मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १४ शनिबार
  • Thursday, 04 September, 2025
शान्ति तामाङ काठमाडाैं
२o८२ भदौ १४ शनिबार o९:४o:oo
Read Time : > 7 मिनेट
फिचर प्रिन्ट संस्करण

रिडिङ रुम : सहरमा नयाँ अध्ययन गन्तव्य

Read Time : > 7 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १४ शनिबार o९:४o:oo

उपत्यकाका तीन सहरमा करिब दुई दर्जनभन्दा बढी रिडिङ रुम सञ्चालनमा छन् । ती रिडिङ रुममा पुग्दा सबैजना शान्त भई पढिरहेका र लेखिरहेका हुन्छन् । एउटा कुनामा लोकसेवाको तयारी गर्ने विद्यार्थी पढिरहेका हुन्छन् । अर्को कुनामा थेसिस लेखिरहेका विद्यार्थी हुन्छन् । गहिरो अनुसन्धानमूलक शोधग्रन्थ तयार गर्नेहरूदेखि डाक्टर पढ्नेसम्म त्यहाँ भेटिन्छन् । उनीहरूले पुस्तकालय र आफ्नो कोठा छाडेर किन रिडिङ रुम रोजिरहेका छन् ? यसबारे विज्ञ भन्छन्– सहरमा देखिएको यो नयाँ संस्कृतिले त्यति राम्रो गर्दैन । पुस्तकालयलाई नै राम्रो बनाउनुपर्छ । तर, पढ्नेहरू र रिडिङ रुम सञ्चालन गर्नेहरू भन्दै छन्, अन्त पढ्ने वातावरण नै छैन । यहाँ पढेर धेरै राम्रो भइरहेको छ ।

सुरुमा लागौँ, रिडिङ रुम र लाइब्रेरीको इतिहासतर्फ । रिडिङ रुमको इतिहास पुस्तकालयसँग जोडिएको छ । संसारमा पहिलो व्यवस्थित पुस्तकालय इसापूर्व तेस्रो शताब्दीमा बनेको प्राचीन मिश्रको ‘अलेक्जान्द्रिया पुस्तकालय’लाई मानिन्छ । अलेक्जन्डर द ग्रेटको नामबाट बनेको यो पुस्तकालयमा छुट्टै रिडिङ रुम थिए, जहाँ पहुँचवाला विद्वान् र शासक वर्गका मानिस मात्रै जान पाउँथे । १७औँ शताब्दीमा कफी हाउसहरू खुलेपछि पुस्तक पनि राख्न थालियो । त्यहीँ मानिसले पत्रिका र केही पुस्तक पढे । ब्रिटिस म्युजियम, न्युयोर्क पब्लिक लाइब्रेरीले रिडिङ रुम उपलब्ध गराए । पुस्तकालयसँगै रिडिङ रुम जोडिएर आयो । तर, सहरीकरण र अध्ययन क्षेत्रमा व्यापकता आएसँगै पुस्तकालयबाट रिडिङ रुम क्रमश: अलग हुँदै गयो । प्रविधिका कारण पुस्तक र पाठकबिच दूरी बढेकै थियो, सँगै पुस्तकालय र रिडिङ रुमबिच पनि दूरी देखा पर्‍यो । अचेल सहरका पुस्तकालयमा मानिस पढिरहेका कम देखिन्छन् । यसको मतलब पढ्नेहरू कम भए भन्ने होइन । सहरमा पढ्नेहरू अचेल पुस्तकालय होइन, रिडिङ रुम धाउन थालेका छन् । रिडिङ रुममा ध्यानमग्न भइ पढ्नेहरू भन्छन्, ‘लाइब्रेरीमा अनेकथरीका बिदाले हैरान पार्छन् । न पढ्ने वातावरण राम्रो हुन्छ, न आफ्नो विषयसँग छलफल गर्ने मान्छे भेटिन्छ । रिडिङ रुममा ढुक्क हुन्छ ।’

