मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १४ शनिबार
  • Saturday, 30 August, 2025
लोकेश साउद सुदूरपश्चिम
२o८२ भदौ १४ शनिबार ११:४३:oo
Read Time : > 7 मिनेट
फिचर प्रिन्ट संस्करण

गौरा : सुदूरपश्चिमको उमंगको पर्व

Read Time : > 7 मिनेट
लोकेश साउद, सुदूरपश्चिम
नयाँ पत्रिका
२o८२ भदौ १४ शनिबार ११:४३:oo

सुदूरपश्चिमको धार्मिक एवं सांस्कृतिक पर्व गौराको कथा थोरै मात्र वैदिक विधिमा, धेरै गायनमा आधारित छ । पञ्चमीको दिनदेखि अष्टमी अर्थात् अठेवालीसम्म महिलाले लोकलयमा ‘गौरीगाथा’ गाउँछन् । गौरापर्व शुभशब्द ‘सगुन’ गाएर शुभारम्भ हुन्छ । विविध लय गाउँदै गौराको कथा अघि बढ्छ । जब गौरा सेलाउने (समापन गर्ने) समय आउँछ, त्यो वेला गाइने भाका निकै विरहपूर्ण हुन्छ । यसले धेरैलाई भावुक बनाउँछ ।

भगवान् शिव र गौरी (पार्वती)को गाथा गाउने र निश्चित विधिअनुसार मनाइने पर्व नै गौरापर्व हो । लोकगायन र मौलिक विधिमा आधारित यो पर्वलाई सुदूरपश्चिमेलीको उल्लासको पर्वको रूपमा लिइन्छ । उत्तरार्धतर्फ लागिरहेको वर्षामा महिलाहरू फुर्सदिला हुन्छन् । दसैँ, तिहारभन्दा अघिको समयमा गौरापर्वको रौनक सुरु हुन्छ ।

दशरथचन्द नगरपालिका ९ को भट्टाडमा लाग्ने गौरा पर्व 

गौरापर्व कम्तीमा चार दिनदेखि हप्ता, दश दिनसम्म मनाइन्छ । गौरादेवीको प्रतिमा सेलाएर गौरा विसर्जन गर्नुभन्दा पहिले फाग, सगुन, चैत, ढुस्को, धुमारीदेखि देउडासम्मका रैथाने भाकाले सुदूरपश्चिमका पहाडी गाउँ गुञ्जायमान बन्छन् । गौरापर्व सुदूरपश्चिम मात्रै होइन, कर्णालीदेखि भारतको कुमाउसम्म फैलिएको छ । पछिल्ला दिनमा सुदूरपश्चिमेलीहरू जहाँ–जहाँ बसाइ सरेर गएका छन्, त्यहाँ–त्यहाँ गौरापर्व स्थानान्तरण हुँदै गएको छ ।

पतिको दीर्घायु र सामाजिक सद्भावको पर्वको रूपमा मनाइने गौरालाई नारी प्रधान प्रथाको रूपमा लिइन्छ । गौरापर्वका सुरुवाती चार दिन महिलाहरूको सर्वोच्च भूमिका रहन्छ । यसपालिको गौरा भाद्र शुक्लपक्षमा परेको छ । कहिले भाद्र कृष्णपक्षमा पर्न जान्छ । कृष्णपक्षमा पर्ने गौरालाई अनेरी (अँध्यारी) गौरा र शुक्लपक्षको गौरालाई उजेली (उज्याली) गौरा मान्ने चलन रहेको सुदूरपश्चिमको सांस्कृतिक क्षेत्रका अध्येता कैलाश पाण्डेय बताउँछन् ।

गौरापर्व पञ्चमीबाट सुरु हुने भए पनि अष्टमी यो पर्वको मुख्य दिन मानिन्छ । उनका अनुसार भाद्र शुक्ल अष्टमीमा पर्ने उजेली गौरामा विवाहित महिलाले पहिलोपटक व्रत बस्ने नियम छ । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि गौरा मनाउन पाइँदैन । 

