
सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जालबाट गत आर्थिक वर्ष ०८१/८२ मा तीन अर्ब ५३ करोड तीन लाख रुपैयाँबराबरको विदेशी मुद्रा नेपाल भित्रिएको देखिएको छ । नेपालमा सूचीकरण नभएको भन्दै गत बिहीबारदेखि युट्युब, फेसबुक, इन्टाग्राम, ह्वाट्सएपजस्ता २६ सञ्जाल निष्क्रिय पारिएका छन् भने सूचीकरण भएका टिकटक, भाइबर, निम्बुज, विटक र पोपोलाइभजस्ता पाँच सामाजिक सञ्जाल भने सञ्चालनमै छन् ।
गत आवमा यस्ता सामाजिक सञ्जालबाट नेपालमा तीन अर्ब ५३ करोड तीन लाख रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । नेपालमा पहिलादेखि नै यस्तो माध्यमबाट विदेशी मुद्रा भित्रिने गरेको थियो । तर, त्यससम्बन्धी तथ्यांक छुट्याएर राखिने गरेको भने थिएन । राष्ट्र बैंकले गत आवदेखि भने यससम्बन्धी तथ्यांकको पनि अभिलेख राख्न सुरु गरेको थियो । राष्ट्र बैंकले भुक्तानी सन्तुलन (बिओपी)को तथ्यांकमा ‘अडियो–भिडयो सेवा’अन्तर्गत यसलाई राखेको छ । उक्त शीर्षकमा अधिकांश युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट आउने रकम रहेको राष्ट्र बैंकका कायममुकायम निर्देशक वीरेन्द्रबहादुर बुढा बताउँछन् । यससम्बन्धी तथ्यांक थप परिष्कृत गर्ने तयारीमा राष्ट्र बैंक रहेको छ ।
गत आवमा यसमार्फत ७८ करोड ९० लाख रुपैयाँ बाहिरिएको छ । त्योअनुसार यस्तो कारोबारमा नेपाललाई दुई अर्ब ७४ करोड १३ लाख रुपैयाँ नाफा छ । तोकिएका विभिन्न मापदण्ड पूरा गरेपछि युट्युब च्यानल, टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालका खाता ‘मोनिटाइज’ हुन्छन् । त्यसपछिसम्बन्धी खातामा राखिने अडियो–भिडियोमा देखिने विज्ञापन र त्यसको भ्युजका आधारमा निश्चित रकम आम्दानी हुन्छ ।
यसैगरी फेसबुक, टिकटकहरूमा एक प्रयोगकर्ताले अर्काे प्रयोगकर्तालाई दिने गिफ्ट तथा स्टारका आधारमा पैसा पनि आउँछ । युट्युबजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीले विज्ञापन परिचालन गरिरहेका हुन्छन् । त्यो विज्ञापन परिचालन गरिदिएबापत खातावाला उनीहरूले निश्चित रकम दिन्छन् । त्यसरी कमाइने पैसा बैंकिङ च्यानलमार्फत भित्रिन्छ । हरेक महिना यसबापतको रकम खातावालाको बैंक खातामा आउँछ ।
पछिल्लो समय नेपालमा युट्युबमा विभिन्न प्रकृतिका भिडियो कन्टेन्ट राख्ने प्रवृत्ति बढ्दै गएको थियो । फिल्म, म्युजिक भिडियो, भिडियो अन्तर्वार्ता, समाचारलगायतका कन्टेन्ट पनि युट्युबमा राखिन्छ । त्यसमा एडसेन्समार्फत भिडियोमा देखिएको विज्ञापनमार्फत आम्दानी गर्न सकिन्छ । यसैगरी टिकटक, फेसबुकमा ‘लाइभ’ बस्ने प्रयोगकर्ता पनि बढ्दै छन् ।
