
दशरथ रंगशालामा दुई वर्षपछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै छ । आगामी २१ र २४ भदौमा नेपाल र बंगलादेशबिच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ । एसियन फुटबल महासंघ (एएफसी)ले खेल्न अयोग्य भनेको मैदानमा फिफाको आधिकारिक खेलमा नेपालका स्ट्राइकर अञ्जन विष्ट भने नयाँ कीर्तिमान बनाउने अभियानमा हुनेछन् । बंगलादेशविरुद्ध गोल गर्दा उनी नेपाली फुटबल इतिहासकै सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने स्ट्राइकर बन्नेछन् । नीराजन रायमाझी र हरि खड्कासँगै उनले संयुक्त रूपमा सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । राझमाझी र खड्कासँगको कीर्तिमान बराबरी गर्न उनले राष्ट्रिय टोलीबाट ६६ खेल खेलेका छन् ।
दुई वर्षदेखि अञ्जन राष्ट्रिय पुरुष टोलीबाट सर्वाधिक गोल गर्ने अभियानमा थिए, तर यस अवधिमा एक गोल पनि गर्न सकेनन् । ०८० असोजमा उनले १३ अन्तर्राष्ट्रिय गोल पुर्याएका थिए । यसबिचमा उनले म्यानमारविरुद्ध पेनाल्टी अवसर गुमाउँदा रेकर्ड बनाउन पाएनन् ।
नेपाली टोलीका लागि जुमानु राई, अनिल गुरुङ, भरत खवास, विमल घर्तीमगर कुनै समय १३ गोलको आसपास पुगेका थिए, तर कसैले पनि रायमाझी र खड्काको रेकर्ड बराबरी गर्न सकेनन् । विमल पछिल्लो समय फुटबलबाट बाहिर छन् । जुमानु र अनिलले सन्न्यास लिएका छन् ।
यसपटक घरेलु मैदानमा रेकर्ड बनाउन तयार भएको अञ्जनले बताएका छन् । ‘अन्तर्राष्ट्रिय गोल नगरेको दुई वर्ष भइसकेको छ । अब घरेलु मैदानमा अवसर आएको छ,’ उनले भने, ‘यसपटक अधुरो सपना पूरा गर्नेछु, नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्नेछु ।’ अञ्जन लगातार १५ अन्तर्राष्ट्रिय खेलमा गोल
गर्न सकेका छैनन् ।
सन् २०१४ मा डेब्यु
एन्फा एकेडेमीका अञ्जनले नेपाली राष्ट्रिय टोलीबाट ३१ अक्टोबर २०१४ मा डेब्यु गरेका थिए । ज्याक स्टेफानोस्कीले फिलिपिन्सविरुद्ध दोहामा भएको मैत्रीपूर्ण खेलमा उनलाई सन्दीप राईको स्थानमा मैदानभित्र पठाएका थिए । प्रतिस्पर्धाको ६१औँ मिनेटमा अञ्जनले राष्ट्रिय टोलीबाट डेब्यु गरे । सो खेलमा नेपाल ३–० ले पराजित भएको थियो । अञ्जनले आफ्नो २९औँ क्याप पूरा गर्दा विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध दुई गोल गरेका थिए । त्यसअघि उनी २८ खेलमा गोलविहीन थिए । अञ्जनले एक मात्रै ह्याट्रिक बंगलादेशविरुद्ध गरेका थिए । अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा ०७८ जेठमा उनले इराकविरुद्ध पनि गोल गरेका थिए ।
एन्फा एकेडेमीदेखि बंगलादेश लिगसम्मको अनुभव
अञ्जनले नेपालको उमेर समूहबाट पनि खेलिसकेका छन् । उनले नेपाललाई यू–१९ साफ च्याम्पियनसिप उपाधि दिलाए । एन्फा एकेडेमीबाट फुकुवा भएपछि उनी दाजु रञ्जन विष्टआबद्ध एपिएफ क्लबसँग जोडिए । एपिएफपछि उनले लामो समय नेपालकै सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीबाट खेले । यस अवधिमा उनले युरोपमा प्रशिक्षणको अवसर पाए । पछिल्लो समय चर्च ब्वाइज युनाइटेडमा आबद्ध भए । ‘ए’ डिभिजन लिगमा डेब्यु गरेको सिजनमै चर्च ब्वाइजलाई उपाधि दिलाउन अञ्जनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विदेशी लिगको अनुभवमा उनले भारतको मुम्बई केंक्रेबाट खेलेका थिए । केही समयअघि उनले भारतकै रियाल कस्मिरबाट डुरान्ड कपमा सहभागिता जनाए
सुनौलो अवसर हो : अञ्जन विष्ट, खेलाडी, नेपाल राष्ट्रिय टोली
पछिल्लो समय आफूलाई लयमा राख्न सकिरहेको छैन । विदेशी भूमि र घरेलु मैदानमा प्रतिस्पर्धा गर्नुमा धेरै फरक छ । दशरथ रंगशालामा खेल्नुको मजा नै अर्को हुन्छ । दुई वर्षदेखि नेपालका लागि गोल गर्न सकेको छैन । अहिले रेकर्ड बनाउने सुनौलो अवसर छ । नियमित घरेलु प्रतियोगिता नहुँदा गाह्रो भएको छ । फुटबल नभएकै कारण धेरै खेलाडी बिदेसिए । लिग भए राम्रो हुने थियो ।