दशरथचन्द नगरपालिका ४ देवलघाटमा गौराको प्रतिमा नचाउँदै महिलाहरू

पञ्चबिरुडी
पञ्चमीको दिन पञ्चबिरुडी भिजाएर विधिवत् रूपमा गौरापर्वको सुरुवात हुन्छ । गहुँ, मास, गहत, गुरौंस र केराउ गरी पाँच अन्न भिजाएर बिरुडा तयार पारिन्छ । बिरुडा भिजाउने पञ्चमी भएकाले यसलाई बिरुडापञ्चमी पनि भन्ने गरिन्छ । यसपालिको बिरुडापञ्चमी, अर्थात् गौरापर्वको सुरुवात बिहीबारदेखि भएको छ । गौरापर्वमा हरेक कार्य सामूहिक रूपमा गरिन्छन् । सोहीअनुसार बिरुडा भिजाउँदा सामूहिक रूपमा भिजाइन्छ र मंगलगानको रूपमा सगुन गाइन्छ । भिजाएको बिरुडालाई घरको छुट्टै कोठामा राख्ने चलन छ ।

फाग, सगुन र लोकगाथा
विवाह, व्रतबन्ध तथा अन्य धार्मिक कार्यमा गाइने सगुनभन्दा गौरापर्वको शुभमुहुर्त हुँदा गाइने सगुनको लय भिन्न हुन्छ । यो लय गौराका अन्य लोकलयसँग मेल खाने खालको हुने दशरथचन्द नगरपालिका–५ की लीलावती भट्ट बताउछिन् । दशरथचन्द नगरपालिका–५ अला गाउँमा मनाइने गौरामा उनको नेतृत्वदायी भूमिका रहन्छ । गौरापर्वमा गाइने लोकगाथाहरूको पुस्तिकासमेत प्रकाशन गरेर भट्टले नयाँ पुस्तालाई प्रशिक्षण दिँदै आएकी छिन् ।

उनका अनुसार पञ्चबिरुडी भिजाउने क्रममा गौरादेवीले महेश्वर (शिव)सँग बिरुडा भिजाउने सल्लाह गरेको प्रसंगबाट फाग गायन सुरु हुन्छ । जसअनुसार घरमा पञ्चबिरुडीका लागि आवश्यक अन्न उपलब्ध नभएपछि खोजेर ल्याउन भन्दै पार्वतीले शिवलाई मथुरानगरीमा पठाउँछिन् । शिवले त्यहाँ पञ्चबिरुडीका लागि चाहिने अन्न फेला पार्दैनन् । उनी कन्हैयानगरीमा जान्छन् । कन्हैयानगरीमा केराउबाहेकका सबै अन्न पाउँछन् र मागेर घर लिएर आउँछन् । तर, जेठो अन्न केराउ नै नपाएपछि शिव र पार्वतीबिच मनमुटाव सुरु भएको प्रसंग गायनमा आउँछ ।

केराउविना पञ्चबिरुडी अधुरै रहने भएपछि गौरी केराउ उमार्न आफैँ लेकतर्फ जान्छिन् । कलिया लुहारसँग सहयोग माग्छिन् । अर्का पात्र दामोदर भैयासँग मिलेर त्यहाँ उनले केराउ फलाउँछिन् । केराउ फल्ने वेला शिव फरक रूप धारण गरेर माग्न जान्छन् । तर, गौरीले सबैभन्दा पहिला भूमिराजलाई चढाउने, त्यसपछि शिव भगवान्लाई दिने कुरा बताउँछिन् । त्यसपछि अन्य देवी–देवतालाई पञ्चबिरुडी दिएपछि मात्र सर्वसाधारणलाई दिन मिल्ने कुरा लोकगायन ‘फाग’मा गाउँदै बिरुडा भिजाउने चलन रहेको भट्टले बताइन् ।

