
गण्डकी प्रदेशमा गत पुस महिनायता डेंगु संक्रमित हुनेको संख्यन ८११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुजनामा उक्त संक्रमण पुष्टि भएको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी कास्कीमा ४४१, तनहुँमा १२०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एकजनामा डेंगु रोग देखिएको हो ।
प्रदेशभरमा पुष्टि भएका संक्रमितमध्ये आधाभन्दा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन् । पोखरामा हालसम्म ४३२ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा १२९ जना डेंगु संक्रमणका बिरामी थपिएका थिए ।
प्रदेशको राजधानी पोखरा गत वर्ष डेंगको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६ सय जनाभन्दा बढीमा डेंगु संक्रमण भएको थियो ।
डेंगु संक्रमणबाट पोखरामा तीनजनाको मृत्यु भएको थियो । साउनदेखि कात्तिकसम्म डेंगु संक्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा संक्रमणको दर बढ्दै जाने अनुमान छ ।
डेंगु न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले सक्रियता बढाएका छन् । मनाङ जिल्लामा भने यस वर्ष अहिलेसम्म डेंगु देखिएको छैन ।
स्थानीय तहले डेंगु रोग फैलन नदिन डेंगु सार्ने लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।
डेंगु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिक स्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गरेको छ ।