
आइतबार महाकाली नदीमा वेपत्ता भएका पन्तदिदिबहिनी बालिकाको खोजी कार्य जारी गरिएको छ । हिजो अबेर साँझसम्म नदीमा खोजेपनि नभेटाएपछि सोमबार पनि बिहानैदेखि खोजी कार्य शुरु गरिएको हो ।
कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले स्थानीय सहित सेना, प्रहरी र सशस्त्र प्रहरीले टुप, बोट मार्फत खोजी कार्य अघि बढाएको बताए । नुहाउनेक्रममा भीमदत्त नगरपालिका ११ भुजेलाका बालिकाद्वय दिदिबहिनी वेपत्ता भएका थिए ।
भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले विद्यालयबाट छुट्टी भएसंगै महाकालीमा नुहाउनका लागि ११ बर्षिया दाजु निरज पन्त(सागर)संगै महाकाली नदी किनार पुगेका बालिकाद्वय ६ बर्षिया जिविका पन्त र ७ बर्षिया सानवि पन्त बेपत्ता भएका बताए । भुजेलाका पन्त दाजुभाई पदम र मुकेश पन्तकी दुवै छोरी नुहाउने क्रममा बेपत्ता भएका हुन । बालिकाद्वय पन्तकी आफन्त छिमेकी रत्ना भारतीले भीनपा ११ भुजेला घाट कालो मुढा क्षेत्रबाट जिविका र सानविले हाम फालेको बताईन।
जेठो दाजु निरजले तिमिहरु यहाँ खडा हौँ, म पहिला किनारमा नुहाउँछु पछि तिमिहरु नुहाउँला भन्यो, दाजुको कुरा नसुनेर बहिनीहरुले माथिबाट हामफालेका रहेछन । उनीहरुसंगै ४ बर्षिया एक जना भाईपनि महाकाली नदीमा पुगेका थिए, उनले डरले ननुहाएको उनले बताईन । वेपत्ता बालिकाद्वय जिविका र सानवि भुवनेश्वरी विद्या मन्दिर(विद्यालय) कक्षा १मा अध्ययनरत छन । परीक्षा सकिएपछि घर पुगेका पन्त परिवारका चारै जना बालबालिका नुहाउन महाकाली पुगेका थिए । कलिला बालिका हराएपछि पन्त परिवार शोकाकुल भएको छ ।
भुजेला खोलामा धामी मृत भेटिए
भीनपा ११भुजेला गाँउका पन्तद्वय बालिका महाकाली नदीमा वेपत्ता भएको अर्को दिन सोही गाँउकै एक युवक खोलामा मृत भेटिएका छन ।
यसैविच सोमबार भुजेला खोलामा २१ बर्षिया प्रकास धामी मृत भेटिएका हुन । शनिबार रक्षाबन्धनदेखि घरपरिवारको सम्र्पकमा नआएका भुजेलाकै स्थानीय धामी मृत भेटिए पछि पन्त, धामी परिवार सहित गाँउ शोकमा डुबेको छ । गत बर्ष बैवाहिक बन्धनमा बाँधिएका उनी साईकल लिएर घरबाट निस्किएका थिए ।
साईकल खोलाको छेउमा र धामीको शव खोलामा भेटिएको थियो । धामीको शव अहिले महाकाली अस्पतालमा राखिएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले धामीको मृत्युको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको बताए । श्रृङखलाबद्ध रुपमा नदीमा वेपत्तादेखि मृत भेटिएपछि स्थानीय त्रसित भएका छन ।