दशरथचन्द नगरपालिका– १ गुरुखोलामा ढोलक बजाएर गौराको चैत खेल्दै

पौराणिक कथामा जोडिएको पर्व
पौराणिक कथालाई गौरापर्वले सुदूरपश्चिमको समाजसँग दुरुस्तै जोडिदिएको छ । ‘गौरापर्वमा पार्वतीले महादेवको दीर्घायुका लागि व्रत बस्ने गर्छिन् । यता सुदूरपश्चिमेली महिला आफूलाई पार्वतीको रूपमा अभ्याएर आफ्ना पतिलाई महादेवको स्थानमा राख्छन्,’ पण्डित गणेश प्रशाद पन्त भन्छन्, ‘गौरापर्वको पौराणिक कथामा पार्वतीले जे–जे गर्छिन्, त्यही–त्यही कर्म गर्दै महिलाले गौरापर्व अघि बढाउँछन् ।’

षष्ठीमा पञ्चबिरुडी धुने गरिन्छ । घरको एउटा कोठामा तामाको भाडामा राखिएको बिरुडालाई धारा, पधेरा तथा न्वाला (कुवा)मा गएर धोइन्छ । यो वेला विभिन्न लोकलयमा शिव–पार्वतीका गाथा गाइन्छन् । पार्वती रिसाएर माइत जानेदेखि शिव–पार्वतीबिच हुने उतारचढावका प्रसंग गौरादेवीको लोकगायनमा समेटिएका छन्।

बिरुडा धुने वेला गंगा, सञ्जा, पार्वती गरी तीन देवीको गाथा गाइन्छ । जेठी गंगालाई न्वालामा पूजन गरिन्छ । सञ्जेवेला अर्थात् साँझ पूजन हुने देवी सञ्जा हुन् । उनका लागि गाइने लोकगायन सञ्जेवाली (साँझ गाइने) हो । ‘जसो गरी बालो हाँस, बुढो कास तइघर सञ्जेवाली आस...’, अर्थात् ‘जुन घरमा बालबालिका हाँस्छन्, बुढापाका खोक्छन्, त्यो घरमा सञ्जेवाली आउँछिन् ।’ सञ्जेवालीको एक हरफ सुनाउँदै भट्ट भन्छिन् । अष्टमीमा आएर पूजन हुने देवी पार्वती (गौरी) हुन् ।

सप्तमीमा महिलाहरू खेतमा गएर धान, बलु, कुस, दुबो, साउ, तिल, पातीजस्ता बिरुवा संकलन गर्छन् । ती बिरुवालाई गोरेडालोमा राख्दै शृंगारपटार गरेर गौरीको प्रतिमा तयार पारेर गौरा भित्र्याइन्छ । गौरापर्वका हरेक कार्य अघि बढ्दै जाँदा भिन्नाभिन्नै खालका लोकगायन सुन्न पाइन्छ ।

बिरुडा धुने वेलामा कौरव र पाण्डवबिच जुवा खेलिएको प्रसंग आउँछ । यो निकै मिठो लयमा गाउने गरिन्छ । शिव र पार्वतीको गाथामा कसरी महाभारतको प्रसंग आयो त ? ‘द्रोपदीले पनि गौरापर्वको व्रत बसेकी थिइन्,’ लीलावती भट्ट प्रस्ट्याउने प्रयास गर्दै भन्छिन्, ‘त्यही कथासँग जोडिएर कौरव र पाण्डवको युद्धको गाथा पनि जोडिएको हुन सक्छ । हामीले पनि पूर्वजबाट सुन्दै आएका हौँ ।’

