
‘आस्था पिसाबसम्म पनि पिलाइदिन्छ, तर जात पानीसमेत पिउन दिँदैन ।’ यो भनाइ भारतीय प्रख्यात अभियन्ता डा. ओम सुधाको हो । डा. सुधा अखिल भारतीय दलित, आदिवासी, पिछडा एवं अल्पसंख्यक संयुक्त मोर्चाका राष्ट्रिय अध्यक्ष हुन् । यो भनाइ पुष्टि गर्ने यथेष्ट आधार छन् । जस्तै– ब्राह्मण धर्ममा गाईको दुध मात्रै होइन, पिसाब र गोबरलाई समेत पवित्र मानी खाने प्रचलन छ । गाईको मूत्र, गोबर, दुध, घिउ र दहीको मिश्रणलाई पञ्चगव्य भनिन्छ । उक्त पञ्चगव्यलाई आयुर्वेदमा औषधिको रूपमा प्रयोग गरिन्छ । पञ्चगव्य निर्माण विधिबारे भनिएको छ, ‘पञ्चगव्य वस्तु–गोमुत्रं गोमयं क्षीरं दधि: सर्पि कुशोदकं । निर्दिष्टं पञ्चगव्यातु पवित्रं मुनि पुंगवै: ।’ अर्थात्, गोमुत्र (गाईको पिसाब), गोबर, घृत (घिउ), दुध र दही कुशोदक (कुशको पानी वा कुशद्वारा मन्त्रित गरिएको जल) यी पञ्चगव्य वशिष्ठ ऋषिको मतअनुसार श्रेष्ठ मानिएको छ ।
त्थापि, प्राचीनकालदेखि नै सबै समुदाय (आर्य, अनार्य)ले गाईगोरुको मासु खाने गर्थे । ऋग्वेदलगायत सम्पूर्ण हिन्दु प्राचीन ग्रन्थ तथा वैदिककालभरि कहीँकतै गाईको मासु भक्षणलाई निषेध गरिएको छैन । बरु आपस्तम्बधर्मसूत्र (१–५–३१) मा भनिएको छ, ‘धेन्वनडुहोर्भक्ष्यम्’ अर्थात् गाई तथा गोरुको मासु खाने योग्य छ, खाइनुपर्छ । त्यस्तै सोही पुस्तकमा वाजसनेयिको मत छ, बैल (गोरु)को मासु न केवल खान योग्य छ, बरु पवित्र पनि छ, अत: यज्ञमा अर्पित गर्न (बलि दिन)का लागिसमेत योग्य हुन्छ ।
मनुस्मृति (११/५९ देखि ६६ सम्म) अनुसार गौहत्या उपपातक (ससाना, फुटकर) पाप हो । उक्त उपपातकमा वेतन लिएर–दिएर अध्ययन–अध्यापन गर्नु–गराउनु, लसुन आदि इच्छापूर्वक खानु, मद्यपान गर्ने स्त्रीसँग सम्भोग गर्नु आदिमा गोवध सामेल छ । डा. डिआर भण्डारकरले प्राचीन शिलालेखका आधारमा यो निष्कर्ष निकालेका छन्, ईशाको चौथो शताब्दीको सुरुको आसपासमा गौहत्यालाई दण्डनीय महापातक (घोर पाप) बनाइएको थियो । त्यस बखतदेखि मात्रै गौहत्यालाई ब्रह्महत्यासरह महापाप घोषित गरिएको हो । सोही समय हो, जहाँबाट केही शूद्रमाथि अछुत (अस्पृश्य) घोषित गरियो । डा. अम्बेडकरको शोधअनुसार त्यसअघि शूद्र वर्णमाथि विभेद गरिने भए पनि छुवाछुत गरिँदैनथ्यो । सबै शूद्र वर्णलाई नभई केहीमाथि मात्रै अछुत घोषित गरियो । स्मरणीय छ, बुद्धको समय र मनुस्मृति कालसम्म छुवाछुत प्रथा लागू गरिएको थिएन ।