त्यसरी बसिने लाइभमा अरू प्रयोगकर्ताले गिफ्ट तथा स्टार दिन सक्छन्, त्यसबाट लाइभ बस्ने प्रयोगकर्ताले पैसा कमाउन सक्छ । फेसबुकजस्ता सामाजिक सञ्जालमा राखिने कन्टेन्टका आधारमा समेत पैसा आउने गर्छ । यस्तो अभ्यास नेपालमा पनि बढ्दै गएको थियो ।
कैयौँ प्रयोगकर्ताले यसमार्फत आम्दानी गर्दै आएका थिए । तर, सरकारले सूचीकरण हुन नआएको भन्दै २६ सामाजिक सञ्जाल बन्द गरेपछि यस्ता माध्यममा ‘कन्टेन्ट क्रिएटर’को काम गरी आम्दानी गर्नेहरूलाई नकारात्मक असर पर्ने देखिएको छ । यसैगरी सामाजिक सञ्जालबाटै व्यवसायको प्रवद्र्धन गरिरहेका साना, घरेलु तथा मझौला व्यापार तथा उद्यम व्यवसाय पनि प्रभावित हुने देखिएको छ । उसो त सामाजिक सञ्जालबाट पैसा कमाउने प्रवृत्तिलाई प्रोत्साहन–निरुत्साहन दुवै गर्न नहुने विज्ञहरू बताउँछन् ।
यसलाई यथास्थितिमा छाड्नुपर्ने विज्ञहरू बताउँछन् । अर्थतन्त्रको विकासका लागि मुख्यतः वस्तु तथा सेवा उत्पादनमै जोड दिनुपर्ने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । ‘यसले केही व्यक्तिको आर्थिक स्थिति बलियो बनाएको त छ । यसलाई नराम्रो भन्न हुन्न । तर, यसलाई प्रोत्साहन र निरुत्साहन पनि गर्न हुन्न । यथास्थितिमा छाड्नुपर्छ,’ उनले भने, ‘अर्थतन्त्रको विकासका लागि उत्पादन प्रणालीमै जोडिनुपर्छ । सबैले लाइभ बसेर नै पैसा कमाउन थाले भने उत्पादनको काम कसले गर्ने ? तसर्थ, उत्पादन नै पहिलो प्राथमिकता हुनुपर्छ ।’
नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एन्ड इनोभेसन फोरमकी सभापति जुन माथेमाले सामाजिक सञ्जाल निष्क्रिय हुँदा स्टार्टअप, साना–मझौलादेखि ठुला उद्यम–व्यवसाय नै प्रभावित भएको बताइन् । ‘फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत आफ्ना सामग्री बिक्री गरेर त्यसैलाई स्वरोजगारको माध्यम बनाइरहेकालाई समस्या परेको छ,’ उनले भनिन्, ‘दसैँ–तिहारको वेला छ, यो सबैभन्दा बढी व्यापार हुने वेला हो, यही वेला सामाजिक सञ्जाल बन्द हुँदा उनीहरूले व्यापार मात्रै होइन, व्यवसाय नै गुमाएका छन् ।
साना–ठुला सबै उद्यम–व्यवसायको प्रचारप्रचार रोकिएको छ, ग्राहकसँगको संवाद रोकिएको छ । खरिद, अर्डर र बुकिङको माध्यम विच्छेद भएको छ । नेपालमा ई–कमर्सको ट्रेन्ड बढ्दै गएपछि सरकारले विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ जारी गरिसकेको छ । ई–कमर्सलाई सूचीकरण गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत डस्ना बिक्री गर्दै आएका एक युवाले सरकारको पछिल्लो निर्णयले समस्यामा परेको बताए । ‘मेरो काम यही हो, रोजगारी यही हो, रोजीरोटीको माध्यम नै यही हो,’ नाम खुलाउन नचाहेका उनले भने, ‘अहिले व्यापार ७५ प्रतिशतले नै घटेको छ, अलि–अलि भिपिएन युज गरेर बिक्री गरिरहेका छौँ ।’
कुन महिना कति भित्रियो ?
