
तिला गाउँपालिका– ८, पुरु गाउँकी २४ वर्षीया जुना रावत गाउँघरमा बसोबास गर्ने सामान्य महिला हुन् । सिलाइकटाइ सिप सिक्नुभन्दा पहिला गाउँघरमा मेलापात गर्दै दिन बिताउने गर्दथिन् । अहिले उनको सिलाइकटाइ सिप आम्दानीको मुख्य स्रोत बनेको छ । उनले तीन महिनाको सिलाइकटाइ तालिम र ४५ दिने एडभान्स सिलाइकटाइ तालिम लिएकी हुन्। त्यो दुई किसिमको तालिमले उनलाई सिलाइकटाइ कार्यमा व्यावसायिक बनायो । अहिले गाउँमै सिलाइकटाइको पसल थापेर बसेकी छिन् । उनले सानै उमेरमा विवाह गरेर उच्च शिक्षासम्म पढ्न पाइनन् । सानै उमेरमा विवाह भएपछि बालबच्चा जन्मिए । घरमा पढ्ने–लेख्ने वातावरण भएन । उनका पाँच वर्षमुनिका दुई बच्चा छन्।
घरपरिवार भइसकेपछि उनले आयआर्जनको स्रोत खोजी गर्न थालेकी थिइन् । त्यही वेला वर्ल्डभिजन र किर्डाक नेपाल जुम्लाले तीनमहिने आधारभूत सिलाइकटाइको तालिम सञ्चालन गर्ने तयारी गरेको थियो । त्यो तालिममा उनी समावेश भइन् । तीन महिनाको सिलाइकटाइ तालिम सफलतापूर्वक सम्पन्न गरिन् । त्यसपछि उनी पुनः ४५ दिने सिलाइकटाइको एडभान्स तालिममा छनाेट भइन् । त्यो तालिमबाट उनी महिलाले लगाउने विभिन्न प्रकारका कुर्था, सुरुवाल, चोलो, पेटिकोट, बच्चाहरूका कपडा पूर्ण रूपमा सिलाउन सक्ने भइन् ।
सिलाइकटाइको सिप सिकेपछि उनले गाउँमै पसल सञ्चालन गर्ने योजना बनाइन् । तर, उनीसँग सिलाइकटाइको मेसिन भने थिएन । आफूसँग मेसिन नभए पनि भाडामा मेसिन ल्याएर पसल सञ्चालन गरिन् । डेढ वर्षसम्म उनले भाडाकै मेसिन प्रयोग गरेर भए पनि पसल सञ्चालन गरिन् । गाउँका छिमेकीले नियमित उनकै पसलमा कपडा सिलाउन ल्याउन थाले। पसल पनि राम्रो चल्न थाल्यो । आम्दानी पनि राम्रै हुन थाल्यो ।
सिलाइकटाइको पसल राम्रो चलेर मासिक १५–२० हजार आम्दानी हुन थालेपछि वर्ल्डभिजन र किर्डाक नेपालले उनलाई सिलाइकटाइको मेसिन पनि दिए । उनले मेसिन प्राप्त गरेपछि अहिले भाडाको मेसिन प्रयोग गर्नुपरेको छैन । उनका सासूससुरा, देवरसहित आठजनाको घरपरिवार रहेको छ ।
घरको आम्दानीको स्रोत राम्रो भएपछि उनका (जुना) श्रीमान् तीर्थबहादुर बस्नेत सुर्खेतमा लोकसेवा आयोग तयारी गर्दै आएका छन् । खरिदार, नायव सुब्बाको परीक्षा दिनका लागि लोकसेवा आयोगको तयारी गरेका हुन् ।
सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगमा वर्षमा धेरै महिला तथा पुरुषले व्यावसायिक रूपमा सिप सिक्नका लागि तालिम लिने गर्दछन् । जुनाजस्ता व्यक्तिले सिप सिकेर व्यावसायिक बन्ने भने कमै देखिने गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगी बताउँछन् । उनले भने, ‘हाम्रो कार्यालयले पनि धेरैलाई यस्ता व्यावसायिक रूपमा उद्यमी बनाउने तालिम दियौँ । तर, औँलामा गन्न सकिने थोरै व्यक्ति मात्रै व्यावसायिक बनेको देखिन्छ ।’