
विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलले बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले माइतीघर मण्डलामा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । विद्यालयका सञ्चालक र प्रिन्सिपलहरू आ-आफ्ना ब्यानर सडकमा राखेर प्रदर्शनमा उत्रिए । विद्यालय शिक्षा विधेयकमा प्रस्तावित केही प्रावधान निजी विद्यालयमैत्री नभएको उनीहरूको भनाइ छ ।
विधेयकबाट पूर्ण छात्रवृत्ति शब्द हटाउनुपर्ने, पोशसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना-खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, गैरनाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्नेलगायतका माग निजी विद्यालयको छ ।
यस्तै, छात्रवृत्तिसम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५ प्रतिशत आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐनअन्तर्गतको विभेदकारी प्रावधान – जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटिइभिटी कार्यक्रमअन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनुपर्ने उनीहरूकाे माग छ ।