
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताको भोटको सम्मान गर्दै जनमुखी, गरिबमुखी, न्यायमुखी र आयमुखी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार मनहरी गाउँपालिकामा आयोजित स्वागत तथा तीज विशेष कार्यक्रममा सहभागी हुँदै बानियाँले आफू निर्वाचित भएको क्षेत्रको समग्र विकासमा दृढताका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘मलाई प्रदेश सभा सदस्य निर्वाचित गराउन मनहरीका जनताले ठूलो योगदान गर्नुभयो । म तपाईंहरूको विश्वासकै कारण आज मुख्यमन्त्री बन्न सकेको हुँ,’ उनले भने, ‘अब यो वा त्यो पार्टी नभनी सबै जनताको आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर काम गर्छ ।’
कार्यक्रममा बानियाँले लामिटार–चकरी–मकरी सडकलाई कालोपत्रे गर्ने विशेष प्राथमिकताको कामका रूपमा अघि बढाउने बताए । साथै, पुल, सडक र अन्य पूर्वाधार विकासमा आफूले सक्रियता देखाउने आश्वासन समेत दिए । महिलाको महान पर्व हरितालिका तीजलाई सभ्य, भव्य र सुसंस्कृत रूपमा मनाउन पनि उनले सुझाव पनि दिए ।
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री बानियाँसहित मन्त्रीहरू प्रभात तामाङ र कृष्णकुमार तामाङलाई मनहरी गाउँपालिकाले सम्मान एवं बधाई दिएको थियो ।
यसअघि बुधबार दिउँसो मुख्यमन्त्री बानियाँले मनहरीस्थित सम्पर्क कार्यालयमा पुगेर स्थानीय जनताको समस्या र गुनासा प्रत्यक्ष रूपमा सुनेका थिए । उक्त अवसरमा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, कांग्रेस नेतृ कमला मैनालीलगायत उपस्तिथित थिए।