
तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधानलाई चेतावनी दिएको अर्को दिन नै एसियन ओलम्पिक काउन्सिल (ओसिए)ले तदर्थ समितिकै सदस्यद्वय नीलेन्द्रराज श्रेष्ठ र रवि राजकर्णिकारलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ।
नीलेन्द्र नेपाल ट्रायथलन संघका र रवि नेपाल एक्वेस्ट्रियन संघका अध्यक्ष हुन्। दुवैलाई अन्तर्राष्ट्रिय मान्यता पनि छ। तर, २८ अगस्टमा ओसिए कार्यकारी बोर्डको एथिक्स कमिटीको निर्णयले दुई पदाधिकारीलाई तत्काल निलम्बन गर्ने निर्णय गरेको पत्र सार्वजनिक भएको छ।
ओसिएले दुवैको नाममा पत्र काटेको छ। पत्रमा आगामी दुई वर्षसम्म ओसिएसँग सम्बन्धित कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने जानकारी गराएको हो।
यस निर्णयबारे दुईजनासँगै जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटी र सम्बन्धित खेल संघलाई पनि बोधार्थ गरी पत्र लेखिएको छ। अघिल्लो दिन मात्रै ओसिएले प्रधानलाई आफ्नो निर्णय सच्याउन निर्देशन दिँदै अन्यथा कानुनी कारबाही गर्ने निर्णय गरेको थियो।
नेपाल ओलम्पिक कमिटी (एनओसी)को विधान संशाेधन गर्दै गत पुसमा जीवनराम श्रेष्ठ तेस्रोपटक अध्यक्ष भएपछि नेपाल सरकार सन्तुष्ट छैन। यसपटक एनओसीको भवनमा ताला लगाइएको थियो। यस्तै, जीवनराम श्रेष्ठ र राजीव श्रेष्ठ महासचिव रहेको कमिटीलाई सरकारले मान्यता दिएको छैन।
तर, दुवैलाई अन्तर्राष्ट्रिय मान्यता छ। सरकारले यो कमिटीका पदाधिकारीलाई विदेश भ्रमणमा समेत रोकेको छ।