मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १ आइतबार १९:२३:oo
Read Time : < 1 मिनेट
समाचार

‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार १९:२३:oo

सर्लाही हरिवन–८ निवासी स्व. तुलसीप्रसाद भट्टराईको स्मृतिमा लेखिएको पुस्तक ‘कर्मयोगी तुलसीप्रसाद भट्टराई स्मृतिग्रन्थ’ लोकार्पण गरिएको छ । शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा तुलसी–गणेश भट्टराई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पूर्वरक्षामन्त्री हरि उप्रेती, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, स्व. भट्टराईकी धर्मपत्नी रत्नमञ्जरी भट्टराई, सर्लाहीका राजनीतिज्ञ तथा समाजसेवी विनोद खनाललगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।

४ असार १९९७ मा ओखलढुंगामा जन्मिएका भट्टराईको १८ साउन ०८१ मा निधन भएको थियो। ओखलढुंगा र सर्लाहीमा समाज सुधारमा योगदान पुर्याएका स्व. भट्टराईका स्मृतिमा उनका छोराहरू कुमार, अरुण र नरेशले तुलसी–गणेश भट्टराई स्मृति प्रतिष्ठान गठन गरी सामाजिक कार्य गरिरहेका छन् । स्व. तुलसीप्रसादका जेठा छोरा गणेशको १२ माघ ०७५ मा बारामा सवारी दुर्घटनामा निधन भएको थियो । 

स्मृतिग्रन्थमा स्व. भटराईका १८ लेख र अन्य ४० लेखकका रचनाहरू समेटिएका छन् । ती रचनाले उनको सामाजिक योगदानलाई उजागर गर्ने उनका कान्छा छोरा एवं सञ्चारकर्मी नरेश भट्टराईले बताए ।

उनले भने, ‘पुस्तक पढेपछि अपरिचितका लागि पनि बा परिचित बन्नुहुन्छ । हाम्रो भट्टराई परिवारसँगै बासँग सामीप्यतामा रहनुभएकाले लेख्नुभएका लेखले अधिकांश विषय प्रस्ट्याएको छ । हामीले एउटा पुस्तकमार्फत बाले आफ्नो जीवनकालमा गर्नुभएको रचनालाई अभिलेखका रूपमा संग्रहित गरेका छौँ ।’

पुस्तक दुई सय ९४ पृष्ठको  छ । पुस्तक डा. तुलसी भट्टराई र डा. होमप्रसाद भट्टराईले सम्पादन गरेका हुन् । पुस्तक लोकार्पण समारोहमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी, गीतकार दिनेश अधिकारी, पूर्वमहान्यायधिवक्ता बद्रीबहादुर कार्कीलगायत उपस्थित थिए ।