
बागमती प्रदेशमा लम्पी स्किन रोग नियन्त्रणका लागि सञ्चालन गरिएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत हालसम्म ९६ हजार ३४७ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ । गाई-भैँसीमा छालामा गाँठा वा फोका देखिनु, उच्च ज्वरो आउनु, दुध उत्पादनमा गिरावट आउनु, शरीर सुन्निनु र जनावर अशक्त देखिनेजस्ता लक्षण देखिने यो रोग पछिल्लो समय चितवनमा तीव्र रूपमा फैलिएको छ । यसको जोखिम न्यूनीकरणका लागि अभियान ललितपुरबाट सुरु गरी क्रमशः अन्य १३ जिल्लामा विस्तार गरिएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलका अनुसार सिन्धुलीमा १० हजार ३२८, रामेछापमा चार हजार ४३७, काठमाडौंमा चार हजार ३५०, ललितपुरमा तीन हजार ६०६, भक्तपुरमा एक हजार ५४३, धादिङमा ६ हजार ५१ गाई-भैँसीमा खोप लगाइएको छ । यस्तै, काभ्रेपलाञ्चोकमा सात हजार ६९८, नुवाकोटमा सात हजार ७२४, रसुवामा तीन हजार ६३४, दोलखामा नाै हजार ९८२, सिन्धुपाल्चोकमा ६ हजार २८४, चितवनमा ६ हजार १५ र मकवानपुरमा सबैभन्दा बढी २४ हजार ६९५ गाई–भैँसीलाई खोप लगाइएको छ ।
मन्त्रालयकाे तथ्यांकअनुसार बागमती प्रदेशमा ६ लाख ९४ हजार २१७ गाई र पाँच लाख ४९ हजार १८२ भैँसी छन् । ती पशुहरूले वार्षिक चार लाख ८१ हजार ७७१ टन दुध उत्पादन गर्ने गर्छन् । चितवनमा मात्रै ९२ हजार २५६ गाई र ७२ हजार दुई सय भैँसी रहेको मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष ०८०/८१ मा प्रदेशभर लम्पी स्किन रोगका कारण ११ हजार २१८ गाई–भैँसीको मृत्यु भएको थियो । त्यस्तै, ३७ हजार ८९ संक्रमित भएका थिए भने दुई लाख ५६ हजार ७५९ पशु प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित भएका थिए । यसअघि नै दुई लाख ४५ हजार २२२ गाई–भैँसीलाई खोप लगाइसकिएको र अभियान अझै जारी रहेको मन्त्री पौडेलले बताए ।