
लगातारको वर्षापछि अवरुद्ध बनेको त्रिभुवन राजपथ र कान्ति लोकपथ दुवै सडक करिब १४ घन्टापछि सञ्चालनमा आएका छन्।
शुक्रबार राति १० बजेतिर भीमफेदी गाउँपालिका वडा नम्बर १ बागझोरा नजिक खसेको पहिरो डिभिजन सडक कार्यालय हेटौँडा र नेपाली सेनाको एक्साभेटर प्रयोग गरी हटाएपछि राजमार्ग खुलेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
राजमार्ग अवरुद्ध हुँदा १४ घण्टादेखि सवारीसाधन रोकिएका थिए । यस्तै, हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ पनि शनिबार बिहान ११:१५ बजेदेखि सञ्चालनमा आएको छ। शुक्रबार साँझ भीमफेदी गाउँपालिका–८, भर्याङडाँडा, बकैया गाउँपालिका–१२, सिमात खोला र जितपुर भञ्ज्याङमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त पहिरो हटाइएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको हो।
सडकको माथिल्लो भागबाट ढुंगा खस्ने सम्भावना उच्च भएकाले यात्रामा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।