
बागमती प्रदेश सरकारले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको ‘जिब्रो छेड्ने जात्रा’ प्रवर्द्धनका लागि सहभागीलाई उपचार सहायता र प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ। संस्कृति तथा पर्यटन मन्त्रालयको निर्णयअनुसार, वर्षमा दुईपटक आयोजना हुने ‘येंया पन्हिया मेय् प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा)मा जिब्रो छेड्ने व्यक्तिलाई स्वास्थ्य उपचार र परम्परा निरन्तरताका लागि प्रोत्साहन रकम प्रदान गरिने भएको हो ।
प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठका अनुसार, जिब्रो छेड्ने परम्परामा सहभागी हुने व्यक्तिको संख्या क्रमशः घट्दै गएकाले यो परम्परा लोप हुने संकट देखिएको छ । ‘इतिहासमा जरो गाडेको यो परम्परा रोग–व्याधि टर्ने, बालीनाली सप्रिने र प्राकृतिक विपत्तिबाट जोगिने जनविश्वाससँग जोडिएको छ,’ मन्त्री श्रेष्ठले भने।
मन्त्रालयले चालू आर्थिक वर्षको बजेटबाट उक्त कार्यक्रमका लागि दुई लाख रुपैयाँ व्यवस्था गरेको छ। प्रोत्साहन रकमलाई दीर्घकालीन दायित्वसँग जोडिने भएकाले प्रस्तावलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भइसकेको मन्त्री श्रेष्ठले बताए।
उनका अनुसार आर्थिक अभाव र सहभागीको कमीका कारण संकटमा परेको यो जात्रालाई ‘लोपोन्मुख सांस्कृतिक सम्पदा’को रूपमा संरक्षण गर्दै निरन्तरता दिन मन्त्रालयले विशेष पहल थालेको हो ।