कस्ता छन् रिडिङ रुम ?
रिडिङ रुम भन्नेबित्तिकै हाम्रो दिमागमा सफा, चिटिक्कको ठुलो पढ्ने कोठाको झल्को आउँछ । कोठापछि कफी सप वा सार्वजनिक पुस्तकालयको झल्को पनि थपिन्छ । तर, अब यो धारणामा परिवर्तन आइरहेको छ । अहिले पढ्नकै लागि धेरैजना रिडिङ रुम धाउन थालेका छन् । त्यस्तैमध्येकी एक हुन्, सनम पोखरेल । उनी गत वैशाखदेखि काठमाडौंको एक रिडिङ रुम धाउन थालेकी छिन् । लोकसेवा तयारी गर्दै गरेकी उनले चार महिनामै आफूमा परिवर्तन पाउन थालेकी छिन् । एक छोराकी आमा उनी बिहान साढे नौ बजे छोरालाई लिएर घरबाट निस्किन्छिन् । छोरालाई स्कुल राखेर दिनभर पढ्छिन् । आफूसँग विषय मिल्ने साथीसँग छलफल पनि गर्छिन् । अनि साँझ पाँच बजे घरतर्फ जान्छिन् । चार महिनादेखि उनको दैनिकी यसरी नै चलिरहेको छ ।

घरमा पढ्ने वातावरण नभएपछि उनले रिडिङ रुमको खोजी गरेकी थिइन् । ‘गत वर्षसम्म एउटा स्कुलमा पढाउँथेँ । यो वर्षदेखि लोकसेवा तयारी गर्नुपर्‍यो भनेर जागिर छाडेँ । तर, घरमा पढ्ने वातावरण नै भएन । ध्यान केन्द्रित गरेर पढ्नै सकिनँ,’ पोखरेलले भनिन्, ‘इन्टरनेटमा खोज्दै जाँदा रिडिङ रुमबारे भेटेँ । घरपायक भएको रिडिङ रुम रोजेर पढ्दै छु ।’ उनले रिडिङ रुममा मासिक तीन हजार रुपैयाँ बुझाउनुपर्छ । पैसा तिरे पनि यहाँबाट आफूले धेरै फाइदा लिन पाएको उनले बताइन् । ‘पैसा तिरे पनि केही एचिभ भइरहेको छ । शान्त वातावरणमा आनन्दले पढ्न पाएको छु । त्यसैले मैले आफ्ना साथीलाई समेत यस्तै रिडिङ रुममा पढ्नका लागि सुझाएको छु,’ उनले भनिन् ।

उनीजस्तै चार्टड अकाउन्ट अन्तिम वर्ष पढ्दै गरेका अर्का विद्यार्थी पनि रिडिङ रुम आउन थालेका छन् । धुम्बाराहीमै घर भएका उनका लागि घरका कोठाभन्दा रिडिङ रुम पढ्नका लागि उपयुक्त गन्तव्य भएको छ । ‘घरमा पनि पढ्न मिल्छ । तर, यहाँ मजस्तै अरू साथी पनि छन् । यहाँ आएपछि मैले एउटा विषय पढेको हुन्छु । अर्कोले एउटा पढेको हुन्छ । छलफल हुन्छ । थप कुरा सिक्नका लागि सजिलो हुन्छ,’ उनले भने, ‘घरमा मान्छे आउँछन् । स्पेस भए पनि पढाइमा ध्यान दिन सकिन्न । यहाँ ध्यान दिएर पढिन्छ ।’ उनी एक वर्षदेखि निरन्तर रिडिङ रुम आइरहेका छन् । 

