
खानेपानीमन्त्री प्रदीप यादवले आफूलाई फोन गरेर ज्यान मार्ने धम्की दिने किरण साहमाथि कुनै पनि प्रकारको पूर्वाग्रह नराखेको जनाएका छन् । हाल प्रहरी हिरासतमा रहेकी साहमाथि नरम व्यवहार गर्न र उनी पक्राउ पर्नुसँग आफूलाई नजोड्न पनि मन्त्री यादवले अनुरोध गरेका छन् ।
घटनाक्रमसहितको फेसबुक स्टाटसमा मन्त्री यादवले लेखेका छन्, ‘उनले हिंसाको भावना व्यक्त गर्दा यस्तो स्थिति देखिएको हो । फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्न आग्रह गर्दछु ।’ जबकि आफ्नै सचिवालयमार्फत उजुरी दिएर उनले किरणलाई पक्राउ गराएका हुन्। यो कदमको चर्काे आलोचना भएपछि मन्त्री यादवले यसबाट पन्छिने प्रयास गरेका हुन्।
मन्त्री यादवले लेखेको स्टाटस यस्तो छ
वीरगन्ज मेरो जन्मथलो त हुँदै हो, यसका साथै राजनीतिक संघर्ष तथा स्वीकृतिको भूमि हो । पछिल्ला दिनहरूमा यहाँ पहिला खानेपानीको संकट देखा पर्यो । यसको तात्कालिक र दीर्घकालिक समाधानका लागि म संघीय खानेपानीमन्त्रीका रूपमा स्थानीय वीरगन्ज महानगरपालिकासँग सामन्जस्य स्थापित गरी युद्धस्तरमा सक्रिय भएँ । खानेपानी समस्या मधेश प्रदेशमा सघन देखिएको हुनाले प्रदेश सरकारसँग समेत समन्वय गर्न साथै यसको दीर्घकालीन समाधानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग सल्लाह र सहयोग लिएँ ।
खानेपानीको संकट न्यूनीकरणको प्रक्रिया अगाडि बढ्दै थियो कि वीरगन्ज्मा झाडापखाला र हैजाका बिरामीहरू देखिन थाले । म स्वयं जनताबिच पटक–पटक गई तिनका समस्या सुन्ने, असन्तुष्टि बुझ्ने र आमनागरिकका अप्ठ्याराहरूलाई व्यवस्थापन गर्न दिन–रात लागिपरेँ । यसका लागि सम्माननीय प्रधानमन्त्रीसमक्ष भुइँ तहको सूचना साझेदारी, सम्बन्धित संघीय स्वास्थ्यमन्त्री तथा मन्त्रालयसँग समन्वय तथा स्थानीय सरोकारवाला पक्षबिच समन्वयका काम गर्दै रहेँ ।
जनताबिच संघर्ष गर्ने व्यक्ति भएको हुनाले जनताको पीरमर्का बुझ्ने, गुनासाहरूको व्यवस्थापन गर्नु म आफ्नो धर्म ठान्दछु । जनताले सरकारसँग प्रश्न गर्न पाउन् भन्ने मेरो राजनीतिक संघर्षको ध्येय रहिआएको छ । मेरो मोबाइल नम्बरमा आएको फोन कललाई सकेसम्म म उठाउने गर्दछु । सेभ नरहेका नम्बरबाट आएको कलसमेत उठाउने मेरो बानी छ । कुनै प्राविधिक तथा अफिसियल कारणवश फोन उठाउन नसकेको अवस्थामा पछि कलब्याकसमेत गर्ने गरेको छु ।
गत साता मेरो नम्बरमा एक अज्ञात महिलाको फोन आयो, जसमा उनी निकै आक्रोशित रूपमा प्रस्तुत भइन् । मलाई लाग्यो उनकै कथनअनुसार कोही आफन्त बिरामी भएको भएर पीडा पोखिएको होला । तर, उनले गुहार लगाउनुभन्दा ज्यान मार्ने धम्कीसमेत दिएको हुनाले मैले त्यो नम्बरसहितको सूचना पर्सा प्रहरीलाई दिएँ । यसका साथै वीरगन्जका नगरप्रमुख राजेशमान सिंहजी र पर्सा जनस्वास्थ्य कार्यालयका प्रमुखलाई नोट गराएँ । र, यो पनि आग्रह गरेँ, यदि ती फोनकर्ताको कोही आफन्त गम्भीर बिरामी छ भने त्यसमा सक्दो सहयोग पुर्याउने । पछि अस्पतालमा पता लगाउँदै जाँदा थाहा पाइयो वीरगन्जको कुनै अस्पतालमा उनको परिवारका कोही सदस्य भर्ती थिएन ।
यसैबिच ती महिलाले मलाई दिइएको हत्यावाला अडियो आफैँ इडिट गराई सार्वजनिक गराइन् र गरिन् । र, फेरि संयोगले असली अडियो पनि बाहिर आएर आफैँ सत्यतथ्य छर्लंग भयो । पर्सा प्रहरीले आफ्नो अनुसन्धान अगाडि बढाउँदा ती फोनकर्ता हिरासतमा राखिएकी हुन् । मेरो व्यक्तिगत रूप उनीप्रति कुनै पूर्वाग्रह छैन।
एक जनप्रतिनिधिमाथि रिस पोख्नुलाई सामान्य रूपमा लिए पनि अनाहक अफवाह फैलाउने, मार्ने धम्की दिने कार्य उक्त फोनकर्ताबाट भएको हुनाले मेरा हितैषीहरू चिन्तित र चासो लिनु स्वाभाविक हो । ती फोनकर्तालाई उक्साउने वा मेन्टरिङ गर्नेको मनसाय के थियो त्यसको छानबिन प्रहरीले गर्छ नै। कसैलाई बाटो बिराउनबाट जोगाउनु पनि हाम्रो जिम्मेदारी हो । फोनकर्तालाई सच्चिन तथा लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कार्यमा मेरो सहयोग रहनेछ। फोनकर्ता महिलाप्रति नरम भइदिनका लागि सचिवालयमार्फत प्रहरीसमक्ष खबर पुर्याएको छु । आशा छ आजको दिन फोनकर्ता महिलाको लागि फलदायी होला।
समस्या प्रश्न गर्नुमा कदापि होइन । हिंसाको भावना व्यक्त गर्दा यस्तो स्थिति देखिएको हो । फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्नुहोला । कानुनभन्दा माथि कोही हुन सक्दैन र हुँदैन । हामीले विधि र अदालतको निष्पक्षतामाथि विश्वास गर्नुपर्छ । उहाँको अनुसन्धान प्रक्रिया सकेको खबर छ, आशा छ फैसला राम्रो आउनेछ । म फेरि भन्छु– लोकतन्त्रमा जनताले गुनासो पोख्ने छुट छ, तर कुनै पनि निहुँमा अराजकता फैलाउने अनुमति दिन सकिँदैन ।