मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
२o८२ भदौ ११ बुधबार २१:२३:oo
Read Time : > 1 मिनेट
समाचार

रुबी हत्याका मुख्य अभियुक्त लक्ष्मण पासवानको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार २१:२३:oo

रौतहटको माधव नारायण नगरपालिका–६ माधोपुरकी रुबी साह हत्याकाण्डका प्रमुख अभियुक्त लक्ष्मण पासवानको पनि मृत्यु भएको छ । सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु भएको हो । जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो ।

आफ्नो शरीरमा आफैँ आगो लगाउनुअघि करिब नौ मिनेटको भिडियो सन्देशमा पासवानले रुबीको हत्या गरेको स्वीकार गरेका थिए । रुबीकी आमा नै प्रमुख दोषी रहेको भन्दै भिडियो बनाएका थिए । माधव नारायण नगरपालिका–६ स्थित खेतमा पासवानलाई जलेको अवस्थामा प्रहरीले फेला पारेको थियो । 

रुबी साह केही समयदेखि गौरमा आमासँग बस्दै आएकी थिइन् । गत आइतबार सुटकेसभित्र उनको शव फेला परेको थियो । त्यसपछि घटनाको प्रहरीले अनुसन्धान गर्दा अनुसन्धानको सुई लक्ष्मण पासवानतिर गएको थियो ।

लक्ष्मण पासवानले भिडियो सन्देशमा रुबीकी आमाकै कारण उसको हत्या गर्नुपर्ने अवस्था आएको बताएका थिए । उनले भिडियो सन्देशमा कसरी हत्या गरे भन्ने नखुलाए पनि आफूहरूबिचको प्रेमका कारण यो घटना भएको जिकिर गरेका छन् । रुबीसँग कक्षा १० मा पढ्दा प्रेम भएको र जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा कोर्ट म्यारिज गरेको बताएका छन् । रुबीकी आमा र दुवै घरपरिवारले विवाह स्वीकार नगरेको पासवानले भिडियोमा बताएका थिए ।

भारतको मुजफरपुरका शिवसागर साहसँग रुबीको विवाह भएको थियो । हत्या भएको राति आफू दुवैजना मर्ने निधो गरेको लक्ष्मणले उल्लेख रहेका छन् । आफू गरिब रहेको र रुबीकी आमाले हुनेखाने धनीमनीसँग बिहे गराइदिएको उनको भिडियोमा उल्लेख छ । उनले बनाएको भिडियोमा अब आफूहरूको भेट माथि हुनेछ भनेका छन् । पासवाले भिडियोमा आफू जेल जान नचाहेको र रुबीलाई भेट्न जान लागेकाले र पक्राउ परेका रिक्साचालकको कुनै दोष नरहेको बताएका थिए । पासवानले शरीरमा रुबीको फोटो र नामको ट्याटुसमेत बनाएको देखिन्छ । घाइते अवस्थामा पक्राउ परेका पासवानलाई गरुडास्थित बेटर नेपाल हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको थियो ।

लक्ष्मण १४ वर्षअघि रुबीलाई अपहरण गरेको आरोपमा पक्राउसमेत परेको खुलेको छ । रौतहट प्रहरीका अनुसार उनी त्यतिवेलै अपहरण तथा शरीर बन्धक, मानव बेचबिखनमा मुद्दामा १७ दिन हिरासत बसेको खुलेको छ । लक्ष्मणले रुबीलाई १४ वर्षको उमेरमा भगाएर भारत लगेका थिए। त्यसपछि रुबीको परिवारले लक्ष्मणसहित तीनजनाविरुद्ध अपहरणको मुद्दा दर्ता गराएका थिए।