
प्यालेस्टाइनको राष्ट्रिय फुटबल टोलीका पूर्वमिडफिल्डर सुलेमान अल आवेदप्रति श्रद्धाञ्जली दिँदै लिभरपुलका स्ट्राइकर मोहमद सलाह भावुक बनेका छन् ।इजिप्टका समेत प्लेमेकर रहेका सलाहले गाजा क्षेत्रमा खेलाडीको भविष्य सुरक्षित नभएको बताएका छन् । ‘विश्व फुटबलमा केही गर्छु भन्ने फुटबलरलाई अनाहकमा गुमाएका छौँ,’ सलाहले आइतबार सोसल मिडियामा भनेका छन्, ‘प्यालेस्टिनी फुटबल विकासमा उनको योगदान सबैले सम्झिरहनेछन् ।’
युद्धग्रस्त क्षेत्रमा युवा खेलाडीलाई खेलप्रति आकर्षित गर्न सुलेमान विभिन्न कार्यक्रम आयोजना गरिरहन्थे । विशेषगरी उनी बालबालिकालाई फुटबलप्रति आकर्षित गराउँथे । ‘एक प्रतिभाशाली फुटबलर गुमाउँदा प्यालेस्टाइनमा युवा खेलाडीको भविष्यसमेत अन्योल भएको छ,’ सलाहले भने, ‘विशेषगरी सुलेमान युवा वर्गमा चर्चित थिए ।’ प्यालेस्टिनी फुटबलमा सुलेमानलाई ‘पेले’ मानिन्छ ।
गत साता दक्षिण गाजामा इजरायली सैनिकको आक्रमणमा सुलेमानको गोली लागेर मृत्यु भएको थियो । प्यालेस्टिनी फुटबल संघले देशकै चम्किला फुटबल खेलाडीको गोली लागेर भएको दुःखद निधनप्रति गहिरो शोक जनाएको छ । ‘हामीले हाम्रा ‘पेले’ गुमाएका छौँ । सुलेमान इजरायली सैनिकको गोलीको सिकार भए ।’
युवा पिँढीका हिरो सुलेमान
सुलेमानले आफ्नो फुटबल करिअर गाजाको धुलो र धुवाँमा सुरु गरेका थिए । उनले आफू मात्र होइन, कैयौँ युवालाई फुटबलमा उज्यालो भविष्यको सपना देखाएका थिए । अक्सर उनले युवा पिँढीका फुटबलरलाई युद्धग्रस्त क्षेत्र भए पनि खेलेर जीवन बिताउन सकिने र यसको भविष्य राम्रो भएको सन्देश दिइरहन्थे । फुटबलमा भविष्य देखाउने व्यक्तिको एउटा मिठो सपना अधुरो भएको संघले जनाएको छ । ‘गाजाको गल्ली–गल्लीमा अर्को सुलेमान बनाउने योजनाका साथ उनी अगाडि बढिरहेका थिए,’ संघले भनेको छ, ‘अब युद्धले त्यस्ता युवाको भविष्य अनिश्चित बनाइदिएको छ । मैदानमा आफ्ना प्रशंसकको मन जित्ने हाम्रा हिरो सुलेमान अब सधैँका लागि हराएका छन् ।’
सुलेमानले युद्धग्रस्त क्षेत्र गाजाको खादामत अल–सती क्लबबाट खेलजीवन सुरु गरेका थिए । उनले प्यालेस्टिनी राष्ट्रिय टोलीबाट १९ अन्तर्राष्ट्रिय खेलमा दुई अन्तर्राष्ट्रिय गोल गरेका छन् । उत्कृष्ट खेल कौशल, मैदानमा देखिने संयम र आत्मविश्वासले उनलाई एकैपटक लोकप्रिय बनायो । सुलेमानले व्यावसायिक क्लबका रूपमा वेस्ट बैंकको अल–अमारी युथ सेन्टरबाट प्रतिस्पर्धा गरेका थिए ।