
खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिलाई अर्को वर्ष सेप्टेम्बरमा जापानमा हुने २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा नेपालको सहभागिता र खेलको संख्या समयमै पठाउन निर्देशन दिएका छन् । मन्त्री चौधरीले ध्रुवबहादुर प्रधान संयोजकत्वको तदर्थ समितिलाई आयोजक जापानसँग सहकार्य गर्न निर्देशन
दिएका हुन् ।
‘जापानमा हुने एसियाडमा नेपालको सहभागिता र खेलको संख्या पठाउने काम गर्नुस्,’ मन्त्रालयमा आइतबार तदर्थ समितिका पदाधिकारीसँगको भेटमा उनले भने, ‘आयोजक राष्ट्रले दिएको समयसीमाभित्रै पत्र पठाउनुस् ।’ मन्त्री चौधरीले तदर्थ समितिलाई एसियाडको सुनिश्चितताका सम्बन्धमा निर्देशन दिए पनि आयोजक जापानले गत १६ असारसम्म खेलको संख्या पठाउने अन्तिम मिति तोकेको थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीले १६ असारमै ३० वटा खेल संख्या पठाएको थियो । सो लिस्टमा फुटबल र तेक्वान्दो समावेश थिएन ।
तदर्थ समितिले १७ असारमा नेपालस्थित जापानिज दूतावासको माध्यमबाट आयोजक जापान ओलम्पिक कमिटीलाई ३१ खेलको सूची पठायो । तर, आयोजक जापानले तदर्थ समितिले पठाएको खेल संख्या दर्ता नै गरेन । जापानले तदर्थ समितिलाई आधिकारिक एनओसीबाट मात्र खेल संख्या पठाउन भनेको थियो ।
जापानले आधिकारिक रूपमा एनओसीबाट खेलको सूची दर्ता गर्नुपर्ने नियम रहेको र सोहीअनुरूप आउन भनेको छ । ‘एसियाडमा सहभागिता जनाउन ओलम्पिक कमिटीमार्फत खेल दर्ता गराउनुपर्छ । अन्य माध्यमबाट आएका खेलको सूची दर्ता हुँदैन,’ खेलकुद मन्त्रालयलाई आयोजकले पठाएको इमेलमा भनिएको छ, ‘एनओसीबाट आएको खेलको सूची मात्र आधिकारिक मानिनेछ । यसबाहेकका संस्थाले पठाएको सूची आधिकारिक मानिनेछैन ।’
अवैध सवारीसाधन फिर्ता गर्न निर्देशन
खेलकुदमन्त्री चौधरीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीका पदाधिकारीले सरकारी स्वामित्वमा रहेको सवारीसाधन अवैध रूपम प्रयोग गरिरहेकाले फिर्ता गराउन राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयकै कर्मचारीलाई कडा निर्देशन दिएका छन् । ‘राज्यले मान्यता नदिएको र अवैधानिक एनओसीका पदाधिकारीले प्रयोग गरिरहेका सवारीसाधन फिर्ता ल्याउन निर्देशन भएको छ,’ तदर्थ समितिका प्रवक्ता समिम मियाँ अन्सारीले भने, ‘मन्त्रालयको निर्देशनअनुसार छिट्टै काम गर्छौँ ।’
आइओसी र ओसिएको मान्यता पाएको एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले दैनिक प्रयोग गरिरहेको सवारीसाधन एनओसीको भएको तदर्थ समितिका एक सदस्यले बताएका छन् । ‘राज्यले स्वीकार नगरेको एनओसीका अध्यक्ष श्रेष्ठसवार गाडी एनओसीकै हो,’ उनले भने, ‘उनले व्यक्तिगतजस्तै प्रयोग गरिरहेका छन् । हामी छिट्टै फिर्ता गर्छौँ ।’ मन्त्री चौधरीले नेपाल ओलम्पिक कमिटीबाट पत्राचारमा भएका अवैध रूपमा कब्जा गरिएका अन्य चलअचल सम्पत्ति फिर्ता गर्न पनि कडा रूपमा निर्देशन दिएका छन् ।
ओसिएको कारबाहीपछि मन्त्री अग्रसर
ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले सरकारबाटै गठित तदर्थ समितिलाई लोगो र लेटरहेडसँगै सदस्यलाई कारबाही गरेपछि मन्त्री चौधरीले जानकारी लिने प्रयास गरेका हुन् । ओसिएले तदर्थ समितिका संयोजक तथा एनओसीका पूर्वअध्यक्षसमेत रहेका प्रधानलाई एनओसीको लेटरहेड तथा लोगो प्रयोग नगर्न चेतावनी दिएको छ ।
आगामी दिनमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीको लेटर प्रयोग गरे कारबाही हुने ओसिएले जनाएको थियो । गत साता ओसिएले तदर्थ समितिका सदस्य रवि राजकर्णिकार तथा निलेन्द्रराज श्रेष्ठलाई दुई वर्षसम्म कुनै पनि कार्यक्रममा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । राजकर्णिकार नेपाल घोडचढी तथा श्रेष्ठ नेपाल ट्रायथलन संघका अध्यक्ष हुन् । यसअघि पनि ओसिएले यी दुवैलाई ९० दिनको कारबाही गरेको थियो ।
निर्णय कार्यान्वयनतर्फ
मन्त्री चौधरीसँग भएको छलफलमा तदर्थ समितिका नौ सदस्य टोली, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, खेलकुद मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख सहसचिव रामचरित्र मेहताको उपस्थिति थियो । तदर्थ समितिका संयोजक प्रधान भने उपस्थित भएनन् । तदर्थ समितिमा एनओसीमा आबद्ध २३ संघका सदस्य छन् । ओलम्पिक कमिटीको कार्यसमितिबाट निर्णय भई परिषद् र मन्त्रालयमा पत्राचार भएका विषय यथाशक्य कार्यान्वयनका लागि परिषद् र मन्त्रालयका कर्मचारीलाई चौधरीले निर्देशन दिए ।
नेपाल ओलम्पिक कमिटीका गतिविधिलाई कानुनबमोजिम सक्रिय बनाउन राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले खेल्नुपर्ने भूमिकाबारे समेत छलफल भएको मन्त्रालयले जनाएको छ । गत मंसिरमा श्रेष्ठले आफू तेस्रो कार्यकालका लागि अध्यक्ष हुन विशेष साधारणसभा बोलाएपछि सरकारले त्यसलाई खेलकुद ऐनविपरीत भएको भन्दै अवैधानिक कदम भनेको थियो । त्यसपछि सुरु भएको ओलम्पिक कमिटीको विवाद जटिल अवस्था छ ।