
वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले महानगरपालिकामा देखिएको हैजा र झाडापखाला पानी पिउँदा नफैलिएको दाबी गरेका छन् ।
आइतबार नारायणी अस्पतालमा भएको छलफलमा नगरप्रमुख सिंहले बाराको एकजना किसानले वीरगन्जमा बेच्न ल्याएको तरकारीबाट सरेको दाबी प्रस्तुत गरेका हुन् । ‘पानीको परीक्षण नेगेटिभ आएको छ, १० वटा बोरिङको पानीलाई लिएर महानगरको ल्याबमा पानी परीक्षण भएको छ, सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने, ‘यो वीरगन्जको पानीबाट फैलिएको छैन ।’ उनले तरकारीबाट नै फैलिएको पटक–पटक दाबी गरे । उनका अनुसार झाडापखाला र हैजा अर्गानिक तरकारीबाट फैलिएकाले यसमा रोकथामको काम भइरहेको अवस्था छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सर्वसाधारण सचेत भइदिने हो भने हैजा शतप्रतिशत रोक्न सकिने रोग भएको बताए ।
कम्तीमा पाँच मिनेट पानी उमालेर पिउने, क्लोरिन ट्याब्लेट हालेर शुद्धीकरण गरेर मात्र प्रयोग गर्ने, चामल तथा तरकारी पखाल्नसमेत शुद्धीकरण गरिएको पानी प्रयोग गर्ने बानी गर्नुपर्ने बताए ।
साबुनपानीले हात धुने, संक्रमण देखिए झोलिलो पदार्थ सेवन गर्ने, जीवनजल पिउने र बान्ता भएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा जाने हो भने हैजाबाट जोगिन सकिने उनकाे भनाइ छ ।