
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे पार्टीले लिएको निर्णयमा आगामी विधान महाधिवेशनमा पनि स्वाभाविक रूपमा आफ्नो फरक मत रहने बताएका छन् ।
सोमबार काठमाडौँमा सञ्चारकर्मीसँगको अन्तर्संवादको क्रममा उनले संविधानले रोक्दै नरोकेको विषयलाई पार्टीले विधान बनाएर रोक्न नमिल्ने जिकिर गरे ।
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा पछिल्लोपटक बसेको एमाले केन्द्रीय कमिटी बैठकले रोक लगाएको थियो । पार्टीको उक्त निर्णयमा पाण्डेले फरक मत दर्ज गरेका थिए । पार्टी अपानिमा उक्त मत सर्कुलर नभएपछि उनले पार्टीमा पुनः स्मरण गराएका थिए ।
केन्द्रीय कमिटी बैठकमा आफूले फरक मत राखेको र उक्त विषय आगामी विधान महाधिवेशनमा पनि राख्ने बताए ।
‘पछिल्लो केन्द्रीय कमिटी बैठकमा मसहित अरू नेताहरूले फरक मत राख्नुभयो । त्यसलाई तत्कालै भिन्न मतको रूपमा माइन्युट लेखन लेख्ने टोलीलाई दियौँ । त्यो अपानिमा सर्कुलर भएन भनेपछि युवराज ज्ञवाली र म संयुक्त रूपमा छलफल गरेर पार्टीमा प्रस्तुत गरेका छौँ,’ पाण्डेले भने, ‘स्वाभाविक रूपमा आगामी विधान अधिवेशनमा हाम्रो यो फरक मत रहन्छ । आउँदो महाधिवेशनको विषयमा पनि हामी उठाउनेछौँ ।’ संविधानले कुनै पनि व्यक्तिलाई पार्टी सदस्य बन्न रोक नलगाएको भन्दै उनले यस्तो बताएका हुन् ।