
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री केपी ओलीलाई ‘हाउ डेमोक्रेसिज डाई’ पुस्तक पढ्न आग्रह गरेका छन् । उनले त्यो पुस्तकमा लोकतन्त्रमाथि निर्वाचित नेताहरूले कसरी विधिको शासन भत्काउँदै लैजान्छन् भन्ने कुरा स्पष्टसँग लेखिएको हुनाले पढ्न प्रधानमन्त्रीलाई आग्रह गरे । ओली नेतृत्वको सरकारले गरेका कुरा र ‘हाउ डेमोक्रेसिज डाई’पुस्तकमा उस्तै भएको उनले उल्लेख गरे ।
ओली नेतृत्वको सरकारले भ्रष्टचार र बिचौलियाको संरक्षण गरेको भन्दै सरकारले नै लोकतन्त्रलाई दुर्घटनामा लैजान खोजेको आरोप लगाए । ‘दुई महिनादेखि आफ्नो पार्टी भिजिट भिजाको नाममा भइरहेको मानव तस्करीको विरुद्धमा आन्दोलन गरिरहँदा पासपोर्टको छपाइमा भागबन्डाको समाचार बाहिरियो, कुलिङ पिरियडको बदमासीको जिम्मेवारी लिनुपर्छ भन्ने निष्कर्ष निस्कियो, संसद चुप बस्यो, एयरपोर्टको अध्यागमन कार्यालयमा गृह मन्त्रालयका कर्मचारीले घुस लिएको खबर प्रहरीकोमा पुग्यो, तर गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि बढेन, लोकतन्त्र मास्न खोज्नेहरू आफूअनुकूल कानून बनाउँछन्, न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन्, कार्यकारी अधिकार बलियो बनाउँछन् र मिडियामाथि नियन्त्रण गर्न खोज्छन् अनि प्रधानमन्त्री भन्छन्– लोकतन्त्रविरोधी शक्तिहरू संसद् अवरुद्ध गर्छन्,’ उनले भने ।
उनले प्रधानमन्त्रीलाई आफू र आफ्नो सरकारले एक वर्षसम्म गरेका कामको मूल्यांकन गर्न आग्रह गर्दै रास्वपा सुशासन चाहन्छ। काण्डहरूमा छानबिन होस् भन्छ र भ्रष्टाचारी मन्त्रीहरू पदमा बहाल नहोस् भन्छ, तपाईं के भन्नुहुन्छ ? भनेर प्रश्न गरे ।