
मंगलबार प्रशासनले लगाएको कर्फ्यु तोडेर आगो लगाएर ध्वस्त बनाइएका सरकारी र निजी संरचनाहरू सरसफाइ गर्न विराटनगरमा अभियन्ताहरू सक्रिय भएर लागेका छन् । मंगलबार जेन–जीको प्रदर्शनको बहानमा तोडफोड र आगजनी गरेर ध्वस्त बनाएका विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कोशी प्रदेश सभा, आन्तरिक राजस्व कार्यालय, सिँचाइ कार्यालय, भाटभटेनी मल, कोइरालानिवासलगायतका संरचना अगाडि थुप्रिएका खरानी र ध्वस्त भएका सामग्रीहरू स्थानीय अभियन्ताहरूले धमाधम सरसफाइ गर्न थालेका छन् ।
प्रदर्शनकारीहरूले संरचनाहरू तोडफोड गरेर फर्निचरलगायतका सामग्रीहरू सडकमा ल्याएर आगजनी गर्दा आवागमन अवरुद्ध भएकाले पहिले सडकमा रहेका खरानी र जलेर ध्वस्त भएका सामानहरू हटाउन थालेको हरियाली अभियानका अभियन्ता पारुल क्षेत्रीले बताए । उनले आगलागी र तोडफोड भएका संरचनाहरू नागरिकहरूको सम्पत्ति भएकाले त्यसको संरक्षण र सरसफाइमा लागिपर्न सबै स्थानीयसँग आग्रह गरेका छन् ।
मंगलबार प्रदर्शनकारीहरूले बरगाछी चाेक, तीनपैनी चाेक, देवकोटा चाेक, अस्पताल चाेक, महेन्द्र चाेकलगायतका विभिन्न स्थानमा युवाहरूले प्रधानमन्त्री केपी ओली र सरकार अनि राजनीतिक दलका पुराना नेताहरूविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गर्दै तोडफोड र आगजनी गरेका थिए । आगजनीबाट देवकोटा चाेकमा भएको कोशी प्रदेश सभा भवन, शनिहाटमा रहेको महानगरपालिका भवन, शनिमन्दिर चाेकमा रहेको भाटभटेनी मल आदि जलेर नष्ट भएका छन् भने अन्य संरचनाहरूमा पनि ठुलो क्षति पुगेको छ ।