मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
२o८२ भदौ १ आइतबार ११:५५:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिमा क्षेत्रमा ब्याजदर र बाढीको असर : जीवन बिमा कम्पनीको नाफा १६ प्रतिशत र निर्जीवनको २९ प्रतिशतले घट्यो

आर्थिक वर्ष ०८१/८२ मा जीवन बिमा कम्पनीले ६ अर्ब र निर्जीवनले चार अर्ब नाफा कमाए, १५ कम्पनीको नाफा घट्यो, १३ को बढ्यो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार ११:५५:oo

बैंक तथा वित्तीय संस्थाको न्यून ब्याजदर र बाढीपहिरोको असर बिमा क्षेत्रमा देखिएको छ । मुद्दती निक्षेपको ब्याजदर घट्दा बिमा कम्पनीहरूको आम्दानी प्रभावित भएको छ भने बाढीपहिरोबाट भएको क्षतिको दाबी बढ्दा खर्च दायित्व बढेको छ । यसले गर्दा बिमा कम्पनीहरूको नाफा नै घटेको देखिएको छ ।

गत आर्थिक वर्ष ०८१/८२ मा जीवन बिमा र निर्जीवन बिमा कम्पनीको खुद नाफा घटेको छ । जीवन बिमा कम्पनीहरूको १६ प्रतिशत र निर्जीवन बिमा कम्पनीहरूको २९ प्रतिशतले खुद नाफा घटेको हो । हाल नेपालमा १४–१४ वटा जीवन र निर्जीवन बिमा कम्पनी छन् । उनीहरूले शुक्रबारसम्म सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

६ जीवन बिमा कम्पनीको नाफा बढ्यो, आठको घट्यो
आव ०८०/८१ मा १४ जीवन बिमा कम्पनीहरूको बिमांकीय मूल्यांकनअघिको खुद नाफा सात अर्ब १७ करोड ३५ लाख ६० हजार रुपैयाँ थियो । गत आव ०८१/८२ मा भने उनीहरूको यस्तो नाफा ६ अर्ब दुई करोड ४७ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

बिमांकीय मूल्यांकनका क्रममा बिमा कोषबाट १० प्रतिशतसम्म रकम नाफा नोक्सान खातामा सार्न सकिन्छ । त्यो वेला जीवन बिमा कम्पनीको नाफा थप बढ्ने जानकारहरू बताउँछन् । तर, अघिल्लो आवको बिमाकीय मूल्यांकनअघिको नाफाकै तुलनामा गत आवको खुद नाफा घटेको हो ।

मुख्यत: बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएपछि जीवन बिमा कम्पनीहरूको नाफा घटेको हो । जीवन बिमा कम्पनीहरूले ७० प्रतिशतभन्दा बढी लगानी बैंकको मुद्दती निक्षेपमा गरेका हुन्छन् । त्यसको ब्याज आम्दानी नै जीवन बिमा कम्पनीहरूको आम्दानीको मुख्य स्रोत हो । पछिल्लो डेढ–दुई वर्षयतादेखि ब्याजदर निरन्तर घट्दै आएपछि बिमा कम्पनीहरूको ब्याजमार्फत हुने आम्दानी पनि घटेको हो । 

नेपाल जीवन बिमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले ब्याजदर घटेकै कारण नाफा घटेको बताए । ‘जीवन बिमा कम्पनीको आम्दानीको मुख्य स्रोत नै ब्याज आम्दानी हो, अहिले ब्याजदर घटेका कारण कम्पनीहरूको ब्याज आम्दानी घटेको छ,’ उनले भने, ‘त्यसैले नाफा घटेको हो । यसका बाबजुद पनि केही कम्पनीले नाफा बढाएका पनि छन् ।’ कम्पनीहरूले अन्य क्षेत्रमा लगानी गरिरहेका भए पनि त्यसले तत्काल प्रतिफल नदिने उनले जानकारी दिए ।

समीक्षा वर्षमा आठ जीवन बिमा कम्पनीको नाफा घट्दा ६ कम्पनीको भने बढेको छ । समीक्षा बर्षमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा कमाएको छ । गत आवमा उक्त कम्पनीले ६० करोड ३२ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको छ ।

दोस्रो स्थानमा भने आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । समीक्षा वर्षमा उक्त कम्पनीले ५८ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको तथ्यांकमा उल्लेख छ । तेस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५७ करोड एक लाख ९५ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । 

यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले ५४ करोड ६९ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सले ५४ करोड २४ लाख मेट लाइफ इन्स्योरेन्सले ४९ करोड २४ लाख, सिटिजन लाइफ इन्स्योरेन्सले ४२ करोड ५० लाख, नेसनल लाइफ इन्स्योरेन्सले ४१ करोड २८ लाख, एसियन लाइफ इन्स्योरेन्सले ४० करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यस्तै, सानिमा लाइफ इन्स्योरेन्सले ३७ करोड ७४ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३७ करोड सात लाख, सूर्यज्योति इन्स्योरेन्सले ३५ करोड दुई लाख, एलआइसी नेपालले ३१ करोड ५८ लाख र राष्ट्रिय जीवन बिमा कम्पनीले दुई करोड आठ रुपैयाँ नाफा कमाएको देखिन्छ ।

सात निर्जीवन बिमा कम्पनीको नाफा बढ्यो, सातको घट्यो
अघिल्लो आव ०८०/८१ मा १४ निर्जीवन बिमा कम्पनीले पाँच अर्ब ८५ करोड २९ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । गत आव ०८१/८२ मा भने उनीहरूले चार अर्ब १६ करोड तीन लाख ११ हजार रुपैयाँ मात्रै नाफा कमाएका छन् । तथ्यांकअनुसार सात कम्पनीको नाफा बढेको छ । सात कम्पनीको नाफा घटेको छ ।

निर्जीवन बिमा कम्पनीहरूले पनि ७० प्रतिशतभन्दा बढी लगानी बैंकको मुद्दती निक्षेपमा गरेका छन् । बैंकहरूले दिने ब्याजदर घटाएपछि निर्जीवन बिमा कम्पनीहरूको नाफामा कमी आएको हो ।

यस्तै, गत आवमा दुई ठुला बाढीपहिरो आए । असार १०–१२ को बाढीपहिरोले निर्जीवन बिमा कम्पनीहरूमा झन्डै १३ अर्ब रुपैयाँको दाबी पर्‍यो । यसैगरी, असार २३ गते रसुवामा आएको बाढीका कारण पनि एक अर्ब रुपैयाँ हाराहारीको दाबी परेको छ । यो नियमित प्रकृतिको नभएर भइपरि आउने अतिरिक्त दाबी हो, जुन आफैँमा उच्च थियो । त्यसले कम्पनीले दाबी खर्च बढाएको छ । दाबी हुन बाँकी दायित्वबराबरको रकम पनि प्रोभिजिनीमा राखिएको छ । फलस्वरूप नाफा प्रभावित भएको कम्पनीहरू बताउँछन् ।

नेपाल बिमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा लुम्बिनी इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले ब्याजदर कम हुँदा र बाढीपहिरोको कारण नाफा घटेको बताए । ‘ब्याजदर कम भएपछि स्वत: आम्दानी घट्यो । त्यसमाथि गत आवमा बाढीपहिरोले पनि दाबी बढायो । त्यसले दाबी अनुपात पनि बढ्यो,’ उनले भने, ‘त्यसले गर्दा निर्जीवन बिमा कम्पनीहरूको नाफा घट्यो ।’ 

गत आवमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा कमाएको छ । उक्त कम्पनीले ७१ करोड ३१ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । दोस्रो नम्बरमा रहेको नेको इन्स्योरेन्सले ५५ करोड आठ लाख २६ हजार र तेस्रो स्थानमा रहेको हिमालयन एभरेस्ट इन्स्योरेन्सले ५३ करोड २३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

यस्तै, शिखर इन्स्योरेन्सले ४५ करोड २७ लाख, राष्ट्रिय बिमा कम्पनीले ४२ करोड ७६ लाख सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४० करोड ३२ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३६ करोड ४९ लाख र सानिमा जिआइसी इन्स्योरेन्सले ३५ करोड तीन रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, नेपाल इन्स्योरेन्सले ३१ करोड ६४ लाख, युनाइयटेड अजोड इन्स्योरेन्सले २१ करोड ६४ लाख, प्रभु इन्स्योरेन्सले २१ करोड १९ लाख, एनएलजी इन्स्योरेन्सले १६ करोड ११ लाख र दी ओरियन्टल इन्स्योरेन्सले आठ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । तर, नेसनल इस्योरेन्स भने ६२ करोड ३९ लाख १२ हजार रुपैयाँले घाटामा देखिएको छ ।