मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गौर घटना पूर्वाग्रही ढंगले अनुसन्धान गरिए मोर्चाले प्रतिकार गर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:३४:oo

संघीय लोकतान्त्रिक मोर्चाले गौर घटनाको एकपक्षीय, राजनीतिक प्रतिशोधी, पूर्वाग्रही र विभेदी मानसिकताले अनुसन्धान गरिए सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ । बुधबार थापागाउँस्थित जनता प्रगतिशील पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले तथ्यगत विषयवस्तुमा आधारित रहेर निष्पक्ष, तटस्थ, वास्तविकतामा आधारित अनुसन्धानको पक्षमा रहेको स्पष्ट पारेको छ ।

एकपक्षीय र पूर्वाग्रहले प्रेरित भई तथ्यलाई तोडफोड गरी प्रचारित गर्ने, व्यक्तिकेन्द्रित दुष्प्रचार चलाउने खेलहरू भइरहेको भन्दै मोर्चाले त्यसले राजनीतिक प्रतिशोधको मानसिकता स्पष्टसँग छर्लंग भएको निष्कर्ष निकालेको छ । ‘०६३ चैत ७ गते रौतहटको गौरमा राजनीतिक विवाद र त्यसपछि भएको भिडन्तका कारण घटित दु:खद घटनाको छानबिनको सम्बन्धमा ०८२ भदौ २ गते सर्वोच्च अदालतबाट भएको परमादेशबारे संघीय लोकतान्त्रिक मोर्चाको ध्यानाकर्षण भएको छ । परमादेशको पूर्णपाठ प्राप्त भइनसकेको भए पनि यदि भनिएजस्तो छानबिन वा अनुसन्धान सफा नियत, तटस्थता, कानुनसम्मत र सम्बन्धित सबैलाई दायरामा ल्याएर गरिन्छ भने यस्तो छानबिन र अनुसन्धानप्रति कसैको आपत्ति हुने कुरै भएन । तर, जसरी एकपक्षीय र पूर्वाग्रहले प्रेरित भई एकपक्षीय रूपमा तथ्यलाई तोडफोड गरी प्रचारित गर्ने, व्यक्तिकेन्द्रित दुष्प्रचार चलाउने खेलहरू भइरहेका छन्, त्यसले राजनीतिक प्रतिशोधको मानसिकता स्पष्टसँग छर्लंग भएको छ,’ मोर्चाले भनेको छ । बैठकमा जसपा नेपालबाट उपेन्द्र यादव, रामकुमार शर्मा र मनीष सुमन, राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, रामनरेश राय, लोसपाबाट अध्यक्ष सर्वेन्द्रनाथ शुक्ल, ज्ञानेन्द्र झा, नागरिक उन्मुक्ति पार्टीबाट रेशमलाल चौधरी, जनता प्रगतिशील पार्टीबाट हृदयेश त्रिपाठीलगायत थिए ।

रुपन्देहीमा उम्मेदवार छान्न रेशम चौधरीलाई जिम्मा
मोर्चाको बैठकले रुपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार तय गर्न नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई जिम्मेवारी दिएको छ । मोर्चाको यसअघिको बैठकले नाउपाको उम्मेदवारलाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गरेको थियो । साबिककै निर्णयबमोजिक उम्मेदवार छान्ने जिम्मेवारी चौधरीलाई दिइएको जसपा नेपालका प्रवक्ता मनीष सुमनले बताए ।

‘उपनिर्वाचन प्रयोजनका लागि संघीय लोकतान्त्रिक मोर्चाले साबिकमा गरेकै निर्णयप्रति पुन: प्रतिबद्धता जनाउँदै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार तय गर्ने जिम्मेवारी दिइएको छ,’ उनले भने । उपनिर्वाचनको प्रचारप्रसार तथा परिचालनका लागि मोर्चाको सचिवालयलाई जिम्मेवारी दिइएको छ । आन्तरिक विवादका कारण आगामी उपनिर्वाचनका लागि समयमै दल दर्ता नगर्दा नाउपाले उपनिर्वाचनमा भाग लिन नपाउने भएको छ । चौधरीले तय गर्ने उम्मेदवार मोर्चाको साझा उम्मेदवार हुनेछन् । उम्मेदवारी भने उनले स्वतन्त्र रूपमा गराउनेछन् ।