अस्मिता गौतमले स्नातक पढ्दाताका नै रिडिङ रुमको प्रयोग गर्न थालेकी हुन् । त्यहाँ पढ्दै गर्दा उनले आफ्नो पढाइमा सकारात्मक प्रभाव पर्न थालेपछि निरन्तर रिडिङ रुम जान थालेकी हुन् । हाल मास्टर्स अफ बिजनेस एडमिस्ट्रेसन एमबिए सकाएर बैंकिङको तयारी गरिरहेकी उनी एक वर्षदेखि रिडिङ रुम आउन थालेकी हुन् । उनका अनुसार रिडिङ रुमले पढ्ने बानीमा सुधार त भएकै छ, त्योभन्दा धेरै आफ्नो लक्ष्यमा पुग्न सहयोगी हुँदै छ । ‘ध्यान दिएर पढ्न सकिन्छ । पढ्का लागि सहज हुने खालको वातावरण छ । त्यसैले यहाँ पढ्न आएको हुँ,’ उनी भन्छिन्, ‘सार्वजनिक पुस्तकालयमा अनेकथरी बिदाले हैरान पार्छ । न पढ्ने वातावरण राम्रो हुन्छ, न आफ्नो विषयसँग छलफल गर्ने मान्छे नै भेटिन्छ । रिडिङ रुममा धेरै सुविधा हुन्छ ।’ उनले सुझाएरै केही साथी पनि रिडिङ रुम जान थालेका छन् ।

प्लस टु विज्ञान पढ्ने सागर साह पनि भर्खरै रिडिङ रुम जान थालेका हुन् । साथीसँग भाडाको घरमा बस्दै आएका उनका लागि कोठामा पढ्ने वातावरण नभएपछि रिडिङ रुम उपयुक्त ठाउँ भएको छ । रिडिङ रुम प्रयोग गर्दै आएका आफन्तले यस्तो ठाउँबारे सुझाएपछि उनी यहाँ आउन थालेका हुन् । ‘घरमा पढ्ने वातावरण नै भएन । पढ्नका लागि निकै अप्ठ्यारो हुन थाल्यो,’ उनले भने, ‘आफ्नो समस्याबारे एकजना दाइलाई भनेको थिएँ । त्यसपछि उहाँले रिडिङ रुमबारे बताउनुभयो । त्यसपछि यहाँ आउन थालेको हुँ ।’ 

यसरी सुरु भयो रिडिङ रुम
बानेश्वर थापागाउँबाट पूर्वतिर केही कदम अघि बढ्दा गेटमै लेखिएको देखिन्छ, बगिशा रिडिङ रुम । हेर्दा चिटिक्कको यो घरमा रिडिङ रुम सञ्चालनमा आएको पाँच वर्ष भइसक्यो । घरको भुइँतलामा रहेका चार कोठामा रिडिङ रुम चलेको छ । तीन कोठामा सात–सात गरेर २१ जना बसेर पढ्न सकिन्छ, अर्कोमा ११ जना । यो चार कोठालाई रिडिङ रुममा रूपान्तरण गरेका हुन्, रचन आचार्यले । आफ्नी दिदीले चिकित्साशास्त्र पढ्दै गर्दा भनेजस्तो रिडिङ रुम पाउन नसकेपछि रचन र उनका दाइ मिलेर रिडिङ रुम खोलेका थिए । ‘कति रिडिङ रुमको ट्वाइलेट सफा थिएन । कतिको कोठा सहज थिएन । कति ठाउँमा बस्ने ठाउँ सहज भएन । त्यसपछि दिदीले यो बिजनेस राम्रो हुन सक्छ भनेर सुझाइन्,’ आचार्यले भने, ‘दिदीले सुझाव दिएपछि हामीले केही रिडिङ रुम हेर्‍यौँ, बुझ्यौँ । ती ठाउँमा भएका समस्या समाधान गरेर हामीले काम सुरु गर्‍यौँ ।’

३२ जनाको सिट क्षमता भएको उनको रिडिङ रुम अहिले भरिभराउ छ । जो पढ्न आउँछन्, उनीहरूमार्फत नै आएका साथीले रिडिङ रुम भरिएको हो । विशेषगरी डाक्टर, सिए, लोकसेवा तयारी गर्ने विद्यार्थी रिडिङ रुममा आउने गरेका छन् । प्लस टु परीक्षा तयारी, स्नातक परीक्षा तयारी र थेसिस तयारीका लागि समेत यहाँ आउने गरेका छन् । यो ठाउँ परीक्षाको तयारी गर्नेका लागि राम्रो ठाउँ हुन पुगेको छ । पढेपछि छलफलका लागि समेत ठाउँ उपलब्ध हुँदै आएको छ । दिनको १८० रुपैयाँ तिर्नुपर्ने यहाँ मासिक तीन हजार तिर्नुपर्छ । चिसो–तातो पानी, सहज तरिकासँग बस्नका लागि कुर्सी, शान्त वातावरण यहाँ पाइन्छ । धेरै ठाउँमा खानेकुराको व्यवस्था भए पनि यहाँ भने खानेकुरा बाहिरै गएर खानुपर्ने हुन्छ ।

