
धनकुटा नगरपालिका वडा नं. ३ कागतेमा रहेको यातायात व्यवस्था कार्यालय धनकुटा बजारमा सार्ने भएपछि स्थानीयवासीले विरोध गरेका छन्।उनीहरुले कार्यालय अन्यन्त्र नसर्न आग्रह गर्दै आन्दोलन सुरु गरेका छन्। सो कार्यालय धनकुटा नगरपालिका वडा नं.७ बसपार्कस्थित नगरपालिकाको व्यापारिक भवनमा सार्ने तयारी गरिएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।
कागतेमा यातयात कार्यालय सञ्चालनमा आएपछि सो क्षेत्रमा निक्कै चहलपहल बढेको थियो । कागतेमा रहेका साना–साना होटल, पसलहरु पनि व्यवसायिक रुपमा नै चल्न थालेका थिए । तर एकाएक धनकुटा नगरपालिकाको व्यापारिक भवनमा सार्ने तयारी गरिएपछि स्थानीयले विरोध जनाएका छन्। कोशी प्रदेश सरकारले यातायात कार्यालयलाई सार्ने निर्णय गरेको विरोधमा स्थानीयले जिल्ला प्रशासन कार्यालय धनकुटामा ज्ञापन–पत्र बुझाएका छन्।उनीहरुले स्थानीयवासीको माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन्।
सरकारी कदमको विरोध गर्दै स्थानीय संगठित बनेका छन्। स्थानीयवासीहरुको भेलाले लक्ष्मण घिमिरेको संयोजकत्वमा १५ सदस्य संघर्ष समिति नै बनाएका छन्। जसको सहसंयोजकमा करुणप्रसाद गुरागाई, सदस्यमा फडिन्द्र बस्नेत, दिनेश भण्डारी, नयन श्रेष्ठ, टिकाराम सन्जेल, कृष्णप्रसाद भण्डारी, त्रिभुवन कार्की, ज्ञानेन्द्र कार्की, भक्त मल्ल, सविन श्रेष्ठ, मीनबहादुर कार्की, गोविन्द वाग्ले, देवेन्द्र मिश्र, सकुन्तला श्रेष्ठ र कन्चन कार्की रहेको संघर्ष समितिका अध्यक्ष लक्ष्मण घिमिरेले बताए।
सो संघर्ष समितिले आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश, प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई, प्रदेशसभा सदस्यत्रय निरन राई, इन्द्रमणि पराजुली, इन्दिरा थापा र धनकुटा नगरपालिकालाई पनि बोद्धार्थ दिएका छन्। बल्लबल्ल चयामान हुन थालेको कागतेबाट यातायात कार्यालय सार्न नहुने धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले बताए।
२०७६ सालमा स्थापना भएको यातायात व्यवस्था कार्यालयले सवारी दर्ता नवीकरण, रुट परमिट, सवारी कर र सवारी जाँचपास लगायतका सेवा दिँदै आएको छ। अहिले कार्यालयबाट धनकुटा सहित पूर्वी पहाडका तेह्रथुम, भोजपुर र संखुवासभाका सेवाग्राहीलाई समेत सेवा प्रवाह गर्दै आएको छ ।