बज्रयान सम्प्रदायका बौद्धमार्गीमा पनि यस्तै प्रचलन पाइन्छ । डा. विनयतोष भट्टाचार्यद्वारा सम्पादित गुह्यसमाजतन्त्र नामक पुस्तकमा भनिएको छ :
‘विण्मूत्रशुक्ररक्तानां जुगुप्तां नैव कारयेत् ।
भक्षयेत् विधिना नित्यं इदं गुह्यं त्रिवज्रजम् ।।’
(गुह्यसमाजतन्त्र, पृष्ठ १३६)
अर्थात्, बोधिज्ञान प्राप्त गर्न विष्टा (गुहु), मूत्र, शुक्र, रक्त वा रज सबै वस्तु विधिपूर्वक नित्य खानू र त्यस कार्यको निन्दा नगर्नू भनिएको छ । विचारणीय कुरा के छ भने यी वस्तु कसको खाने ? जथाभावी खाएर त्यस्तो ज्ञान प्राप्त हुने होइन, त्यसका लागि उक्त विषयका सिद्ध अनंगवज्र (आचार्यहरू) ले नियम बनाएका छन् । वज्रयाना सम्प्रदायमा ज्ञान प्राप्त गर्न मुद्रा वा साध्याको ठुलो महत्व छ । अब मुद्रा वा साध्या (रखौटी) कसलाई बनाउन सकिन्छ, त्यसलाई पनि नियममा आबद्ध गरेका छन् । यो सम्प्रदाय पञ्चमकार (मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन) मा आस्था राख्ने हुँदा त्यस्ता मुद्राका साथ मैथुन (यौन सम्बन्ध )हुनु अनिवार्य मानिन्छ । गुह्यसमाजतन्त्र (पृष्ठ ९४ )का अनुसार ‘नीलकमलका आकारकी धोबीकी छोरीलाई साधनाको माध्यम साध्या वा मुद्रा बनाउनु’ भनिएको छ ।
तिब्बती समाजमा एउटा औषधि पाइन्छ, जसलाई ‘सर्वरोगहर औषधि’ मानिन्छ । त्यो औषधि लामा वा अन्य उच्च पदाधिकारी लामाको मलमूत्रबाट बनाइन्छ । उक्त पात्रको मलमूत्रलाई रातो रंग दिइन्छ । त्यो औषधि दुर्लभ मानिन्छ । यदि कसैलाई आवश्यक परेमा ठुल्ठुला मानिसका सिफारिसमा मात्रै उपलब्ध गराइन्छ र त्यसको मूल्यसमेत अत्यधिक हुने गर्छ । तिब्बतीहरू जति महँगो भए पनि उक्त गोली साथमा राख्ने इच्छा गर्छन् । त्यसलाई उनीहरू बहुमूल्य मोदक ‘त्साचेनोर्बु’ भन्ने गर्छन् । जसलाई मृत्युञ्जय मणि मानिन्छ । (हाम्रो समाज : एक अध्ययन, लेखक, जनकलाल शर्मा । पृ.१५४)
सार्वजनिक पानी र स्रोतमाथि प्रतिबन्ध
अब जातिका नाममा पानी पिउन र स्पर्श गर्नबाट वञ्चित गराइएका इतिहासतर्फ ध्यानाकर्षण गरौँ ।
२० मे १९२७ मा भारत महाराष्ट्र राज्यको रायगढ जिल्लामा ऐतिहासिक महाड सत्याग्रह भएको थियो । डा. भीमराव अम्बेडकरको नेतृत्वमा उक्त जिल्लाको सार्वजनिक चवदार तलाउको पानी पिउने तथा प्रयोग गर्ने सत्याग्रहको सुरुवात गरिएको थियो । अम्बेडकरसहित हजारौँ दलित (अछुत) समुदाय उपस्थित उक्त सत्याग्रहमा प्रथमपटक अम्बेडकरले तलाउको पानी उगाए र पिए, साथै त्यहाँ उपस्थित सबैले त्यसै गरे । त्यो अम्बेडकरको पहिलो सत्याग्रह थियो । उक्त सत्याग्रहलाई सम्बोधन गर्दै डा. अम्बेडकरले भने, ‘हाम्रो उद्देश्य केवल चवदार तलाउको पानी पिउनु मात्रै होइन, बरु हामी यो चेतावनी दिन चाहन्छौँ कि हामी पनि अन्यसरह मानव हौँ ।’