गत आवको साउनमा २३ करोड आठ लाख रुपैयाँ, भदौमा २६ करोड ८९ लाख रुपैयाँ, असोजमा २७ करोड १८ लाख रुपैयाँ, कात्तिकमा २६ करोड १५ लाख रुपैयाँ र मंसिरमा ३० करोड ८० लाख रुपैयाँ रकम नेपाल भित्रिएको छ । यसैगरी पुसमा ३४ करोड ९८ लाख रुपैयाँ, माघमा २९ करोड १९ लाख रुपैयाँ र फागुनमा २५ करोड ४७ लाख रुपैयाँ रकम यसमार्फत भित्रिएको तथ्यांकमा उल्लेख छ । यस्तै, चैतमा २९ करोड ७९ लाख रुपैयाँ, वैशाखमा ३४ करोड ४५ लाख रुपैयाँ, जेठमा ३१ करोड आठ लाख रुपैयाँ र असारमा ३३ करोड ९६ लाख रुपैयाँ सामाजिक सञ्जालबाट नेपाल भित्रिएको छ ।
स्टार्टअपदेखि ठुला व्यवसायसम्म नै ठप्प
जुन माथेमा, सभापति, स्टार्टअप एन्ड इनोभेसन फोरम, नेपाल उद्योग वाणिज्य महासंघ
सामाजिक सञ्जाल निष्क्रिय गरिँदा जेन–जी पुस्ता र स्टार्टअपहरू मात्रै होइन । सम्पूर्ण उद्योग–व्यवसाय प्रभावित भएको छ । तर यसको यकिन तथ्यांक भने छैन । दसैँ–तिहारको वेला छ, यो सबैभन्दा बढी व्यापार हुने वेला हो, यही वेला सामाजिक सञ्जाल बन्द हुँदा उनीहरूले व्यापार मात्रै होइन, व्यवसाय नै गुमाएका छन् । साना–ठुला सबै उद्यम–व्यवसायको प्रचारप्रचार रोकिएको छ, ग्राहकसँगको संवाद रोकिएको छ । खरिद, अर्डर र बुकिङको माध्यम विच्छेद भएको छ ।
भ्युजमा कमी आई आम्दानी घट्छ
कमलकुमार विक, कलाकार
युट्युबले पैसा रोक्दैन । तर, नेपालमा प्रतिबन्ध भएपछि भ्युजमा कमी आई आम्दानी प्रभावित हुन सक्ने भयो । हाम्रा दर्शक विदेशमा पनि छन् । त्यसअनुसार नेपालबाट भ्युज नआए पनि विदेशबाट भ्युज आउँछ । तर, नेपालमा युट्युबमा नचल्ने भएपछि हामीले बनाउने भिडियो युट्युबमा कसरी अपलोड गर्ने, त्यो भने चिन्ताको विषय बनेको छ । यसमा सरकारले सहजीकरण गरिदियोस् भन्ने चाहना छ ।
पर्यटन प्रवर्द्धनमा असर गर्छ
हेमन्त राई, युट्युब कन्टेन्ट क्रिएटर
हामीलाई व्यक्तिगत रूपमा त असर पुग्ने नै भयो । त्योसँगै पर्यटन प्रवर्द्धनमा पनि असर पुग्ने भयो । मैले पर्यटकीय क्षेत्रकै कन्टेन्ट बनाएर युट्युबमा राख्ने गरेको थिएँ । यस्ता अन्य साथीहरू पनि छन् । त्यसले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गरेको थियो । कन्टेन्ट क्रिएटर पनि व्यावसायिक रूपमा विकास भइरहेको थियो । गुणस्तरीय कन्टेन्टहरू सामाजिक सञ्जालमा आउने गरेका थिए, तर त्यो बाटो रोकियो ।
लगानी खेर जाने जोखिम बढ्यो
प्रशान्त ओझा, सञ्चालक बाइनेप डटकम
हामी पनि नयाँ व्यवसायी नै हो । हामीजस्ता नयाँ व्यवसायीलाई बजार प्रवर्द्धन गर्न सामाजिक सञ्जालले धेरै नै सहयोग पुगेको थियो । तर, अहिले त्यो रोकियो । बजार प्रवर्द्धनका लागि फेसबुक र युट्युबको उपयुक्त विकल्प नै छैन । टिकटकसमेत उपयुक्त विकल्प होइन । दसैँ नजिकिँदै गर्दा हामीले फेसबुकमार्फत गरिने विज्ञापनमा लगानी गरिसकेको अवस्था थियो । दसैँका लागि सामानहरू लिइसकेको अवस्था हो । तर, फेसबुक नै बन्द भएपछि त्यो लगानी त खेर जाने भयो नै । साथै, ल्याइसकेका सामान पनि बिक्री नहुने जोखिम बढ्यो ।