पाँच वर्षदेखि यहाँ उनीहरूले व्यवसायको रूपमा रिडिङ रुम चलाउँदै आएका छन् । उनका अनुसार यहाँबाट राम्रो आम्दानीसमेत हुने गरेको छ । परीक्षा हुने वेला रिडिङ रुम भरिभराउ हुन्छ । दिनको १६ घण्टा बसेर पढ्न सकिने रिडिङ रुम कुनै पनि दिन बन्द हुँदैन । ‘यहाँ आउने धेरैजसो घरमा पढ्ने वातावरण नभएरै आउँछन् । भाडामा बस्ने, होस्टल बस्ने धेरैजसो रिडिङ रुमको प्रयोगकर्ता हुनुहुन्छ । ती ठाउँमा राम्रो रिडिङ स्पेस नभएरै आउनुहुन्छ । पुस्तकालय जाँदा आफ्नो फिल्डको कोही हुँदैन । तर, यहाँ आफ्नो फिल्डका मान्छे हुन्छन् । छलफल गरेर पढ्न सकिन्छ, त्यसैले आउनुहुन्छ,’ आचार्यले भने । 

धुम्बाराहीस्थित काठमाडौं रिडिङ रुम सञ्चालनमा आएको तीन वर्ष भयो । तीन वर्षदेखि यो रिडिङ रुम गोविन्द अवस्थीले चलाइरहेका छन् । आफ्नो छोरा क्याम्पस पढ्दै गर्दा रिडिङ रुम जाने गरेका थिए । त्यही देखेर गोविन्दले रिडिङ रुम सुरु गरे । यस्तो रिडिङ रुमले युवापुस्तामा पढ्ने बानी बसालेको उनलाई लागेको छ । ‘अहिले पढ्ने कल्चर कम हुँदै गएको छ । धेरैजसो सामाजिक सञ्जालमा झुम्मिएर अल्छी भएका छन् । बिहान पनि अवेलासम्म सुत्ने बानी भएको छ । यस्तोमा रिडिङ रुमले राम्रै काम गरेजस्तो लागेको छ,’ अवस्थीले भने । यहाँ पनि धेरैजसो चिकित्साशास्त्र पढ्ने विद्यार्थी, लोकसेवा तयारी गर्नेहरू र कुनै विषयवस्तुको तयारी गर्ने विज्ञ पनि जान्छन् ।

साढे दुई तले घरको दोस्रो तलामा रहेको यो रिडिङ रुममा जुनसुकै वेला गएर पढ्न सकिन्छ । बिहान साढे पाँचदेखि खुल्ने रिडिङ रुम बेलुका १० बजेसम्म खुला रहन्छ । पाठकले आफ्नो अनुकूलता अनुसार घण्टाको ५० रुपैयाँ तिरेर पढ्न सक्छन् । दिनको दुई सय, हप्ताको एक हजार वा महिनाको तीन हजार तिरेर पनि पढ्न सक्छन् । ४० जनाको क्षमता भएको यहाँ २० जनाजति विद्यार्थी पढ्ने गर्छन् ।

व्यवसाय कि सेवा क्षेत्र ?
रिडिङ रुममा केही नियमसमेत छन् । धूम्रपान, मद्यपान गर्न पाउँदैन । अरूलाई असहज हुने गरी होहल्ला गर्न पाउँदैन । फोनमा कुरा गर्न पनि निश्चित ठाउँको व्यवस्था छ । बिहान ६ देखि बेलुका ११ बजेसम्म खुला रहने रिडिङ रुम नाफामूलकभन्दा पनि सेवामूलक भएको उनले बताए । ‘यहाँ पढ्ने विद्यार्थीका लागि राम्रो वातावरण सिर्जना हुन्छ । प्रत्येकको घर, डेरामा पढ्नका लागि वातावरण नहुन सक्छ । घर हुनेका लागि पनि पारिवारिक कुराकानी, भेटघाटले गर्दा डिस्टर्व हुन सक्छ । त्यसैले यो उपयुक्त ठाउँ हो,’ अवस्थीले भने । ‘हामीले घरकोजस्तै खाजानास्ताको व्यवस्था गरेका छौँ । पैसा तिरेर पढिरहेकाले खाजा खानकै लागि बाहिर गएर समय खेर नफालून् भनेर यहीँ क्यान्टिनको व्यवस्था गरेका हौँ,’ उनले भने ।

