
आन्दोलनकारीले ललितपुरको नक्खु, कास्की, महोत्तरी, दाङको तुलसीपुर, कैलाली र कञ्चनपुर कारागारबाट कैदीबन्दीलाई जेलबाट निकालेका छन् । ठुलो संख्यामा कारागार पुगेका प्रदर्शनकारीले जेलमा तोडफोड र आगजनीसमेत गरेका छन् ।
नक्खु कारागारमा आगजनी भएपछि कैदी भागे पनि संख्या यकीन भएको छैन । जनकपुर बम काण्डमा दोषी ठहर भएर सजाय काटिरहेका पूर्वराज्यमन्त्री सञ्जय टक्ला पनि नक्खु कारागारबाट भागेका हुन् ।
जेन–जी आन्दोलनकर्मी कारागार सुरक्षामा खटिएका केही प्रहरीमाथि कुटपिटसमेत गरेपछि कास्कीमा सात सय ७३ कैदीबन्दी भागेका छन् ।
महोत्तरीको जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदी फरार भएका छन् । महोत्तरी कारागारमा ५७५ कैदीबन्दी थिए । मंगलबार साँझ ७ बजे आएका प्रदर्शनकारी र भित्रका कैदीले एकैसाथ पर्खाल भत्काएपछि स्थिति नियन्त्रणबाहिर गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।
दाङको तुलसीपुर कारागारका एक सय २४ कैदीबन्दी भागेका छन् । त्यस्तै, कैलालीमा ६ सय ६२ जना कैदीबन्दी भागेका छन् । कारागारमा अहिले पाँचजना कैदबन्दी मात्र बाँकी रहेका कैलाली कारागारका नासु ज्ञानेन्द्र ओझाले बताए । सयौँको संख्यामा रहेका प्रदर्शनकारी गेट तोडेर भित्र पसेको र कैदीबन्दीलाई निकालेको ओझाले बताए ।
जेन–जी युवा कञ्चनपुर कारागार पसेपछि साढे चार सयभन्दा कैदीबन्दी भागेका छन् । कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले कैदीबन्दी बाहिर आउने क्रममा प्रहरीले भित्रै बस्न आह्वान गरेपछि केही भित्रै केही बाहिर निस्किएको बताए । त्यस्तै, जाजरकोट जिल्ला कारागारमा रहेका कैदीबन्दीले पनि आन्दोलन चर्काएका छन् । अन्य जिल्ला कारागारका कैदीबन्दी भागे पछि आफूहरूलाई पनि छाड्न माग गर्दै उनीहरूले मंगलबार राति अबेरसम्म नाराबाजी गरेका थिए ।