
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङबिच आज महावाणिज्य दूतावासमा भेटवार्ता सम्पन्न भएकाे छ । निरौलाले लिपुलेक नाकाबारे भारत र चिनबिच भएको पछिल्लो सहमतिप्रति चासो राखेका छन् ।
महावाणिज्यदूत निरौलाले महावाणिज्य दूतावासमा महानिर्देशक तिङको स्वागत गर्दै महानिर्देशकको पहिलोपटक भएको महावाणिज्य दूतावास भ्रमणका लागि धन्यवाद ज्ञापन गरे । उनले नेपाल–चीनबिचको ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्दै चीन सरकारका तर्फबाट हालसम्म पुर्याएको साथ र सहयोगका लागि समेत धन्यवाद दिए ।
सो अवसरमा उनले यो वर्ष नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव भएकाले विविध कार्यक्रमहरू आयोजना भइरहेका उल्लेख गर्दै पारस्पारिक सदभाव, एक–अर्काको सार्वभौमिकताको सम्मान र आन्तरिक मामिलामा अहस्तक्षेपमा आधारित भई दुवै देशबाट भइरहेका कार्यले सम्बन्धमा थप बल पुगेको बताए ।
गत असार २४ मा ल्हेन्दे खोलामा गएको बाढीका कारण त्यहाँ रहेको नेपाल–चीन मैत्री पुल बगाएपछि नेपाली नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थित रूपमा राखेको, दुईपटक गरेर ३७४ जना नेपालीलाई नेपाल पठाउन मद्दत पुर्याएको, सो स्थानमा फलामे पुल निर्माण गरिरहेकोमा धन्यवाद दिँदै पुल निर्माणमा तीव्रता प्रदान गर्न, सम्भव भएसम्म त्यहाँ ह्युमपाइप राखेर अस्थायी व्यवस्था गर्न र त्यहाँको गोदाममा नेपाल लैजाने गरी राखिएको सामान नेपाल पठाउन सहजीकरणका लागि अनुरोध गरे । त्यसैगरी उनले हालसालै चीन र भारतबिच लिपुलेक नाका सञ्चालनका सन्दर्भमा भएको सहमतिमा चासो राख्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको एवं नेपाल र चीन दुवै राष्ट्रले हालसम्म एक–आपसको सार्वभौमसत्ताको सम्मान गरिरहेको परिप्रेक्ष्यमा सोहीअनुसार व्यवस्थापनका लागि अनुरोध गरे ।
उक्त अवसरमा महानिर्देशक तिङले नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउन हालसम्म गरिएका संयुक्त प्रयासहरूमा महावाणिज्य दूतावासबाट भएको योगदानका लागि धन्यवाद ज्ञापन गरे भने रसुवा नाका व्यवस्थापनका कार्यमा तीव्रता दिइएको बताए ।
उनले नेपाल र चीनबिच हुने वाणिज्य व्यापारको मुख्य आधारका रूपमा रहेका रसुवागढी र तातोपानी नाकालाई व्यस्थापन गर्न र किमाथांका नाका सञ्चालन गर्न चीन सरकार तत्पर रहेको बताउँदै यसका लागि संयुक्त प्रयास जरुरी भएको बताए । यसका साथै सो अवसरमा उनले दुई देश र नागरिकहरूको हितमा हुने कार्यमा सहकार्य गर्न तत्पर रहेको बताए ।