
नेपाल र भारतबिचको द्विपक्षीय आर्थिक सहयोगलाई अझ तीव्र र परिणाममुखी बनाउने विषयमा वीरगन्जमा नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन २०२५ बुधबार सम्पन्न भएको छ। प्रधाननन्त्री केपी ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा आर्थिक शिखर सम्मेलन आयोजना भएको हो ।
फेडेरेसन अफ इन्डियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको भारत–नेपाल केन्द्रले भारतीय महावाणिज्य दूतावास, वीरगन्ज, नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की)को वीरगन्ज च्याप्टर र नाडा अटोमोबाइल एसाेसिएसन अफ नेपाल, मधेश प्रदेशसँग सहकार्यमा शिखर सम्मेलन आयोजना गरेको हो।
कार्यक्रममा नेपाल र भारतका उद्योगपति, वाणिज्य संघसंगठनका पदाधिकारी तथा बिहारलगायत भारतका सीमावर्ती राज्यका वाणिज्यमण्डलका प्रतिनिधिहरूको सहभागिता रह्यो।
कार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्यदूत देवीसहाय मीणाले भारत–नेपाल आर्थिक तथा व्यापारिक सम्बन्धबारे संक्षिप्त अवलोकन प्रस्तुत गरे । ‘नेपालका व्यवसायीहरूले भारतीय व्यवसायीहरूसँग सहकार्य गरेर ठुलो लाभ लिन सक्ने अवसरहरू प्रचुर मात्रामा छन्,’ उनले भने । आपसी सहकार्यले दुवै देशको साझा समृद्धिमा टेवा पुर्याउने उनले बताए।
मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहले नेपालको आर्थिक रूपान्तरणका लागि भारतले नेपालको लगानी आकांक्षामा गम्भीर विचार गर्नुपर्ने आवश्यकता रहेकाे बताए । उनले पर्यटन, खाद्य प्रशोधन र नवीकरणीय ऊर्जा क्षेत्रमा मधेश प्रदेश सरकारले परिणाममुखी पहल गरिरहेको जानकारी दिए।
एनआइसिसिआई वीरगन्ज च्याप्टरका अध्यक्ष अभिषेक चौधरीले भने, ‘भारत–नेपाल केवल भौगोलिक मात्र नभई इतिहास, संस्कृति र साझा आकांक्षाले पनि जोडिएका छन्। आजको दिन व्यापार घाटाभन्दा बाहिर निस्केर दुवै देशलाई लाभ हुने अवसरहरू खोज्नु जरुरी छ ।’
पिएचडिसिसिआई भारत–नेपाल केन्द्रका सचिव अतुलकुमार ठाकुरले हालैका उच्चस्तरीय भ्रमण र सहकार्यले भारत–नेपालबिचको भौतिक, डिजिटल, ऊर्जा र जनस्तरको सम्पर्कलाई अभूतपूर्व गति दिएको बताए। उनले रेल, सडक, पुल, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन, जलविद्युत् परियोजना तथा डिजिटल वित्तीय प्रणालीमा भइरहेको प्रगतिको चराचा गरे । ठाकुरले भने, ‘नेपालले गत वर्षदेखि भारतीय युपिआई भुक्तानी प्रणालीलाई फोन पे क्युआरमार्फत प्रयोग गर्न थालेको छ, जसले दुवै देशबिच वित्तीय प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ ।’
कार्यक्रममा उद्योग वाणिज्य मगटहासंघ मधेश प्रदेश अध्यक्ष अशोक तेवानी, बिआइसिसिआई अध्यक्ष हरि गौतम, नाडा अटोमोबाइल एसाेसिएसन (मधेश प्रदेश) अध्यक्ष केदारकुमार अग्रवालसहित नेपाल र भारतका उद्योग/व्यवसायी संगठनका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए।
हाल भारत नेपालमा सबैभन्दा ठुलो लगानीकर्ता हो, जसको अंश करिब ३५ प्रतिशत (करिब ७७७ मिलियन अमेरिकी डलर) छ। अहिले नेपालको करिब ६४.१ प्रतिशत व्यापार भारतसँग छ (भारतीय आर्थिक वर्ष ०२३/२४ अनुसार करिब ७.८७ अर्ब अमेरिकी डलर)। नेपालले भारतलाई मुख्यतः खानेतेल, कफी, चिया र जुट निर्यात गर्ने गर्छ भने भारतबाट पेट्रोलियम, लोहा–इस्पात, गेडागुडी, सवारीसाधन र पार्टपुर्जा, मेसिनरीलगायतका सामग्री आयात गर्छ।
दुवै देशका प्रतिनिधिहरूले द्विपक्षीय सहकार्यलाई गति दिनका लागि नेपाल–भारतको दिगो औद्योगिक विकास, द्विपक्षीय व्यापार नीतिको पुनरावलोकन, क्षेत्रीय तथा उपक्षेत्रीय सहकार्यको विस्तार, सीमाक्षेत्रीय विकास र यातायात/भौतिक पूर्वाधार (सडक, रेल र हवाई सम्पर्क) सुधारलगायतका विषयमा विस्तृत छलफल गरेका थिए।