिने जनाएको छ । केन्द्रीय सर्भर प्रणालीको सञ्चालन अवस्था तथा मुलुक र जिल्लाको शान्ति सुरक्षाको विश्लेषणको आधारमा अर्को सूचना नभएसम्मका लागि राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरू बन्द रहेको जानकारी दिइएको छ। कार्यालयबाट प्रवाह हुने शान्ति सुरक्षा र विपत् व्यवस्थापनबाहेकका अन्य सेवाहरू शुक्रबारसम्म स्थगित रहेकोमा आइतबारदेखि खुल्ने जिल्ला प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासनले २९ भदौदेखि जिल्लाका अन्य सरकारी तथा संघसंस्थाहरूले सम्भव भएसम्म सामान्य सेवा मात्र भए पनि सञ्चालनको प्रबन्ध गर्न कार्यालय प्रमुखहरूलाई आग्रह गरेको छ। आन्दोलनको क्रममा जिल्लाभित्र सरकारी तथा सरकारी संघसंस्थाको भौतिक सवारीसाधन, मेसिनरी औजार र सूचना प्रविधिसमेतमा भएको क्षतिको विश्लेषणको आधारमा प्रवाह हुने सेवालाई के–कसरी छिटो प्रवाह गर्न सकिन्छ, तत्काल कार्यालय प्रमुखसहितका कर्मचारीहरूले समन्वय, सहजीकरण र सहकार्य गर्न अनुरोध गरिएको छ ।