गौरापर्वमा विवाहित महिला दुबधागो लगाउँछन् । दुबधागो लगाउने महिला पञ्चमीदेखि नै व्रत बस्छन् । त्यो वेला गाइने फाग सुनाउँदै भट्ट भन्छिन्, ‘नाइ धोइ, नाइ धोइ वर बसिन्, देवी क्यौ वर माग ? नाइ धोइ नाइ धोइ वर बसिन्, देवी पुत वर माग...।’ जसको अर्थ नुहाइधुवाइ गरेर देवी के वर माग्छ्यौ, नुहाइधुवाइ गरेर देवी पुत (पुत्र) वर माग्नु भन्ने हुन्छ । 

‘ऐतिहासिक सुदूरपश्चिमेली समाज’ नामक पुस्तकमा व्यासाचार्य खेमराज ओझाले उल्लेख गरेअनुसार सप्तमीको दिन दुबधागोलाई गौराको प्रतिमामा बाँधेर पूजाआजा गर्दै गौरा भित्र्याइन्छ । भोलिपल्ट विधिवत् नियमअनुसार अष्टमीका दिन गौरालाई गोरेखलो (गौरा सार्वजनिक गर्ने ठाउँ)मा ल्याएर अठेवाली गायनका साथ नचाउने गरिन्छ ।

अठेवाली

देवलघाटमै गौराको अठेबाली समापनका क्रममा 

ज्योतिषाचार्य पण्डित पन्तका अनुसार शिव पुराणको सारांश महिलाले गाउने अठेवालीमा समेटिएको हुन्छ । अठेवालीका आठ खण्ड अर्थात् आठ भाग गाउने गरिन्छ । पञ्चबिरुडीले गौरीको प्रतिमा पूजन गर्दै अठेवालीमा पार्वतीको जन्मदेखि महादेवसँग विवाह र गणेश भगवान्को जन्मसम्मको गाथा गाइन्छ । हरेक गाउँमा रहेका गोरेखलामा गाउँभरिका महिलापुरुष नयाँ लुगा लगाएर अठेवाली गाउने र सुन्ने गर्छन् ।

साँझपख अठेवाली समापनतर्फ जान्छ । यस क्रममा फल फड्काउने (फलफूल आकाशतर्फ फाल्ने) चलन हुन्छ । सुदूरपश्चिमको लोक संस्कृति र लोक साहित्य नामक पुस्तकमा लेखक जयबहादुर चन्दले उल्लेख गरेअनुसार कागती, सुन्तला, अनार, केराजस्ता फलफूल दुईजनाले कपडामा राखेर आकाशतर्फ फाल्छन् । त्यसवरपर भएका सबैले ती फल आकाशमै समात्ने प्रयास गर्छन् । त्योसँगै पञ्चबिरुडी पनि आकाशतर्फ फालिन्छ । जसको हातमा बिरुडा र फल पर्‍यो, उसलाई शुभ हुने मान्यता रहेको छ । अठेवाली समापनपछि महिलाले दुबधागो लगाउँछन् । 

दुबधागो 
सामान्यतया विवाहित र अविवाहित महिलालाई सिन्दुर लगाएको वा नलगाएको आधारमा छुट्याउने गरिन्छ । तर, गौरा संस्कृति विद्यमान रहेको सुदूरपश्चिम क्षेत्रमा दुबधागो हेरेर थाहा हुन्छ । घाँटीमा लगाइने बहुरंगी धागोको झुप्पा नै दुबधागो हो । यो विवाहित महिलाले मात्र लगाउँछन् ।

अमुक्ताभरणी सप्तमीमा दुबधागोलाई गौरादेवीको प्रतिमामा बाँध्ने गरिन्छ । अर्को दिन अठेवाली सकेर महिलाले पहिरिन्छन् । ‘विवाहित महिलाले गौरामा अभिषेक गरिएको दुबधागो लगाउनुपर्छ । सप्तर्षिको प्रतीकका रूपमा सात डोरो भएको ‘सप्तमी’ पनि दुबधागोसँगै लगाइन्छ । यो पुरुषहरूले जनै धारण गरेजस्तै हो ।’ वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका पीठाधीश्वरसमेत रहेका पन्त भन्छन्, ‘रातो, कालो र पहेंलो रङको धागोको प्रयोग गरी विधिपूर्वक तयार पारिएको डोरी दुबधागो हो ।’ 