भारतीय वर्ण व्यवस्थाको आधार मूलत: पवित्रताको सिद्धान्तमा आधारित थियो र छ । शूद्र वर्णलाई सार्वजनिक जलस्रोतबाट वञ्चित गराइएको थियो । अर्थात्, छुवाछुत (अस्पृश्यता)को मूल आधार नै जल मानिन्छ । किनभने, जल जीवनको आधार हो । विश्वका सम्पूर्ण मानव सभ्यता जलको किनारबाट विकसित भएको इतिहास छ । जलको मूल्य आवश्यक पेयपदार्थभन्दा अधिक सामाजिक, आर्थिक एवं धार्मिक हुन गयो वा बनाइयो । प्राचीन कालखण्डदेखि व्यापार तथा यात्राका लागि जलमार्गको प्रयोग हुँदै आए । धार्मिक रूपले जलस्रोत पवित्र मानियो । यी महत्वपूर्ण आधारका कारण ब्राह्मण समुदायका लागि विशेषाधिकारको वस्तु बनाइयो भने अन्य समुदाय (वर्ग)का लागि जलस्रोतको प्रत्यक्ष पहुँचदेखि वञ्चित गराइयो । त्यसैकारण अम्बेडकरले आफ्नो सार्वजनिक जीवनको पहिलो आन्दोलन जलमा आधारित भएर गरे ।
सन् १८६८ मा समाज सुधारक ज्योतिबा फुलेले आफ्नो निजी कुवा अछुत समुदायका लागि खुला गरिदिए । महात्मा फुले एक भारतीय समाज सुधारक, विचारक, लेखक, दार्शनिक तथा जातिमा आधारित विभाजन तथा भेदभावविरुद्ध लड्ने क्रान्तिकारी योद्धा थिए । उनले सन् १८७३ मा महाराष्ट्रमा ‘सत्य शोधक समाज’ नामक संस्था गठन गरेका थिए । सम्भवत: फुलेको त्यो कार्य जलअधिकारको दिशामा पहिलो प्रयास थियो ।
सत्याग्रहको परिणामस्वरूप १९२३ मा महाराष्ट्रका प्रसिद्ध समाज सुधारक एसके बोलेद्वारा बम्बई विधान मण्डलमा एक कानुन पारित गराए, जसमा सरकारद्वारा सञ्चालित सम्पूर्ण सार्वजनिक स्थान एवं उपक्रममा दलितको प्रवेशको अनुमति प्रदान गरियो । महाराष्ट्रको कोलाबा जिल्लाको महाड नगरपालिकाले पनि त्यहाँका दलित समुदायलाई चवदार तलाउमा प्रवेश र पानी प्रयोगको अधिकार दियो । उक्त दिन अर्थात् २० मार्चलाई भारतमा सामाजिक सशक्तीकरण दिवसको रूपमा मनाइन्छ । तसर्थ, कुनै समुदायले मानवजीवनको सबैभन्दा महत्वपूर्ण वस्तु जल छुन, पिउन र त्यसका स्रोत सहज र निर्बाध प्रयोगको अधिकार प्राप्त गरेको धेरै समय भएको छैन । त्यो नैसर्गिक हक स्वत: नभई संघर्षबाट प्राप्त गरेको हो ।
स्मरणीय के छ भने त्यस अघि भारतवर्षमा शूद्रलाई सार्वजनिक पानीका स्रोत तलाउ, कुवा, पँधेरा, धारा, नदी आदि छुन वा प्रयोग गर्ने अधिकार थिएन ।
जात वा थर बिक्री गर्ने ?