नवीन उप्रेतीले सुरु गरेको ‘इन्साइट रिडिङ रुम’मा ‘पहिला सिए र मेडिकल पढ्ने धेरै आउँथे । अहिले लोकसेवा तयारी गर्नेहरू धेरै आउँछन् । ‘यहाँ अध्ययन, अनुसन्धान गर्नेदेखि सबैखाले मान्छे आउँछन्, उप्रेतीले भने, ‘अहिले घरमा बसेर पढ्ने वातावरण अलि हुन्न । भाडामा दुई–तीनजना साथीसँग बसेको हुन्छ । त्यसैले पढ्नेहरू रिडिङ रुममा आउँछन् ।’

६५ जना क्षमताको यहाँ ५० जनाले प्रयोग गरिरहेका छन् । उनी रिडिङ रुमलाई सार्वजनिक पुस्तकालयको विकल्प भएको बताउँछन् । ‘रिडिङ रुम त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय, सार्वजनिक पुस्तकालयको विकल्प हो,’ उनले भने ।

मैतीदेवीमा ‘आशा द स्टडी रुम’ सञ्चालन गर्दै आएकी पुनम राई पनि पछिल्लो समय रिडिङ रुम राम्रो व्यवसाय हुँदै गएको बताउँछिन् । उनका अनुसार आशा स्टडी रुममा पढेर धेरैजना डाक्टर, सिए भएका छन् । यहाँ पढेर छलफल गर्नका लागि छुट्टै कोठाको व्यवस्थासमेत रहेको उनले बताइन् ।

पुस्तकालय प्राय: सरकारीतर्फबाट अथवा सामुदायिक तरिकाले चलेका छन् । तर, रिडिङ रुम निजी व्यक्तिले चलाइरहेका छन् । जहाँ लोकसेवा आयोग पास गर्न चाहनेदेखि गम्भीर अध्ययन अनुसन्धान गर्नेहरू पुग्छन् । घण्टादेखि दैनिक हुँदै वार्षिक शुल्क तिरेर पढ्छन् । रिडिङ रुम व्यवसायसमेत बनेको छ । रिडिङ रुम प्रयोगकर्ता धेरैजनाले नेपालमा सार्वजनिक पुस्तकालय बलियो नहुँदा रिडिङ रुम फैलिएको बताउँछन् । ‘त्यहाँ टाइम टु टाइम हुन्छ । अफिस टाइम फोकस हुन्छ । यहाँचाहिँ जब गर्ने मानिसको लागि पनि सजिलो छ । बिहान ५ देखि बेलुका १० बजेसम्म खुल्छ । केही काम गरेर पढ्दा पनि सजिलो भयो,’ गौतमले भनिन् ।

रिडिङ रुम : ठिक कि बेठिक ? 
काठमाडौंका कोर एरियामा मात्र होइन, ललितपुर, भक्तपुरजस्ता सहरमा पनि रिडिङ रुम खुल्न थालेका छन् । उपत्यकाबाहिरका चितवन, पोखराजस्ता सहरबाट पनि रिडिङ रुम खोल्नका लागि माग भइरहेको छ । यसरी विस्तार भइरहेको रिडिङ रुमलाई रिडिङ स्पटभन्दा उपयुक्त हुने समाजशास्त्री राम गुरुङ बताउँछन् । उनका अनुसार रिडिङ रुमले वर्गीय खाडल बनाउँछ । ‘पैसा तिरेर पढ्नुपर्ने रिडिङ रुम खोल्दा अघोषित रूपमा पैसा हुनेले मात्रै पढ्ने भन्ने संस्कृतिलाई बढावा दिन्छ, ‘उनी भन्छन्, ‘त्यो मूल्यले साँच्चै ज्ञान प्राप्तिका लागि डुबेर लागेको मान्छेलाई छेक्छ । यसले पढ्ने अवसरबाट मात्र वञ्चित गर्दैन, भविष्यमा आइपर्ने नयाँ आम्दानीका स्रोत, रोजगारीका क्षेत्र, सामाजिक पुँजी निर्माणका लागि चाहिने दक्षता सबैबाट वञ्चित गर्दै लान्छ ।’ उनका अनुुसार रिडिङ रुम उदाउँदो मध्यमवर्गीय युवालाई लक्षित गरेर खोलिएको भए पनि यहाँबाट ज्ञान आर्जन गर्न सकिँदैन । ‘रिडिङ रुम ज्ञान उत्पादन, हस्तान्तरण, मन्थनसँग जोडिएको क्षेत्र होइन । यस्ता रिडिङ रुमको विस्तारले समाजमा वर्गीय खाडल मात्र निम्त्याउँछ,’ उनी भन्छन् ।

०७२ सालको भूकम्पले राष्ट्रिय पुस्तकालयमा क्षति पुग्यो । त्यसपछि पुस्तकालय कहाँ बनाउने भनेरै लामो रस्साकस्सी भयो । अझै पनि पुस्तकालय बनाउने सुरसारै छैन । भूकम्पको अर्को वर्ष पुस्तकालयविज्ञ इन्दिरा दलीसहितको समितिले राष्ट्रिय पुस्तक नीति बनाएर सरकारलाई हस्तान्तरण गर्‍यो । त्यसपछि दलीले यो नीतिबारे पटक–पटक जानकारी लिइरहिनन् । तर, अहिलेसम्म उक्त नीति अलपत्र अवस्थामा छ । 

‘पैसा कमाउने उद्देश्यले भए पनि रिडिङ रुम जसले सञ्चालन गरिरहेका छन्, उनीहरूलाई गाली गर्न मिल्दैन । यो सरकारको कमजोरी हो । जबसम्म सरकारले सार्वजनिक पुस्तकालयको प्रणाली बनाउँदैन, तबसम्म यस्ता रिडिङ रुमको व्यापार फैलिँदै जानेछन्,’ उनले भनिन्, ‘विदेशका सार्वजनिक पुस्तकालय २४सै घण्टा खुला हुन्छ । सबैको पहुँचमा हुन्छ । तर, नेपालमा त्यस्तो कुनै व्यवस्था छैन ।’ नेपालमा हाल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय भृकुटीमण्डप, केन्द्रीय कानुन पुस्तकालय, केशर पुस्तकालय, डिल्लीरमण पुस्तकालयजस्ता औँलामा गन्न सकिने पुस्तकालय मात्र छन् । केन्द्रीय पुस्तकालयबाहेक अरू पुस्तकालय निश्चित समयका लागि मात्र खुल्छ । उनी नौ वर्षअघि आफूहरूले बनाएको पुस्तकालय नीति कार्यान्वयमा ल्याउँदा मात्र पनि यस्तो अवस्थामा कमी आउने बताउँछिन् । उनीलगायतले बनाएको पुस्तकालय नीतिमा केन्द्रीयस्तरमा राष्ट्रिय पुस्तकालय, सातै प्रदेशमा प्रदेश पुस्तकालय, ७७ वटै जिल्लामा जिल्लास्तरका पुस्तकालय, ७५३ वटै स्थानीय तहमा पनि एक–एक पुस्तकालय र ६ हजार ७४३ वटै वडामा पनि सार्वजनिक पुस्तकालय हुनुपर्ने उल्लेख छ । दली भन्छिन्, ‘नागरिकलाई शिक्षा र पुस्तकालय सेवा नि:शुल्क दिनुपर्ने सरकारको जुन दायित्व हो, त्यो काम भएमा व्यवसायको रूपमा विस्तार भइरहेको रिडिङ रुममा कमी आउँछ ।’

छुटाउनुभयो की ?