
दासप्रथाका दिनमा एक मालिकसँग अनेकौँ दास हुन्थे । तिनैमध्ये एक दास थिए लुकमान । एक मामुली दास भए पनि लुकमान निकै बुद्धिमान् थिए । जसले गर्दा उनको नाम दूरदराजका बस्तीसम्म फैलिएको थियो । आफ्ना दासको ख्यातिबारे उनका मालिकले पनि सुनेका थिए ।
एक दिन मालिकले लुकमानलाई बोलाएर भने– तिमी निकै बुद्धिमान् छौ भन्ने मैले सुनिरहेको छु । म तिमीलाई एउटा काम दिन्छु । तिमीले त्यसमा आफ्नो बुद्धिमत्ता सिद्ध गर्न सक्यौ भने म तिमीलाई यो दास जीवनबाट मुक्ति दिनेछु । अब तिमी जाऊ र हाम्रो बाख्रा फर्ममा मरेको कुनै बोका या बाख्रालाई काटेर त्यसको शरीरको सबैभन्दा असल भाग लिएर आऊ । लुकमानले आदेशको पालना गरे र मरेको बाख्राको जिब्रो निकालेर मालिकको अगाडि राखिदिए । मालिकले जिब्रो असल हुनुको कारण सोधे । लुकमानले भने– शरीरको सबैभन्दा असल भाग जिब्रो नै हो । जिब्रो असल भए बाँकी भाग सबै असल नै असल लाग्छन् । मालिकले भने– ठिकै छ । अब जाऊ र सबैभन्दा खराब भाग लिएर आऊ ।
लुकमान बाहिर गएर तुरुन्तै फर्किए र सोही जिब्रो मालिकको हातमा राखिदिए । फेरि पनि मालिकले कारण सोधे । लुकमानले भने– मालिक, बोल्ने क्षमता सबैसँग हुन्छ । तर, बोल्न कसैकसैले मात्र जानेका हुन्छन् । के बोल्ने, कहिले बोल्ने, कस्ता शब्द प्रयोग गर्नेजस्ता कला कमैले मात्र जानेका हुन्छन् । जिब्रोले गर्दा नै संसारमा ठुल्ठुला युद्ध भएका छन् र जिब्रोकै कारण रोकिएका पनि छन् । जिब्रो तीन इन्चको त्यो हतियार हो, जसले ६ फिट अग्लो मान्छेलाई सजिलै मार्न पनि सक्छ र मरेको मान्छेमा प्राण भर्न पनि सक्छ । जिब्रोको सदुपयोगबाट यही धर्तीलाई स्वर्ग बनाउन सकिन्छ भने दुरुपयोगबाट नर्क बनाउन । जिब्रोकै गलत प्रयोगका कारण महाभारत युद्ध भएको थियो ।
आफ्ना दासबाट यति गज्जबको शिक्षा पाएपछि मालिक निकै खुसी भए र उनले दास लुकमानलाई तत्काल दासत्वबाट मुक्त गरी स्वतन्त्र गरिदिए ।