दुबधागोसँगै लगाइने सप्तमी सात गाँठो पारेर तयार पारिन्छ । सातवटा गाँठोलाई सात देवी, सप्तर्षि वा सप्तमन्त्रको प्रतीकका रूपमा मानिने पन्तको भनाइ छ । उनका अनुसार पहिलोपटक दुबधागो लगाउने महिलाका लागि उजेली गौरा शुभ मानिन्छ । उनीहरूलाई नौली गोरिया भन्ने गरिन्छ । एकपटक लगाइसकेपछि दुबधागो प्रत्येक वर्ष अनिवार्य रूपमा लगाउनुपर्ने चलन छ ।

दशरथचन्द नगरपालिका– १ गुरुखोलामा गौरा पर्व मनाइँदै 

दुबधागोले विवाहित भएको मात्र होइन, छोरीलाई कर्मघरका लागि सांस्कृतिक रूपमा स्वीकार्य बनाउँछ । ‘दुबधागो लगाएपछि नवविवाहिता शुद्ध हुने र ऊ अरू परिवारका सदस्यजस्तै जिम्मेवार तथा परिपक्व भएको मानिन्छ । त्यसपछि परिवार समाजका लागि उसको हातको भान्सा चल्ने भन्ने हुन्छ,’ पन्त भन्छन् ।

दुबधागो पहिरिएपछि महिलाहरू आफन्तजनको शिर पञ्चबिरुडीले पुज्ने गर्छन् । सुदूरपश्चिमको लोक संस्कृति र लोक साहित्य नामक पुस्तकमा चन्दले उल्लेख गरेअनुसार यो क्रममा ‘बाघजति बलियो भएइ, केराकी जसी राइ होइझाउ, हिमाञ्चलको हिउँ छन्ज्यासम्म बाँचिरहे...’ जस्ता आशीर्वचन भन्ने गरिन्छन् । कतिपय ठाउँमा दुबाकी जसी चौँड होइझौं (दुबोजस्तै फैलिनु) हिमालय हिउँ छन्ज्यासम्म बाँचिरएई (हिमालमा हिउँ छदासम्म बाँच्नु) जोलाखाट सिन पाएई, जोला पुत पाएई (जोडी खाटमा सुत्नु, जोडी पुत्रलाभ होस्) जस्ता आशिष दिने गरिन्छ । सन्तान सुख, लामो आयु, स्वास्थ्य लाभको कामनासहित महिलाले आफन्तलाई आशीर्वाद दिने चलन छ ।

बिरुडा ग्रहणका लागि टाढाबाट आफन्त आउने गर्छन् । पूजाआजाबाट बचेको बिरुडालाई पकाएर प्रसादको रूपमा खाने चलन छ । टुसाएर उम्रिन लागेको पञ्चअन्न मिश्रित बिरुडा स्वादिष्ट र स्वास्थ्यका लागि लाभदायी मानिन्छ ।

