
जेन–जीको आन्दोलनपछि नेपालमा हुने भनिएको देशको सार्वभौम साख मूल्यांकन रोकिएको छ । २४ भदौमा रेटिङका लागि फिच रेटिङ्सको टोली नेपाल आउने निर्धारित कार्यक्रम थियो । तर, आन्दोलन चर्किएसँगैे टोलीको भ्रमण कार्यक्रम रद्द गरेको अर्थ मन्त्रालयका प्रतिनिधिले जानकारी दिएको छ ।
२४, २५ र २६ भदौमा अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचको टोलीले नेपालमा रेटिङ गर्ने तय भएको थियो । अर्थ मन्त्रालयले पनि आवश्यक प्रक्रिया पूरा गरिसकेको थियो । गएको वर्ष फिचले नेपालको रेटिङ गरेको थियो । फिचसँग नेपालले दुई वर्षको रेटिङका लागि सम्झौता गरेको थियो । गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले बिबी माइनस ग्रेड पाएको थियो ।
फिचले इन्भेस्टमेन्ट ग्रेड र स्पेक्युलेटिभ ग्रेड गरी रेटिङका ग्रेडलाई दुई भागमा विभाजित गरेको छ । इन्भेस्टमेन्ट ग्रेडमा पर्ने रेटिङले कर्जाको जोखिम न्यून रहेको अवस्थालाई जनाउँछ भने स्पेक्युलेटिभ ग्रेडले कर्जाको उच्च जोखिम वा कर्जा नतिरेको अवस्थालाई देखाउँछ । इन्भेस्टमेन्ट ग्रेडअन्तर्गत एएए, एए, ए र बिबिबी ग्रेड छन् । कर्जाको जोखिम न्यून रहेको उच्चतम अवस्थालाई एएएले इंगित गर्छ । बिबिबीले इन्भेस्टमेन्ट ग्रेडको तल्लो सिमामा रहेको देखाउँछ ।
स्पेक्युलेटिभ ग्रेडअन्तर्गत बिबी, बी, सिसिसी, सिसी, सी, आरडी र डी पर्छन् । इन्भेस्टमेन्ट ग्रेडबाट खस्किएर एक स्थान तल रहेको अवस्थालाई बिबी ग्रेडले जनाउँछ । डी ग्रेडले कर्जाको उच्चतम जोखिमलाई जनाउँछ ।