मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १९ बिहीबार १५:१६:oo
Read Time : > 1 मिनेट
समाचार

सांगठनिक सुदृढीकरणका लागि सबै प्रहरी कर्मचारीहरू सामूहिक भावनामा अघि बढ्नुपर्छ : आइजिपी खापुङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार १५:१६:oo

नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले सांगठनिक सुदृढीकरणका लागि सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावना र भ्रातृत्वभावका साथ आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै उनले संगठनको दीर्घकालीन श्रीवृद्धि, व्यावसायिकता र प्रतिष्ठाको प्रवर्द्धनका लागि नेतृत्व तहदेखि तल्लो तहसम्मका कर्मचारीहरूमा सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व आवश्यक रहेको बताए ।  

प्रहरी महानिरीक्षक खापुङले फौजदारी न्याय प्रणालीको प्रमुख अंगको रूपमा नेपाल प्रहरीले देशव्यापी सञ्जालमार्फत अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका साथै शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपत् व्यवस्थापनलगायतका क्रियाकलापहरूमा राज्यको पहिलो प्रतिनिधिको रूपमा उपस्थिति देखाई आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको  उल्लेख गरे । नेपाल प्रहरी शान्ति सुरक्षा, अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान र राज्यको कानुन कार्यान्वयन एवं नागरिकको सुरक्षा र सेवाका लागि न्यून स्रोत र साधनको उपलब्धतामा पनि सधैँ अग्रपंक्तिमा खटिँदै आमनागरिकको ढुकढुकीमा बस्न सफल संगठन भएको चर्चा गर्दै आमनागरिकको अपेक्षालाई शिष्ट आचरण एवं व्यवहारका साथ सम्बोधन गर्दै आमनागरिकको हृदयमा आस्था, विश्वास र भरोसा कायम राख्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिएका छन् । 

 

प्रहरी महानिरीक्षक खापुङले सामाजिक सञ्जालमा देखिएका अवाञ्छित गतिविधिहरू, वित्तीय अपराध, साइबर अपराध, लागुऔषध, मानव बेचबिखन, आर्थिक अपराधजस्ता जटिल र संगठित अपराधहरूको अनुसन्धानमा अझ संवेदनशील, विवेकशील र कानुनी रूपमा प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै यसका लागि दक्ष जनशक्तिको विकास, प्रशिक्षण तथा प्रविधिको व्यवस्थापन आफ्नो प्राथमिकता रहेको बताए । प्रहरी कर्मचारीहरूको मूल्यांकनमा कार्यसम्पादनको स्तर, व्यावसायिक दक्षता र संगठनप्रतिको वफादारितालाई प्राथमिकता दिई सोहीअनुरूप वृत्ति विकास र अवसरको उपलब्धता सुनिश्चित गराउन निरन्तर प्रयासरत रहने एवं योग्यतामा आधारित पद्धति र निष्पक्ष प्रक्रियामा प्रहरी कर्मचारीहरूको वृत्ति विकासका लागि आवश्यक थप मापदण्डहरू निर्माण गर्दै लैजाने उनले बताएका छन् । 

प्रहरी महानिरीक्षक खापुङले राष्ट्र र नागरिक सेवामा आफ्नो निजी स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्नु प्रहरी सेवाको मूल मर्म भएको र संगठनले निर्दिष्ट गरेको अनुशासन र व्यावसायिक प्रहरी कर्मचारीको मर्यादाको सीमाभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूविरुद्ध शून्य सहनशीलताको नीति कडाइका साथ लागू गर्न कटिबद्ध रहेको उनको भनाइ छ ।  
 

छुटाउनुभयो की ?