
कैलाली कारागारभित्र कैदीबन्दीमाथि भएको हमलामा ज्यान गुमाएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको शव आफन्तले उठाउने तयारी गरेका छन्। पीडित पक्ष र जिल्ला प्रशासन कार्यालयबिच सहमतिपछि सेती प्रादेशिक अस्पतालमा शवको पोस्टमार्टम भइरहेको छ।
मृतकका आफन्तलाई नियमानुसार राहत र क्षतिपूर्ति उपलब्ध गराउने, मृतककी छोरीको निःशुल्क शिक्षादीक्षाको व्यवस्था गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
यी विषयमा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले प्रतिबद्धता जनाएपछि आफूहरू शव उठाउन तयार भएको मृतकका भाइ विजय चौधरीले बताए। त्यस्तै, घटनाको छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता पनि प्रशासनले जनाएको मृतकका आफन्तले बताएका छन्। घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी पनि दिएको विजयले जानकारी दिए।
कैलाली कारागारभित्र शुक्रबार राति बन्दीगृहको ब्लक ‘ए’का कैदीबन्दीले ब्लक ‘बी’का कैदीबन्दीमाथि आक्रमण गर्दा एक कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए।