
न्युरोड टिम (एनआरटी) राष्ट्रिय महिला फुटबल लिगनजिक पुगेको छ । बुटवल लुम्बिनी एफसीमाथि २–० को जित निकाल्दै एनआरटी एन्फा राष्ट्रिय लिगको छनोटनजिक पुगेको हो । समूह ‘बी’अन्तर्गत च्यासल मैदानमा बुधबार भएको खेलमा एनआरटीलाई जित दिलाउन जुना तामाङ र प्रतीक्षा चौधरीले गोल गरेका थिए ।
जितसँगै एनआरटीले पाँच खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा आफ्नो पकडलाई बलियो बनाएको छ । यसअघि नै समूह ‘बी’बाट संकटा राष्ट्रिय लिगमा छनोट भइसकेको छ । छैटौँ चरणको खेलमा तेस्रो स्थानमा रहेको झापा एफसीले बराबरी खेले एनआरटी यस समूहबाट राष्ट्रिय लिगमा छनोट हुने दोस्रो टोली बन्नेछ । पाँच खेलबाट झापाले ९ अंक जोडेको छ ।
चर्च ब्वाइज स्तब्ध
राष्ट्रिय लिगमा छनोट हुन १ अंक मात्र आवश्यक रहेको चर्च ब्वाइज युनाइटेडले स्तब्ध नतिजा व्यहोरेको छ । राप्ती फुटबल क्लबले चर्च ब्वाइजलाई २–१ ले हरायो । चर्च ब्वाइजलाई हराउन राप्तीकी मनीषा सेनले गोल गरेकी थिइन् । राप्तीले एक गोल आत्मघाती पाएको थियो । चर्च ब्वाइजविरुद्धको जितसँगै राप्ती शीर्ष स्थानमा उक्लिएको छ ।