पुरुषका लोकगाथा  
अठेवालीको समापनसँगै महिलाको भूमिका सकिन्छ । त्यसपछि गोरेखलामा पुरुषले ठाडो खेल, चैत, ढुस्को, धुमारी खेल्दै रमाइलो गर्छन् । विभिन्न देवीदेवता, वीर–वीरंगानादेखि रामायण, महाभारतका कथामा आधारित लोकगाथा गाउने अर्का पण्डित ईश्वरप्रसाद जोशी बताउँछन् । यसमा खुट्टाका पाइला, लय, हाउभाव एकनास मिलाएर खेल्नुपर्ने हुन्छ । ठाडोखेल र चैतका बिचबिचमा आउने रमाइला प्रसंग र चाखलाग्दा नृत्य ढुस्को, धुमारी हुन् । ढुस्को, धुमारी खेलेको हेर्न टाढाटाढाबाट समेत मानिस आउने गर्छन् । ‘अठेवालीपछि गौरा नसेलाउँदा (समापन नहुँदा)सम्मका दिनमा पुरुषले गाउने लोकगाथासहित गौरापर्वअगाडि बढ्छ,’ जोशी भन्छन्, ‘मुख्य गोरेखलोबाहेक छेउछाउतर्फ महिला देउडा खेल्दै रमाइलो गर्छन् । दिनभरि परम्परागत लोकगाथा गाइन्छ भने साँझ देउडा सुरु हुन्छ ।’ देउडा भाकामा देउडियाको दोहोरी चल्छ । कतिपय ठाउँमा देउडा प्रतियोगिता नै सञ्चालन हुने गर्छन् । ठाउँअनुसार फरक–फरक लोकगाथा र भिन्न–भिन्न देउडा भाका गाइन्छन् । पछिल्ला दिनमा माओवादीको सशस्त्र द्वन्द्व तथा राजनीतिक परिवर्तनका घटनालाई समेत लोकगायनमा उतारिएको शिक्षक दीपेन्द्र साउद बताउँछन् ।

सहरतिर फैलिँदै गौरा, लोप हुँदै मौलिकता
पन्तका अनुसार दुई हजार वर्षपहिले राजा विक्रमादित्यबाट गौरापर्वको सुरुवात भएको अनुमान गरिन्छ । सनातनी हिन्दु धर्ममा पुरुषले जनै धारण गर्नैपर्ने मान्यता छ । जुन समाजमा जनै धारण गरिन्छ, त्यो समाजका महिलालाई दुबधागो अनिवार्य हुन्छ, जो गौरापर्वबाट प्राप्त हुन्छ । सुदूरपश्चिमेली समाजको एक महत्वपूर्ण हिस्सा जोडिएको गौरापर्व एकातिर गाउँबाट सहर हुँदै संसारभर फैलिएको छ ।

बसाइँसराइका कारण जताजता सुदूरपश्चिमेली पुगेका छन, त्यहाँत्यहाँ गौरा र देउडा पुगेको छ । पछिल्ला वर्षमा गौराको साम्राज्य देशको राजधानीसम्म मात्रै होइन, युरोपदेखि अमेरिकासम्म फैलिएको छ । तर, यसको मौलिकता भने जोखिममा पर्दै गएको छ । देउडा खेल्दै रमाइलो गर्नेबाहेक वैदिक विधि र लोकगाथा ओझेलमा परेका छन् ।

युवापुस्तामा मौलिक परम्पराको रुचि कम हुनु, गौरापर्वमा गाइने लोकगाथा पुस्तान्तरण नहुनुले गौरापर्वका लोकगाथालाई संकटमा पारेको दशरथचन्द नगरपालिका–८ का युवा हिम्मत चन्द बताउँछन् । ‘बसाइँ सरेर मानिसहरू सहर पसेका छन्, मौलिक पर्व गाउँमै छुटे,’ उनी भन्छन्, ‘युवा पुस्तासम्म मौलिक गौरा पुर्‍याउन सिकाइ केन्द्रमार्फत यसपालि तालिम दिएका छौँ, यो निरन्तर अघि बढ्छ ।’ पाटन नगरपालिका–६, बैतडीकी जानकी भण्डारीका अनुसार नयाँ पुस्ताका महिलाको रुचि पनि नहुँदा गौरापर्व जोखिममा परेको छ । ‘अचेलका महिला एक दिन दुबधागो लगाउँछन्, दोस्रो दिनदेखि छोडिदिन्छन् । मलाई त मौलिक संस्कृतिको अपमान गरेजस्तो लाग्छ,’ उनी भन्छिन् ।