यो आलेखको मुख्य उद्देश्य पंक्तिकारको जात/थर बिक्रीका लागि ‘अक्सन (लिलामी)’मा राखिएको जानकारी गराउनु हो । त्यस्तो पनि कसरी हुन्छ भन्ने सवाल पाठकको मस्तिष्कमा आउन सक्छ । तथापि, इतिहास भन्छ, ब्राह्मण र राजा (शासक) मिलेर कसैको जात बढुवा गरिदिएका र मगरलगायत जनजातिलाई अछुत (मग्राती सार्की) बनाइएका वृत्तान्त भेटिन्छन् । गोरखाली कुँवरको जात नै बदलेर राणा घोषित गरिएको कथा पंक्तिकारले यसअघि नै लेखिसकेको छ । गोरखा राज्य विस्तारको योजनामा रहेका राजा पृथ्वीनारायण शाहले युद्धका क्रममा अन्य राज्यका सगोत्रीको हत्या गर्नुपर्ने र त्यस्तो कार्य हिन्दुधर्मको मान्यताविपरीत हुने देखेर उक्त धर्मपराध छल्न उनले गोत्र परिवर्तनको बाटो रोजेका थिए । वनारस पुगेर त्यहाँका ब्राह्मणद्वारा राजा पृथ्वीनारायणले आफ्नो भारद्वाज गोत्र परिवर्तन गराई कश्यप गोत्र धारण गरेको इतिहास छ ।
उसो त गोरखाली शाह राजा नै खान्चा र मिचा खानका सन्तान रहेको मान्यता छ । यो तर्कलाई बल पुर्याउने एक बलियो आधार के छ भने हिन्दु जातिभित्र शाह थर वा उपाधि थिएन, छैन । स्याङ्जाको नुवाकोटमा गएर शासन गरेका मिचा खान थिए । उनका सन्तान कुलमण्डनले दिल्लीका बादशाहबाट ‘शाह’ पदवी पाएकाले उनको पालादेखि उनका वंशजले आफ्नो नामको पछाडि शाह जोड्न थाले । एउटा चक्रवर्ती वा ठुलो राजाका अधीनमा रहेका साना राज्य भएका राजाका राज्यलाई ठकुराइ भनिन्छ । त्यस्तो राज्यका राजालाई ठकुरी वा ठाकुर भनिन्छ । ईशाको आठौँ शताब्दीपछि अनेक राजपुतले हिन्दुधर्ममा दीक्षित भएर यज्ञोपवित (जनै) धारण गरे र क्षत्रीय बने । तिनै धर्म परिवर्तन गरी हिन्दु बन्न पुगेकाहरू राजपुत्रका सन्तति आजकाल आफूलाई राजपुत वा रजपुत भन्छन् । त्यसरी ती अनेकौँ अहिन्दु, अनार्य ठाकुर र ठकुरी धर्म परिवर्तनद्वारा हिन्दु बने । (जनकलाल शर्मा( एक अध्ययन) राजाका सन्तान भएका र धनाढ्य पनि हुने हुनाले ठकुरी, ठाकुर, राजपुत आदिलाई आफू (ब्राह्मण) पछिको क्षेत्री उपाधि र दर्जा दिए ।
अब आफ्नै सन्दर्भतर्फ फर्कौं । पंक्तिकारको थर हो, खाती । इतिहासकार शर्माकै अनुसार खातीहरू दुई प्रकारका हुन्छन् । पहिलो, नेगी खाती र दोस्रो, तुवार खाती । यी दुवै मूलत: क्षत्रीय वंशी हुन् । नेगी खातीहरू ईशाको सोह्रौँ शताब्दीको प्रारम्भमा कस्मिरको छेउ जम्मु राज्यबाट कुमाउमा आएर बसे । त्यसपछि गढवालतिर लागे । गढवालबाट बसाइँ सर्दै नेपालतिर पनि आए । नेगीको अर्थ सेनानायक हुन्छ । नेगी खातीका पुर्खा कुनै समय सेनाको ठुलो पदवी धारण गरेर बसेका थिए । नेगी खातीहरू पूर्वदेशका राजाका सन्तति राजपुत हुन् । त्यस्तै तुवार खातीहरू ईशाको सातौँ शताब्दीको अन्त्यतिर भारतको आगराबाट कुमाउको सिलौरपट्टी नामक स्थानमा आएर बसे । त्यसपछि उनीहरू क्रमश: गढवाल हुँदै नेपाल प्रवेश गरे । कुमाउ, गढवाल हुँदै प्रवेश गर्ने खातीका पुर्खा हुन्, जैराजसिंह, केशरसिंह र छैलुसिंह, हाल खाती थरधारीहरू ब्राह्मण, क्षत्री, वैश्य र शूद्र (दलित) समुदायमा विभाजित छन् ।
ब्राह्मणले ठकुरी कन्यासँग मागीविवाह (ब्याइतेपट्टिका) गरी सन्तान जन्मिएमा उसको थर हुन्छ, हमाल । त्यस्तै, ब्राह्मणले ठकुरी कन्या, विधवा वा अर्काकी स्त्री भगाई ल्याएमा (भागीविवाह (ब्याइतेपट्टिका) भई सन्तानको जन्म भएमा त्यस्तो सन्तानको थर रहन्छ, खाती । त्यसर्थ खातीमा ब्राह्मण र ठकुरीको रक्त मिश्रित हुन्छ । जब खातीले दलित समुदायकी कुनै स्त्रीसँग संसर्ग गरेपश्चात् उनीहरूको सन्तानको जन्म भएमा त्यस्तो सन्तानको थर खाती नै हुने भए पनि उसको सामाजिक हैसियत अछुत रहन गयो । त्यसैले कतिपय आफ्नो थरमा खाती क्षत्री शब्द थप्ने गरेको देख्न सकिन्छ ।
हाम्रा पुर्खाको कथन छ, कसैले पनि जात, धर्म बेचेर खानुहुँदैन, त्यसो गर्नु महापाप हो । तर, इतिहास भन्छ, नेपालका बहुमत, बहुसंख्यक समुदाय विभिन्न कालखण्डमा धर्म परिवर्तन गरी हिन्दु बनेका हुन् । त्यसका यथेष्ट उदाहरण छन् । त्यति मात्रै होइन, समाजशास्त्री डोरबहादुर विष्टको पुस्तक ‘भाग्यवाद र विकास’मा लेखिएअनुसार ब्राह्मणलाई खेतबारी, जग्गा, जमिन, पशु आदि धन सम्पत्ति उपलब्ध गराएर जातोन्नति गराइएका प्रशस्तै छन् । राजा र ब्राह्मणले जात घटुवा गराई अछुतमा झारिएका मात्रै होइन, अछुतबाट छुत बनाइएका समेत धेरै उदाहरण छन् । जात, थर, गोत्रमा गौरव गर्ने होइन, घृणा र परित्याग गर्नुपर्छ । अन्यथा, जातको विनाश र समानताको युगको जन्म हुन सम्भव छैन ।
म चाहन्छु मेरो सामाजिक परिचय उदय होस् । मेरा सन्तानले उदयलाई वंश वा परम्परागत पहिचान नबनाउन् । उनीहरू पनि आफूले इच्छाएको ‘टाइटल’ लेख्न स्वतन्त्र रहुन् । मैले आफूले इच्छाएको थर उदय लेख्ने अधिकार र अनुमति नपाउने राज्य व्यवस्था कसरी लोकतान्त्रिक हुन सक्छ ? कसैले आहुति, कसैले प्रकाश, कसैले कुमार, कसैले विद्रोही लेख्न नपाउने राज्य कसरी आधुनिक र लोकतान्त्रिक ? त्यसैले, म मेरो जात, थर बेच्न चाहन्छु, किन्ने कोही छ ?