
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने राष्ट्रिय महिला लिगमा पाँच टोलीले स्थान सुरक्षित गरेका छन् । छनोट चरणमा प्रतिस्पर्धा गरेका १४ मध्ये पाँच टोलीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन् । समूह ‘ए’बाट शीर्ष दुईमा रहेका ललितपुरको चर्च ब्वाइज युनाइटेड तथा कास्कीको आरएस रिसोर्ट छनोट भएका हुन् । समूह ‘बी’बाट संकटा र न्युरोड टिम (एनआरटी) शीर्ष दुई स्थानमा रहँदै लिगमा स्थान पक्का पारे । राप्ती एफसीलाई हराउँदै झापा लिगमा छनोट हुने पाँचौँ टोली बनेको हो । एन्फाले २९ साउनदेखि २३ भदौ ०८२ सम्म आयोजना गरेको लिग छनोटमा कुल ४३ खेल आयोजना भए । जसमा एक सय ७३ गोल र आठ ह्याट्रिक भएको थियो । लिगमा संकटाकी स्ट्राइकर पूर्णिमा राईले सर्वाधिक ६ गोल गरिन् । छनोट भएका पाँच टोलीले गत वर्ष लिगको शीर्ष पाँचमा रहेका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । शीर्ष पाँचमा विभागीय तीन टोली नेपाल एपिएफ, नेपाल पुलिस र त्रिभुवन आर्मीसँगै बागमती युवा र वालिङ नगरपालिका रहेका छन् । एपिएफ पछिल्लो तीन संस्करणको साबिक विजेता हो ।
संकटा (२१ अंक)
सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब संकटाले लगातार दोस्रोपटक महिला लिगमा स्थान बनायो । गत वर्ष संकटाले पहिलोपटक महिला टोली बनाएको थियो । संकटा ‘ए’ डिभिजन लिगमा विभागीय टोलीबाहेक पहिलो महिला टोली बनाउने क्लब हो । यसअघि पनि संकटाले महिला लिग छनोट हुँदै लिग खेलेको थियो ।
तर, शीर्ष पाँचभित्र नपरेपछि यसपटक पनि संकटाले छनोट खेल्यो । यसपटक टोली छनोटमा पराजित रह्यो । ६ मध्ये पाँच खेल जित्दा एक खेल बराबरी खेल्यो । कुल १६ अंक जोडेको संकटा एक खेलअघि नै महिला लिगमा छनोट भएको हो । संकटाले छनोटमा नेपालको उमेर समूहबाट खेलिसकेका खेलाडीलाई मैदानमा उतारेको थियो । नेपालको यू–२० टिमबाट खेलिसकेकी पूर्णिमाले सर्वाधिक ६ गोल गरिन् । यसबाहेक सेनु परियारले चार तथा सुक्रिया मिया र रेनिशा शर्माले समान तीन गोल गरेका हुन् ।
एनआरटी (१३ अंक)
एनआरटीले निर्णायक मानिएको छनोटको अन्तिम खेलमा बुटवल लुम्बिनीलाई २–० ले हरायो । यस खेलमा हार व्यहोरिँदा एनआरटीको छनोट कठिन थियो । एनआरटीले ६ खेलमा चार जित । समान एक बराबर र हारको सामना गर्यो । छनोट खेलमा कुल २१ गोल गर्दा ६ गोल खाएको एनआरटीले १३ अंक जोडेको छ । समूहमा झापालाई एक अंकले पछि पार्दै प्ले–अफ खेल्नबाट एनआरटी बचेको थियो । एनआरटीले पहिलोपटक महिला लिग खेल्न लागेको हो । एनआरटीको यात्रामा सजिना स्याङ्तानले सर्वाधिक पाँच गोल गरेकी थिइन् । प्रतीक्षा ठकुरीले चार तथा संगीताकुमारी मल्लले तीन गोल गरिन् ।
चर्च ब्वाइज युनाइटेड (१५ अंक)
