
नेपाल र चीन संयुक्त सैन्य अभ्यासको पाँचौँ शृंखला आइतबार सुरु हुनेछ । सैन्य अभ्यासमा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुगेको छ । सैन्य अभ्यासलाई सगरमाथा मित्रता अभ्यास भनिएको छ ।
‘दुई सेनाबिच अभ्यास सगरमाथाको पाँचौँ शृंखला आइतबारदेखि सुरु हुँदै छ । यसको तयारी पूरा भएको छ,’ सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले भने । प्रतिआतंकवाद अपरेसन, युद्धकौशल, विपत् व्यवस्थापनलगायतका विषयमा अभ्यासकेन्द्रित हुनेछ ।
सैनिक अभ्यास १० दिनसमम सञ्चालन हुनेछ । नेपाली र चिनियाँ सैनिकबिच यसअघि चारपटक पालैपालो दुवै देशमा सैन्य अभ्यास भइसकेको छ । दुवैतर्फ प्रमुख सेनानीस्तरका सैनिक अधिकृतले सैन्य अभ्यासमा सहभागी हुने टोलीको नेतृत्व गर्दै आएका छन् ।
पहिलोपटक ३ देखि १२ वैशाख ०७४ मा दुई देशबिच सैन्य अभ्यास भएको थियो । दोस्रो अभ्यास चीनको चेन्दुमा १–१२ असोज ०७५ मा भएको थियो । तेस्रो सैन्य अभ्यास नेपालमा १३–२३ भदौ ०७६ भदौ सम्म भएको थियो । चौथो अभ्यास चीनको छोङछिङ महानगरमा गत वर्ष भएको थियो ।