
जिल्ला प्रशासन कार्यालय झापाले दमकमा पनि कर्फ्यु आदेश जारी गरेको छ । जेनजीको प्रदर्शनका कारण प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन् । राति १० बजेदेखि बिहान ५ बजेसम्म दमकमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । पूर्वमा रतुवा खोला , पश्चिममा डिपु रोड, उत्तरमा फाल्गुनन्द चोक तथा पूर्वपश्चिम राजमार्गदेखि ३ किलोमिटर दक्षिणसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । कर्फ्यु अवधिमा आवतजावत, भेला हुन, सभा जुलुस प्रदर्शन गर्न, बैठक र घेराउ गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
जेनजीको प्रदर्शनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक दिनभर अशान्त बन्यो । प्रदर्शनकारीले दमक नगरपालिका घेराउसँगै आगजनीसमेत गरे । उनीहरुले मोटरसाइकल तथा स्कुटरमा समेत आगजनी गरे । करिब दुई घण्टासम्म पूर्वपश्चिम राजमार्ग टायर बालेर अवरोध गरेका उनीहरुले दमक ९ स्थित शान्तिमार्गमा रहेको प्रधानमन्त्री ओलीको निवासमा समेत ढुंगा प्रहार गरेका थिए । प्रदर्शनका क्रममा दर्जन बढी प्रहरीको गोली लागेर घाइते भएका छन् । तर, कति संख्यामा घाइते भए भन्नेबारेमा र कति संख्यामा अश्रु ग्यास र गोली प्रहार भयो भन्ने विषयमा प्रहरीले सूचना लुकाइरहेको छ । घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पताल, दमक, अस्पताल, लाइफलाइन अस्पताल दमकलगायत अस्पतालमा उपचार भइरहेको छ । यद्यपि कति घाइते भए, कति गोली प्रहार भयो भन्ने प्रहरीले खुलाएको छैन । झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूलाई सम्पर्क गर्दा उनले अपडेट नभएको भन्दै पन्छिएका छन् । झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले समेत सूचना लुकाएका छन् । यद्यपि उनले हवाई फायर मात्र गरेको दाबी गरे । तर, घाइतेको गुँडा तथा शरीरका विभिन्न भागमा गोली लागेका कारण प्रहरीले सीधा गोली प्रहार गरेको पुष्टि हुन्छ । तर, यो विषयमा प्रहरीले सूचना लुकाइरहेको छ ।
२१ जना घाइते
दमकमा भएको प्रदर्शनका क्रममा ९ जना आन्दोलनकारी र १२ जना नेपाल प्रहरी तथा सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । घाइतेको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, दमकमा ५४ सेल अश्रु ग्यास प्रहार भएको उनले बताए । उनका अनुसार विभिन्न हतियारबाट २१ राउन्ड गोली प्रहार भएको छ । खड्काले भने हवाई फायर भएको बताएका छन् । तर, प्रदर्शनकारीको घुँडा तथा शरीरका विभिन्न ठाउँमा गोली लागेर उपचार गराइरहेका छन् । आन्दोलनका क्रममा दमकबाट आठ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बिर्तामोडमा भने यो समाचार तयार पार्दासम्म प्रदर्शन जारी रहेकाले विवरण आउन नसकेको प्रवक्ता खड्काले जानकारी दिए ।