डेब्यु गरेको वर्ष नै सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि जितेको चर्च ब्वाइज युनाइटेडले पहिलोपटक महिला टोली बनायो । कैलाली जिल्ला फुटबल संघसँग सहकार्य गरेर टोली बनाएको चर्च ब्वाइज समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सीधै महिला लिगमा छनोट भयो । पहिलो सहभागितामै चर्च ब्वाइजले ६ मध्ये पाँच खेल जित्यो । एक खेलमा हारको सामना गर्यो । चर्च ब्वाइज एक मात्रै खेलमा राप्ती फुटबल क्लबसँग २–१ ले पराजित भएको थियो । चर्च ब्वाइजले पनि नेपालको यू–१५, यू–१६ र यू–१८ खेलेका खेलाडी समावेश गरी टोली बनाएको हो । लिगमा सुजना पुलुङ्वाले सर्वाधिक पाँच गोल गरेकी थिइन् । मनिता तुमरोकले चार तथा वर्षा ओलीले तीन गोल गरे ।
आरएस रिसोर्ट (१५ अंक)
मोफसलबाट महिला लिगमा यसपटक छनोट हुने पहिलो टोली आरएस रिसोर्ट हो । यसको मुख्य नाम आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब हो । आरएसले कास्कीमा रहेर एक दशकयता नै पुरुष फुटबल खेल्दै आएको छ । पछिल्लो ६ महिना भने महिला लिग खेल्ने योजनासहित टोली बनायो । क्लबका अध्यक्ष रमेश कार्कीले छनोटका लागि केही स्थानीय तथा उमेर समूहबाट बाहिरिएका अन्तिम खेलाडीलाई टोलीमा समावेश गरिएको थियो । पोखरामा लामो तयारीपछि आरएस लिग छनोट खेल्न काठमाडांै आयो । टोलीले ६ मध्ये पाँच खेल जित्दै समूह ‘ए’को उपविजेता बनेर महिला लिगमा स्थान बनायो । आरएस एक खेलमा भने पराजित भयो । २० गोल विपक्षी पोस्टमा गर्दा उसले सात गोल मात्रै व्यहोरेको छ । टोलीलाई छनोट गराउने क्रममा ईशा चौधरीले सर्वाधिक पाँच र सरिता विकले चार गोल गरेका थिए । समान अंक भएपछि चर्च ब्वाइजभन्दा ६ गोलले पछाडि पर्दा आरएस उपविजेतामै रह्यो ।
झापा फुटबल (१२ अंक)
झापाले प्ले–अफ खेलमा राप्ती फुटबल क्लबलाई १–० ले हराउँदै लिगमा छनोट हुने पाँचौँ टोली बनेको हो । दुई समूहका शीर्ष दुई गरी चार टोली सीधै प्ले–अफमा स्थान बनाउँदा पाँचौँ टोलीको टुंगो प्ले–अफबाट लागेको हो । समूह ‘बी’को तेस्रो स्थानमा रहेको झापाको १२ तथा समूह ‘ए’को राप्तीको १३ अंक रहेको थियो । निर्णायक खेलको दोस्रो हाफको इन्जुरी समयमा रेखा विष्टले विजयी गोल गरेपछि झापाले महिला राष्ट्रिय लिगमा स्थान बनायो । झापाकी कप्तान इमा राईले सर्वाधिक पाँच गोल गरेकी थिइन् । पुष्पकुमारी खड्का र सुनकला राईले समान दुई गोल गरेका थिए । झापा फुटबल क्लबको जन्म फ्रेन्चाइज नेपाल सुपर लिगबाट भएको थियो । पहिलो संस्करणबाट विराटनगरले नाम फिर्ता लिँदा झापा, वीरगन्ज र इलामले दोस्रो संस्करणमा मौका पाएका हुन् । तेस्रो संस्करण पनि खेलेको झापाले त्यसपछि महिला लिगमा पनि आफूलाई समावेश गरेको हो ।