
डा. नवराज लम्सालको नयाँ महाकाव्य ‘कल्प’ सार्वजनिक भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा कांग्रेस महामन्त्री गगन थापा, पूर्वमन्त्री एवं सांसद विद्या भट्टराई, माओवादी नेता एवं पूर्वमन्त्री सुदन किराँती, रास्वपा नेता एवं सांसद मनीष झा, समीक्षक राजकुमार बानियाँ र लेखक लम्साल स्वयंले संयुक्त रूपमा महाकाव्य कल्प सार्वजनिक गरेका हुन् ।
‘कल्प’ उनको चौथो महाकाव्य हो । लम्सालले यसअघि कर्ण, धारा र अग्नि गरी तीन महाकाव्य प्रकाशित गरिसकेका छन् । नेपाली महाकाव्य लेखनको मानक स्थापित गरिसकेका लम्साल अग्नि महाकाव्यका लागि ०७८ सालको मदन पुरस्कार विजेता पनि हुन् ।
विमोचन समारोहमा कांग्रेस महामन्त्री सांसद थापाले लम्सालको प्रतिस्पर्धा केवल आफ्नो क्षमतासँग मात्र भएको र उनी ०६२ सालको आन्दोलनयता साहित्यिक दृष्टिले केन्द्रीय व्यक्तित्व भएको बताए । थापाले लम्सालसँग राजनीतिक चेतना पर्याप्त रहेको र यही कारण उनका काव्य वैचारिक र राजनीतिक नेतृत्वले पनि पढ्नुपर्ने बताए ।
एमाले नेतृ तथा सांसद भट्टराईले लम्सालको वैचारिक धरातल गहिरो रहेको र कल्प पढेपछि लेखकको विश्वदृष्टि उत्कृष्ट रहेको पाउन सकिने बताइन् । नेकपा माओवादीका नेता एवं सांसद सुदन किराँतीले लम्साल सीमान्तकृत जाति, आदिवासी, महिला र मधेशी पहिचानका गहिरो लेखक रहेको बताए ।
यस्तै, रास्वपा प्रवक्ता एवं सांसद मनीष झाले लम्सालले मधेशी जनताको बोलीलाई राष्ट्रिय संवादमा प्रस्तुत गरेको बताए । समीक्षक राजकुमार बानियाँले नेपाली भाषामा यस्तो महाकाव्य सिर्जना हुनु गौरवको विषय भएको बताए ।
महाकाव्य ‘कल्प’ शिखा बुक्सले प्रकाशन गरेको हो। प्रकाशक पुष्पराज पौडेलका अनुसार पुस्तक देशका प्रमुख सहरमा उपलब्ध छ। लम्सालका चार महाकाव्यबाहेक तीन कवितासंग्रह र दुई गीतसंग्रह प्रकाशित छन् ।