
अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एन्ड टी-२० शृंखलामा बंगलादेश ‘ए’ले नेपाललाई एक सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
शनिबार मरारा क्रिकेट ग्राउन्ड २ मा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८६ रन बनायो।
बंगलादेशका लागि जिसन आलमले ४६ बलमा पाँच छक्का र चार चौकासहित सर्वाधिक ७३ रन बनाए। यसैगरी, अफिफ हुसेनले अविजित ४८, मोहम्मद नइमले २५ र सइफ हसनले ११ रन बनाए।
नेपालका लागि रिजन ढकालले दुई तथा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट लिए ।
दुवै टोली पहिलो जितको लक्ष्यमा छन्। यसअघि नेपालले स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रन तथा बंगलादेशले पाकिस्तान साहिन्ससँग ७९ को हार बेहाेरेका थिए।