
दोस्रो संस्करणको एभरेस्ट प्रिमियर लिगमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दै छन् । भदौको तेस्रो सातामा हुने लिगमा प्रत्येक टोलीमा अनिवार्य तीन विदेशी र एकजना ट्यालेन्ट हन्टबाट खेलाडी भित्र्याउनुपर्ने प्रावधान छ । लिग नजिकिरहँदा सहभागी ६ मध्ये दुई टोलीले मात्र अहिलेसम्म विदेशी खेलाडी अनुबन्ध गरेका छन् ।
काठमाडौं स्पाइकर्सले विदेशी खेलाडीको कोटा पूरा गरेको छ । ललितपुरले थाइल्यान्डका एकजना खेलाडी अनुबन्ध गर्यो । साबिक विजेता कर्णाली यसविस, मधेश युनाइेटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले विदेशी खेलाडी छिट्टै अनुबन्ध गर्ने जनाएका छन् । लिगमा कुल १८ विदेशी खेलाडीले भलिबल कोर्टमा प्रतिस्पर्धा गर्नेछन् । काठमाडौंले सोमबार इटालियन खेलाडी ओउमाया कोडिएललाई अनुबन्ध गर्दै तेस्रो विदेशी खेलाडी भित्र्याएको हो । लिगको नियमअनुसार हरेक फ्रेन्चाइज टोलीले तीनजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछ । काठमाडौंले आफ्नो तेस्रो विदेशी खेलाडीका रूपमा मिडल ब्लकर र अपोजिट ओउमायालाई अनुबन्ध गरेको हो ।
यसअघि काठमाडौंले बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतिजिनालाई भित्र्याएको थियो । तीन फरक पोजिसनका खेलाडीलाई आउँदा काठमाडौंले आफ्नो टिमको सन्तुलन बलियो बनाएको छ । पहिलो सिजनमा काठमाडौंबाट टर्की र बुल्गेरियाका विदेशी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनी पोसेसनमा बढी फिट देखिन्छिन् । उनी अपोजिट हिटरमा पनि खेल्न सक्छिन् । कोटमा विपक्षीको रणनीति अनुसार उनले अट्याक भूमिका पनि निर्वाह गर्छिन् । मोरोक्कोमा जन्मिएकी कोडिएलसँग इटालीमा बसाइँसराइ गरेपछि यहीँबाटै भलिबल खेलिन् । उनले इटली, फ्रान्स, मोरोक्को, साउदी अरेबियालगायत देशमा विभिन्न फ्रेन्चाइज टोलीमा रहेर प्रतियोगिता खेलिसकेकी छिन् ।
युरोप र एसियन फ्रेन्चाइजको अनुभव
कोडिएलले पछिल्लो समयमा साउदी अरेबियाको अल इतिहाद एफसी, मोरोक्कोको अमान मार्राकेच र इटलीको सिर्देको पेस्काराजस्ता टिमबाट व्यावसायिक भलिबल खेलेकी छिन् । उनले सन् २०१९ मा मोरोक्को राष्ट्रिय टोलीबाट अफ्रिकन खेलमा कांस्य पदक जितेकी थिइन् । सन् २०२१ मा किगालीमा भएको अफ्रिकन महिला भलिबल च्याम्पियनसिपमा पनि उनले मोरोक्कोका लागि कांस्य जितेकी थिइन् ।
पहिलोपटक नेपालमा लिग खेल्न आउन लागेकी कोडिएल निकै उत्साहित छिन् । ‘नेपालमा एभरेस्ट महिला भलिबल लिगमा खेल्न पाउनु मेरा लागि ठुलो सम्मान हो । यो मेरो पहिलो अनुभव हुनेछ,’ कोडिएलले सोसल मिडियामा भनेकी छिन्, ‘नेपालबारे बुझ्न, फ्यानलाई भेट्न र कोर्टमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न साँच्चै उत्सुक छु,’ उनले भनिन् ।
ललितपुरमा थाइल्यान्डकी पट्राथिप
लिगमा काठमाडौंबाहेक विदेशी खेलाडी भित्र्याउनेमा ललितपुर दोस्रो फ्रेन्चाइज टोली हो । ललितपुरले गत साता थाइल्यान्डकी पट्राथिपलाई अनुबन्ध गरेको थियो । गत संस्करण ललितपुर उपविजेता हुँदा पट्राथिपले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । ‘अघिल्लो वर्ष हामी जितको नजिक पुग्दा पनि जित्न असफल भयौँ, त्यो चोट अझै ताजा नै छ,’ उनले भनेकी छिन्, ‘पहिलाको कमीकमजोरी सुधारी हामी संस्करणको उपाधि जित्ने प्रयास गर्छौँ ।’
ललितपुर क्विन्सको गुडविल एम्बासडरमा आयशाको निरन्तरता
ललितपुर क्विन्सले दक्षिण एसियाली खेलकुद (साग)को तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई गुडविल एम्बासडरमा निरन्तरता दिएको छ । ललितपुर क्विन्सको कार्यालयमा सोमबार क्लबका अध्यक्ष रमेश पराजुली र आयशाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि आयशाले ललितपुर क्विन्ससँग सम्झौता नवीकरण गर्न पाउँदा खुसी लागेको बताइन् । ‘फेरि पनि ललितपुर क्विन्ससँग सम्झौता गर्न पाउँदा निकै खुसी छु,’ उनले भनिन्, ‘यो मेरा लागि सम्मान हो ।’ दोस्रो संस्करणमा ललितपुरले उपाधि जित्नेमा आयशा आशावादी छिन् । ‘पहिलो संस्करणमा ललितपुरको खेलमा सहभागी हुँदा म धेरै रमाएँ । दुर्भाग्यवश, हामी अन्तिम समयमा चुक्याँै,’ उनले भनिन्, ‘मलाई आशा छ । योपटक हाम्रो टोली विजयी हुनेछ ।’ यसपटक पनि घरेलु भलिबलमा सफल प्रशिक्षकमध्ये एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ ।